आयो, नेपाली साहित्यिक इतिहासको दोस्रो खण्ड
नेपाली साहित्यको इतिहास समेटिएको पुस्तक ‘जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास’को दोस्रो खण्ड आज लोकार्पण गरिएको छ ।
मदन पुरस्कार गुठी शुक्रबार आयोजना गरेको कार्यक्रममा उक्त ठेलीको लोकार्पण प्राडा वासुदेव त्रिपाठीले गरेका हुन् ।
कुशे औंशी अर्थात् बुवाको मुख हेर्ने दिनकै अवसर पारेर नेपाली साहित्यिक इतिहासका दिग्गज व्यक्तित्वहरूद्वारा लिखित पुस्तकको लोकार्पण गरिएको हो । पुस्तकमा समावेश एक लेखका लेखक कमलमणि दीक्षितको जन्मदिन पनि कुशे औंशी नै हो ।
लोकार्पण समारोहका सहभागीहरुले नेपाली साहित्यिक इतिहासको विकासमा दीक्षितले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
मदन पुरस्कार गुठीसँग आबद्ध दीक्षितसँग बिताएका रमाइला पल सम्झिदै प्रा. वासुदेव त्रिपाठीले पुराना साहित्यिक इतिहासका विषय नयाँ पुस्तामा हस्तान्तरण हुुनुपर्ने बताए ।
डा. दयाराम श्रेष्ठले पुस्तकले साहित्यक इतिहासका अप्ठ्यारा र अस्पष्टता बुझ्न सहयोग पुग्ने बताए ।
पुस्तकका प्रधान सम्पादक प्रा.डा. माधवप्रसाद पोखरेल हुन् भने सम्पादकहरुमा प्रा.डा. चूडामणि बन्धु र प्रा.डा. दयाराम श्रेष्ठ रहेका छन् ।
मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार नेपाली साहित्यको बृृहत् इतिहास पुस्तकका पाँच वटा ठेली छन् । आज प्रकाशित भएको पुस्तक दोस्रो ठेली हो ।
यस ठेलीको पहिलो भागमा नेपाली लोकसाहित्यको इतिहास, दोस्रोमा प्रारम्भिक कालको नेपाली साहित्यको इतिहास, तेस्रोमा नेपाली माध्यमिक कालको इतिहास र चौथो भागमा नेपालमा अनुवादको इतिहास समेटिएको छ ।
पाँचवटा ठेलीको लेखनकार्यमा नेपाल र बाहिरका गरी ८५ जना लेखककाे संलग्नता छ ।