पाथीभरा केबलकार विरुद्ध आन्दोलनरत पक्षले बनायो वार्ता समिति
पाथीभरा (मुक्कुम्लुङ) केबलकार निर्माण विरुद्ध आन्दोलनरत पक्षले पनि सरकारसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ।
आन्दोलनरत संघसंस्था र राजनीतिक दलको बैठकले सोमबार अमर तुम्याहाङको नेतृत्वमा वार्ता सहजीकरण समिति गठन गरेको हो। समितिमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ।
आठ वटा संघसंस्था तथा राजनीतिक दलले जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न तयार रहेको जनाइएको छ। सरकार र मुक्कुम्लुङ संरक्षक संस्थाहरू तथा राजनीतिक पार्टीहरूका तर्फबाट मुक्कुम्लुङमा भइरहेको आन्दोलन, संघर्षहरूको स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन समिति गठन गरिएको जनाइएको छ। गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण भइरहेको छ। त्यसको विरुद्धमा स्थानीय बासिन्दा आन्दोलनमा छन्। यही क्रममा माघ १२ गते फुङलिङ–११, बलुडाँडामा झडप भएको थियो। प्रहरीको गोली लागेर दुई जना घाइते भएका थिए। त्यसपछि आन्दोलनरत पक्षले पूर्वी नेपालमा चक्काजाम गर्दै आएको छ।
यसैलाई लिएर सोमबार आन्दोलनरत पक्षको बैठक बसेको थियो। बैठकपछि मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बू, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू, किरात याक्थुङ चुम्लुङ संघीय समितिका संयोजक प्रेम येक्तेन, लिम्बू थरगत संस्था (थाक्थुङ सयङ) सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वा, प्रदेश नं. १ पुनः नामांकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष डिमी शेर्पा र याक्थुङ युवा मञ्चका अध्यक्ष राजेन्द्र इधिंगोले प्रेस विज्ञप्ति जारी गरेर वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सकारात्मक रहेको जनाएका छन्।