साढे चार सय वर्षमा बदलिंदै आएको स्वस्थानी कथा
साढे चार शताब्दी पुरानो पहिलो स्वस्थानी कथामा गोमायजू, नवराज र नवराजकी बाहुनी गरी तीन पात्र रहेकामा समयसँगै मूलकथामा अनेक उपकथा र पात्र जोडिएर बेग्लै आख्यान बन्न पुगेको छ। यसबीचमा कसरी बदलिंदै आयो स्वस्थानी कथा?
हिन्दू धर्मावलम्बीहरू श्री स्वस्थानी देवीको व्रत बस्ने महीना हो यो। पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महीनामा स्वस्थानीको पूजा गरी व्रतकथा वाचन गरिन्छ। तर के हामीलाई थाहा छ, स्वस्थानी व्रतकथा कसरी लोकप्रिय भयो, यसको मूलकथा कुन हो र यसका कथा समयसँगै कसरी फेरबदल हुँदै गए?
स्वस्थानी व्रतकथाको इतिहास केलाउँदा आजभन्दा ४५० वर्षअघि पुगिन्छ। विसं १६३० मा भेटिएको स्वस्थानी व्रतकथालाई सबैभन्दा पुरानो मानिन्छ। जुन रञ्जना लिपिमा संस्कृत भाषामा लेखिएको थियो र आठ पृष्ठकाे थियो। त्यसलाई १६६० सालमा नेवारी (नेपालभाषा) र १८७८ सालमा नेपालीमा अनुवाद गरियो।
नेपाल–जर्मनी हस्तलिखित ग्रन्थ संरक्षण परियोजनाले सन् १९७०–१९९० भित्र भेटिएका ६२३ वटा स्वस्थानी व्रतकथाका माइक्रोफिल्म २०२७ सालमा तयार पारेको थियो। त्यसलाई आधार मानेर अध्ययन गरेका अनुसन्धाता काशीनाथ तमोटका अनुसार विसं १६३० मा भेटिएको स्वस्थानी कथा १६औं शताब्दीको हो। जसमा गोमायजू (अहिलेको कथामा गोमा), नवराजकी बाहुनी (अहिलेको कथामा चन्द्रावती नाम दिइएको) र नवराजको प्रसंग मात्र पाइन्छ।
प्राचीन आठ पत्रको स्वस्थानी कथामा पछिल्ला साढे चार सय वर्षमा संस्कृत पुराणका अरू कथाहरू पनि जोडिंदै आउँदा अहिले करीब ४०० पृष्ठको आख्यान बन्न पुगेको स्वस्थानी अध्येताहरूको भनाइ छ। हाल प्रचलित व्रतकथामा ३१ अध्याय छन्।
स्वस्थानी कथाबारे लामो समयदेखि अध्ययन गर्दै आएका अनुसन्धाता तमोट पहिलो स्वस्थानी कथामा शिव, पार्वतीको प्रसंग नभएको तर समयसँगै पुराणका कथा जोड्ने सिलसिला बढेर अनेक कथा थपिएको बताउँछन्। “भगवान् शिव, पार्वती र विष्णुलाई केन्द्रमा राखिएर पछिल्ला स्वस्थानी कथा विकसित गरिएको छ,” उनी भन्छन्। उनले गोरखापत्र संस्थानको मासिक पत्रिका मधुपर्कको २०४७ माघ अंकमा ‘स्वस्थानी व्रतकथा परम्पराः एक सिंहावलोकन’ शीर्षकको विशेष लेख पनि लेखेका थिए।
तमोटका अनुसार, स्वस्थानी कथामा उल्लिखित अन्तिम वाक्यांश ‘इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमाराऽगस्त्यासंवादे श्रीस्वस्थानीपरमेश्वर्या व्रतकथायां ... ...’ ले यो स्कन्दपुराण अन्तर्गतको कथा भएको अनुमान गर्न सकिन्छ। तर स्वस्थानीमा उल्लेख भएका कथाहरूलाई आधार मान्दा यसमा स्कन्दपुराण बाहेकका अन्य पुराणका कथा पनि रहेको आफ्नो अध्ययनले देखाएको तमोट बताउँछन्।
उनी स्वस्थानी कथा खासमा लिंगपुराण, पद्मपुराण र शिवपुराणबाट उद्धृत गरिएका टुक्रे कथाहरूको नेपाली रूपान्तरण भएको बताउँछन्। हाल पाइने कथा खासगरी काठमाडौं उपत्यकाको सेरोफेरोको हो। मूलकथामा विविध प्रसंग जोड्ने को थिए भन्ने यकीन हुन नसके पनि सत्रौं शताब्दीतिर नेपालभाषामा अनुवाद भएपछि यो कथा पण्डितको तहबाट जनस्तरमा पुग्यो। त्यसपछि अनेक कथा बुनिंदै, थपिंदै गयो।
तर जनस्तरमा पुर्याउने गरी स्वस्थानी कथा किन लेखियो होला त? तमोट आममानिसलाई धार्मिक प्रपञ्चमा भुल्याउने तत्कालीन शासकको रणनीति अनुसार उक्त कथा लेखेर फैलाइएको हुन सक्ने बताउँछन्।
“मध्यकालीन सामन्ती युगमा राजनीतिक चेतना, आर्थिक अधिकार र सामाजिक प्रतिष्ठातिर सर्वसाधारणको ध्यान नजाओस्, सबै समस्याको समाधान पूजापाठ जस्ता धार्मिक उपायबाट मात्र सम्भव छ भनी उनीहरूलाई काल्पनिक भुलभुलैयामा राख्न सकियोस् भनेर स्वस्थानी कथा लेखिएको हुन सक्छ,” उनी भन्छन्।
वाल्मीकि विद्यापीठका सहप्राध्यापक एवम् स्वस्थानी व्रतकथाका लेखक समेत रहेका जनकराज भट्ट भने यस्ता कथाहरू धर्ममा बाँधेर समाजलाई अनुशासित बनाउने उद्देश्यले लेखिएको हुन सक्ने बताउँछन्।
स्वस्थानी कथा जुनसुकै कारणले लेखिए पनि मूलकथा भेटिएयताको साढे चार सय वर्षमा यसमा धेरै परिवर्तन भएका छन्। उदाहरणका लागि, अहिलेको कथामा महादेव–सतीदेवीको प्रसंग पाइन्छ, जुन प्राचीन स्वस्थानी कथामा छैन। हालको स्वस्थानीको तेस्रो कथा–शृंखलामा रहेको शिव–पार्वतीको प्रसंग पनि पछि थपिएको हो।
खास मौलिक कथा भने अहिलेको स्वस्थानीको चौथो र अन्तिम शृंखला गोमा–नवराजको कथा हो। तर अनुसन्धाता तमोटका अनुसार यही मूलकथाभित्रै पनि विभिन्न तोडमरोड गरिएका छन्। मूल स्वस्थानीमा फूलमा नांगै खेलिरहेकी गोमा परिवर्तित र विकसित कथामा आमाबुबाका लागि अक्षता केलाइरहेकी छन्। प्राचीन कथामा घरमा आमा छँदै जोगी आउँछन्, जबकि नयाँ कथामा आमालाई घर बाहिर पठाइएको छ। मौलिक कथामा एक जना ऋषि गोमाकहाँ पुग्छन्, अहिलेको कथामा सप्तर्षि पुगेको देखाइएको छ।
त्यस्तै, गोमाले पान किन्न जाँदा रित्तो भाँडोबाट चामत्कारिक रूपमा पान उत्पन्न भएको प्रसंग अहिलेको कथामा पाइन्छ। तर मूलकथामा गोमायजू पान किन्न गएको प्रसंग नै छैन। पुरानो कथामा नवराजकी श्रीमतीको नाम थिएन, ‘नवराजकी बाहुनी’ लेखिएको थियो, समयक्रममा विकसित कथामा उनलाई चन्द्रावती नाम दिइएको छ। नवराजहरू बसेको देशको पनि नाम थिएन, अहिले लावण्य देश भनिन्छ। लावण्य देशकी राजकुमारी मूलकथामा थिइनन्, अहिले तिनलाई लावण्यवती बनाएर कुनै कुनै स्वस्थानी कथामा त नवराजको बहुविवाह गराइएको छ। नवराजकी बाहुनी माइत गएर फर्कंदा डुबेको नदीको नाम थिएन, अहिले त्यो शाली नदी भएको छ। तमोटका अनुसार मूलकथामा शाली नदीसँगै किराँतेश्वर, मृगस्थली, गौरीघाट कुनै पनि उल्लेख छैन। तर यी स्थान समयसँगै थपिएका छन्।
स्वस्थानी कथामा यी नयाँ उपकथा, प्रसंग, पात्र, स्थान कसले र कुन कुन समयमा थप्दै लग्यो भन्ने यकीन छैन। अनुसन्धाता तमोटका अनुसार १८औं शताब्दीपछि झन् झन् स्वस्थानीको कथा जनस्तरमा ओर्लेकाले जनआकांक्षा अनुरूप थप्दै लगेको देखिन्छ। “कथालाई प्रभावकारी बनाउन यसमा अनेक प्रसंग जोडिंदै गए। समय समयका धार्मिक–सांस्कृतिक मान्यता घुस्दै गए। तर यो प्रक्रिया कहिलेदेखि शुरू भयो, अध्ययनकै विषय छ।”
स्वस्थानीको प्रसंग आउनासाथ काठमाडौं साँखुस्थित शाली नदी क्षेत्रलाई जोड्ने गरिन्छ। स्वस्थानी व्रतको एक महीनाभर शाली नदीमा मेला पनि लाग्छ। तर अमेरिकी अध्येता जेसिका भेन्तिन बिर्केनहोल्जको अध्ययनले उक्त नदी क्षेत्र स्वस्थानी सम्बन्धी सबैभन्दा पुरानो देवभूमि नरहेको देखाउँछ। जेसिकाको पुस्तक रिसाइटिङ द गडेश : न्यारेटिभ्स अफ प्लेस एन्ड द मेकिङ अफ हिन्दुइज्म इन नेपाल (सन् २०१८) अनुसार स्वस्थानी कथामा शाली नदी जोडिएको २०० वर्ष भएको छ। जबकि स्वस्थानी देवीको भौतिक पूजाआराधनाको इतिहास हेर्दा साढे तीन सय वर्ष पुरानो देखिन्छ। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रको तानाबहालमा १७३० सालमा प्रताप मल्लले स्थापना गरेको स्वस्थानीको मूर्ति सबैभन्दा पुरानो भएको जेसिकाले पुस्तकमा लेखेकी छन्। त्यसअघि स्वस्थानी देवी ग्रन्थमा मात्र सीमित थिइन्। शाली नदीमा भएको स्वस्थानीको मन्दिर बनेको करीब १५ वर्ष मात्रै भएको उनले उल्लेख गरेकी छन्।
जेसिकाको पुस्तक अध्ययन गरेका अनुसन्धाता तमोट भन्छन्, “सन् १६७४ मा प्रताप मल्लले स्थापना गरेको तानाबहालको मूर्ति स्वस्थानी कथामा आधारित एक मात्र मूर्ति भएको जेसिकाको अध्ययनले देखाएको छ। त्यो मूर्ति नै स्वस्थानीको प्राचीन प्रमाण हो।”
कस्तो थियो स्वस्थानीको मूलकथा?
१६३० सालमा संस्कृतमा लेखिएको भेटिएको पहिलो स्वस्थानी कथा आज पनि राष्ट्रिय अभिलेखालय, काठमाडौंमा सुरक्षित छ। योसँगै स्वस्थानीका कथाका ६०० भन्दा बढी पुराना पुस्तक अभिलेखालयमा छन्।
पहिलो स्वस्थानी कथा आठ पृष्ठको छ, तर अहिले बजारमा ४०० पृष्ठसम्मको व्रतकथा पाइन्छ। अनुसन्धाता तमोटका अनुसार पहिलो स्वस्थानी गोमा र नवराजको मात्र कथा हो। १६६० सालमा नेवारी भाषामा अनुवाद हुँदासम्म उही कथा थियो। तर १८औं शताब्दीमा नेपालीमा अनुवाद हुँदै जाँदा कथा थपिंदै गयो।
प्राचीन स्वस्थानीको कथा यस्तो छः
परापूर्वकालमा ब्रह्मपुरी नगरमा शिवभक्त ब्राह्मण र उनकी स्त्री सती सम्पत्ति कमाई गंगा तीरमा बसेका हुन्छन्। एकदिन अकस्मात् गाईको गोबरबाट कन्याको जन्म हुन्छ। उनको नाम गोमायजू राखिन्छ। उनको शीलस्वभाव र ब्राह्मण परिवारको दानदक्षिणाले इन्द्रासन नै लिन सक्ने देखेर इन्द्र कैलाशमा गएर रक्षाका लागि महादेवलाई अनुरोध गर्छन्।
कापालिक भेषमा महादेव ब्राह्मणको घरमा भिक्षा माग्न जान्छन्। फूलमा नांगै खेलिरहेकी गोमायजूले अन्न ल्याएर भिक्षा दिन्छिन्। महादेवले वस्त्रहीन भई भिक्षा दिएर अनादर गरेको भनी क्रुद्ध भएर आठ वर्षको उमेरमा बूढो लोग्ने पाओस् भन्ने श्राप दिन्छन्। महादेव कैलाश पुग्दा पार्वतीले स्वस्थानी व्रत भर्खर सिध्याएकी थिइन्। पार्वतीका अगाडि महादेवले आसव नामका ऋषिलाई मर्त्यलोकमा गएर यो धर्मव्रत पालन गराउन अह्राए।
गोमायजूको विवाहको वेला हुन लाग्दा पनि माग्न कोही आउँदैनन्। श्रापले गर्दा ८० वर्षका शिव शर्माले मागेर विवाह गर्छन्। उनी गर्भवती हुन्छिन्। शिव शर्मा महीना दिनभित्रै आउँछु भनी परदेश जान्छन्। त्यस वेला गोमायजूले नवराजलाई जन्म दिन्छिन्। नवराजले आमासित आफ्नो पिताबारे सोध्छन् र खोजीका लागि परदेश जाँदा पिता मरेको थाहा पाई गंगामा श्राद्ध–तर्पण गरी फर्किन्छन्।
यता नवराज परदेश लागेपछि उनकी पत्नी माइत जान्छिन्। गोमायजू लाजले नगर छोडी नदी किनार झुपडीमा बस्छिन्। उनी दुःखी छिन् भन्ने गोठालाहरूबाट चाल पाई आसव ऋषिले उनलाई स्वस्थानीको व्रतविधि सिकाउँछन्। ऋषिको सत्कार गर्न घरमा केही नभएपछि गोमायजू पान किन्न जान्छिन्। त्यसै वेला ऋषिले पिरामुनि धन छोडी जान्छन् र त्यही धनले सामान जोडी व्रत पूरा गर्दा नवराज आइपुग्छन् र उनलाई नियम अनुसार आठ अक्षता र रोटी दिइन्छ।
केही कालपछि त्यस देशका अपुता राजा मर्छन् र राजचिह्न भएको एक प्रजा नवराजलाई आमा सहित राज्याभिषेक गरी राजा बनाइन्छ। राजा भएपछि आफ्नी बाहुनी (पत्नी)लाई लिन पठाउँछन्। बाहुनीले अप्सराहरूले स्वस्थानीको व्रत अनुष्ठान गरेकामा निन्दा गर्दा उनलाई नदीले बगाउँछ, र पाप भोग्न नदीमै १२ वर्ष रहनुपर्छ। १२ वर्षपछि माझीहरूले जाल हान्दा नवराजकी बाहुनी भेटिन्छिन्। १२ वर्ष बित्न लाग्दा राजा नवराजले सत्तल बनाएको उपलक्ष्यमा देशभरका ब्राह्मणलाई निमन्त्रणा गरेकामा कपिलदेव ब्राह्मणहरू आइरहँदा नदी किनारमा स्वस्थानी व्रत गर्न आतुर तर विधि नजानेकी आइमाईलाई सिकाइदिन्छन्। ब्राह्मणहरूले सर्जामबारे भनिरहँदा नै उनीहरूले हेदाहेर्दै उनी दिव्य सुन्दरीमा परिणत हुन्छिन्। सो घटना राजालाई बताइँदा उनले आफ्नी हराएकी बाहुनी भनेर ठम्याई र वेदपाठ सहित स्वागत गरी राजदरबारमा भित्र्याउँछन्। विधिपूर्वक राजसिंहासनमा राखेर राज्याभिषेक गरी आमा, छोरा र बुहारी आनन्दले बस्न थाल्छन्।
खासमा आमा, छोरा र बुहारी तीन पात्रको कथा नै स्वस्थानीको मूलकथा हो। तर अहिले बजारमा पाइने स्वस्थानी व्रतकथामा महादेव–सतीदेवी कथा शृंखला, सतीदेवी उत्पत्ति, दक्षकन्या विवाह, सतीदेवी कैलाश दर्शन, त्रिपुर दहन, सतीदेवी यज्ञकुण्ड प्रवेश, दक्षसेना विध्वंश, महादेवको पृथ्वी भ्रमण, सतीदेवी पीठोत्पति, ज्योतिर्लिंगोत्पत्ति वर्णन, पार्वती विवाह, शिव कैलाशगमन, तारकासुर वध, पार्वतीको शरीरको मैलोबाट गणेशको जन्म र गणेशलाई हात्तीको शिर जोडिएको लगायत अनेक कथा र प्रसंग थपिएको छ।
रोचक त के छ भने, स्वस्थानी कथाका फरक फरक पुस्तकमा एउटै प्रसंगमा पनि फरक घटना पाइन्छ। अध्येता जनकराज भट्टका अनुसार कतै शिवको क्रोधले गणेशको घाँटी काटिएपछि हात्तीको टाउको जोडिएको भनिएको त छ कुनै पुस्तकमा शनिको दृष्टिले गणेशको शिर भस्म भएपछि महादेवले जोडेको उल्लेख छ।
“व्रतकथालाई एक महीनाभर पढ्ने बनाउनकै लागि पनि अनेकतिरबाट जोडेर लामो बनाइएको छ,” भट्ट भन्छन्।
पूजाविधिमा फेरबदल
अहिलेको स्वस्थानी कथामा सत्य युगमा भगवान् विष्णुको कृपा अनुसार हिमालयपुत्री पार्वतीले महादेव पति पाऊँ भनी श्री स्वस्थानीको व्रत बसेको उल्लेख छ। तर मूलकथामा यी कुरा छैनन्।
स्वस्थानीको कथा मात्र होइन, पूजाविधिमा पनि समयक्रममा हेरफेर आएको छ। हालको विधिमा एक महीनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रत समापन गरिन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठ/आठ वटा पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभए कामना सिद्ध होस् भनी नजीकको पवित्र नदीमा लगी बगाउने व्रतविधि छ।
तर अनुसन्धाता तमोटका अनुसार पुरानो स्वस्थानी विधिमा महीना दिनसम्म नदी किनारमै बसेर कठोर व्रत बस्ने चलन थियो। पुस शुक्ल पूर्णिमादेखि नै हातगोडाको नङ काटेर, एकचित्त रही, मध्यन्नमा महादेवको पूजा गरिन्थ्यो। तर अहिले त्यो चलन हराउँदै गएको छ। “अहिले केहीले मात्र शाली नदी किनारमा बसेर व्रतविधि गर्छन्, अन्यत्र यो चलन हट्दै गएको छ,” तमोट भन्छन्।
अर्का अध्येता भट्टका अनुसार स्वस्थानी पूजाका विधि नेवारी र अन्य समुदायका आआफ्नै छन्। नेवारहरू प्रायः नदी नै पुग्न खोज्छन् भने अन्य समुदायका व्रतालु र भक्तजन साँझ वा बेलुका कथा भन्ने र प्रसाद बाँडेर खाने गर्छन्। तर गैरनेवार समुदायमा स्वस्थानी व्रतको उद्यापन वा समापनको दिन भने पूरा कथा वाचन गरेर एक रात जाग्राम बस्ने चलन छ।
संस्कृति विज्ञानका अनुसन्धाता भरत गिरीका अनुसार जसरी स्वस्थानी कथा बदलिंदै छरपस्ट रूपमा समाजमा आयो, त्यसरी नै पूजाविधि छरिएको छ। समय, ठाउँ, जाति अनुसार फरक फरक पूजाविधि अस्वाभाविक नभएको बताउने गिरी यसलाई समय र स्थान अनुसार परिमार्जन हुँदै गएको संस्कृति भन्नुपर्ने मत राख्छन्।
“व्रत वा पूजाविधि फरक हुनुले खासै ठूलो समस्या पार्दैन। विधि भनेको हामीलाई अनुशासित बनाउने कुरा मात्र हो। कुनै ठाउँमा गाईको घ्यू नपाइन सक्छ, त्यहाँ तेल प्रयोग गरियो होला। त्यसरी नै पूजाको विधि बस्दै गयो,” उनी भन्छन्।
स्वस्थानीको सामाजिक सन्देश
स्वस्थानी साढे चार सय वर्षअघि लेखिएको कथा हो। मानिसहरूले पढ्न, लेख्न नजान्ने त्यस वेला कथाहरू सुन्ने माध्यम भनेकै पुराण लगायत थिए। जब स्वस्थानी कथा नेपाली भाषामा लेखियो, त्यो घर घरमा पुग्यो। त्यसलाई पढ्न पण्डित नचाहिने भयो। त्यसका कथामा नेपालभित्रकै कुरा भएकाले मानिसहरूको अपनत्व र आकर्षण बढ्यो। तर पछिल्लो समय स्वस्थानी कथा अप्रगतिशील रहेको, यसले महिलालाई पुरुषसत्ताको दासीका रूपमा चित्रण गरेको भन्दै टिप्पणी र आलोचना हुन थालेको छ।
उपप्राध्यापक भट्ट अहिले स्वस्थानी कथाका कतिपय प्रसंग गलत भएको स्विकार्दै पहिलेको समाजमा यस कथाले मनोरञ्जन दिएको पाटो भने बिर्सन नमिल्ने बताउँछन्। “टेलिभिजन, रेडियो नभएको समयमा स्वस्थानी कथाले समुदाय र परिवारलाई एकै स्थानमा ल्याएर कथा पढ्ने, सुन्ने बानीको विकास गरेको थियो,” उनी भन्छन्।
स्वस्थानी कथाले एउटा समयसम्म खासगरी बालबालिकामा कथा सुन्ने बानी र भन्ने शैली विकास गर्यो र उनीहरूलाई जिज्ञासु र कल्पनाशील बनायो। यति हुँदाहुँदै यो कथाले पुरुषसत्तालाई मलजल गरेको अनुसन्धाता तमोट बताउँछन्। यसले समाजमा लैंगिक विभेदलाई बढावा दिएको उनको विश्लेषण छ।
“स्वस्थानी कथाले महिलाहरूले अन्याय सहनुपर्छ, उनीहरू त्याग, बलिदान, पतिव्रता धर्ममा सीमित हुन्छन् र उनीहरूको जीवनमा कर्मभन्दा भाग्य पक्ष निर्णायक हुन्छ भन्ने कुरालाई बढावा दिएको छ,” उनी भन्छन्।
संस्कृति विज्ञानका अनुसन्धाता गिरी भने जुनसुकै कुराको सकारात्मक र नकारात्मक पक्ष हुने र हामीले सकारात्मक पक्षलाई लिनुपर्ने तर्क गर्छन्। स्वस्थानी कथामा पुरुषप्रति नारीको भक्तिभाव मात्र नरहेको, पार्वतीलाई शिवले गरेको प्रेमले पुरुषले पनि नारीलाई उत्तिकै सम्मान र स्नेह गर्ने देखाएको उनी बताउँछन्।
उनका अनुसार यस कथाले नियमपूर्वक व्रत बस्न, भक्ति गर्न र संयम अपनाउन सिकाउनुका साथै जीवनलाई अनुशासित बनाउन प्रेरणा दिएको छ। खासगरी सतीदेवीको कथाले धैर्य र समर्पणको भाव राख्न, कर्मप्रति विश्वास राख्न र जीवनमा आउने कठिनाइ सामना गर्दै अघि बढ्न प्रेरणा दिएको उनी देख्छन्।
“पारिवारिक एकता र संस्कार तथा दाम्पत्य जीवनमा प्रेम र श्रद्धा रहनुपर्ने सन्देश पनि यसले दिएको छ,” गिरी भन्छन्, “स्वस्थानीको व्रत बस्दा गृह त्यागेर परालमा सुत्दा त्यसले केही दिन भए पनि मानिसलाई भौतिक सुखसुविधाबाट टाढा राख्छ र साधारण जीवन बाँच्ने शैली सिकाउँछ।”
धर्म अर्थात् संस्कार मान्नै छाडे अध्यात्म र आत्माको शान्ति टुट्ने भन्दै उनी अहिलेका मानिसहरूमा बेचैनी र महत्त्वाकांक्षा बढ्नुको कारण यही भएको उनी बताउँछन्।
उपप्राध्यापक भट्ट भने स्वस्थानी कथाले नेपाली समाजलाई धार्मिक, नैतिक र सांस्कृतिक रूपमा बलियो बनाउन योगदान पुर्याए पनि आधुनिक समाज र समय अनुसार यी कथाको पुनर्व्याख्या गर्दै जानुपर्ने, अन्यथा नयाँ पुस्ताको विश्वास खस्किँदै जाने विचार राख्छन्।
समय सान्दर्भिक भाषा बनाउन र पुनर्व्याख्याका लागि गत वर्ष आफूले श्री स्वस्थानी व्रतकथा पुस्तक प्रकाशन गरेको उनको भनाइ छ। जसमा भाषिक अशुद्धता र लैंगिक असमानताका शब्दहरूको पुनर्व्याख्या गरिएको उनी बताउँछन्। जस्तै- स्वस्थानीको पुरानो कथामा सतीदेवीलाई संकेत गरेर शिवले ‘जिद्दी गर्ने आइमाईको जात’ भनेकोमा उनले परिमार्जन गरेर ‘हे प्रिय, लिंडेढिपी नगर’ लेखेका छन्।
भट्ट भन्छन्, “हामीले धार्मिक आस्था कायम राख्दै समानता र वैज्ञानिक चेतनाको प्रवर्द्धन गर्न सकियो भने स्वस्थानी कथाको महत्त्व र मान्यता अझ बढ्दै जान्छ।”
यो पनि पढ्नुहोस्- जंगबहादुरको पालामा लेखिएको स्वस्थानीमा के छ?