विद्या प्रबोधिनी माविमा किन भएन सरस्वती पूजा?
अछामको ढकारीस्थित विद्या प्रबोधिनी माविमा यस पटक विद्याकी देवी सरस्वतीकाे पूजा हुन सकेन।
देशभरका विद्यालयमा शिक्षक र विद्यार्थी सरस्वती पूजामा रमाइरहेका छन्। विद्यालय प्रांगणमा सरस्वतीको तस्वीर राखेर बिहानैदेखि पूजा गरिरहेका छन्। तर अछामको ढकारीस्थित विद्या प्रबोधिनी माविको प्रांगणमा भने दुई छात्राको तस्वीर राखिएको छ। स्कूलमा पुग्ने शिक्षक, अभिभावक माल्यार्पण गरिरहेका छन्।
“हिजो शोक श्रद्धाञ्जली सभा राखेका थियौं। सबैले श्रद्धाञ्जली अर्पण गर्यौं,” विद्यालयका शिक्षक दीपक भण्डारी भन्छन्, “दुई छात्रा बितेको भएर यो वर्ष सरस्वती पूजा मनाएनौं। स्कूल नै शोकमा डुबेको छ।”
यही स्कूलमा कक्षा ८ मा पढ्ने ढकारी गाउँपालिका-८, घोडासैनकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्काको ११ दिनअघि हत्या भएको थियो। बाख्रा चराउने जंगलमा गएका वेला फोनमा चिनजान भएका दुई किशोरले उनीहरूको हत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ। हत्या भएको खबर सार्वजनिक भएयता स्कूलमा पठनपाठन हुन सकेको छैन। “गाउँकै भएकाले दुवै छात्रा अरू विद्यार्थीका साथी पनि भए, नातेदार पनि भए,” शिक्षक भण्डारी भन्छन्, “सबै जना निराश छन्। पठनपाठन गर्न सकेका छैनौं। स्कूल बन्द छ।”
केही दिनदेखि विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड चलिरहेको थियो। सरस्वतीले पनि कबड्डीकाे आन्तरिक प्रतियोगितामा भाग लिएकी थिइन्। प्रतियोगिता चलिरहेकाले पठनपाठन बन्द थियो। त्यसैले उनी घरमै थिइन्।
एउटै कक्षामा पढ्ने इशरासँग शनिबार खेलकूद प्रतियोगिता हेर्न विद्यालय जाने योजना बनाइन्। त्यसका लागि अघिल्लो दिन शुक्रबार अर्थात् माघ ११ मा नुहाइधुवाइ गर्न खोजिन्। गाउँ नजीक पानी थिएन। करीब एक घण्टाकाे दूरीमा छिन्नेको जंगलमा पानी छ।
नुहाइधुवाइ गर्न पनि सजिलो र बाख्रा पनि चराउन मिल्ने भएकाले जंगलतिर गएको आमा तारा सुनाउँछिन्। “स्कूल छुट्टी भएकाले छोरीले मै जान्छु भनी,” तारा भन्छिन्, “यस्तो होला भन्ने थाहा पाएको भए पठाउने थिइनँ।”
आधा बाटोसम्म ताराले बाख्रा खेद्न सघाएकी पनि थिइन्। गाउँबाट अलि पर पुगेपछि ‘राम्रोसँग बाख्रा हेर्नू’ भन्दै फर्केकी थिइन्। आमाछोरीको त्यही नै अन्तिम देखभेट भयो। “दुई चेली मारिदियो। मेरा लागि दिन-रात एकै छ,” उनी भन्छिन्, “गोठका बाख्रा गोठै छन्। छोरीका अनुहार आँखा अगाडि झल्झली आउँछ। बाख्रा निकाल्न पनि सकेकी छैन।”
ताराले छोरीको हत्या भएको अझै पत्याउन सकेकी छैन। त्यो दिन पनि सरस्वती र इशरा घर नफर्केपछि गाउँमा बिहे गरेको हल्ला चलेको थियो। उनलाई त्यो पनि पत्यार लागेको थिएन।
माघ ११ को साँझतिर बाख्राले गाउँमा आएर छिमेकीको गहुँ खाइदियो। गोठाला गएका सरस्वती र इशरा भने बाख्रासँग घर फर्किएनन्। बाख्राले गहुँ खाएपछि छिमेकीले सरस्वतीकी आमा तारासँग झगडा नै गरे।
बाख्राले गहुँ खाएका कारण झगडा परेकाले गाली पाइने डरले सरस्वती र इशरा घर आएनन् होला भन्ने परिवारजनले अड्कल लगाए। त्यो रात कसैले खोजबिन गरेन। ताराले पनि कतै आफन्तजनको घरमा बसे होलान् भन्ने सोचिन्।
छरछिमेकमा भने भागेर विवाह गरे कि भन्ने हल्ला चल्यो। तारालाई पत्यार त लागेको थिएन, तैपनि भोलिपल्ट बिहान १० बजे प्रहरी चौकीतिर लागिन्। “कसैले भगाएर लगेको भए पनि बालविवाह भनेर उजुरी गर्न गएकी थिएँ,” उनी सुनाउँछिन्।
घरबाट आधा घन्टा जति हिंडेकी थिइन्। छिन्नेको जंगलमा लास भेटियो भन्ने खबर आयो। माछा मार्न गएका छिमेकी गाउँका मानिसले शव देखेका थिए। “खबर सुनेर कतै मेरी छोरी हो कि भन्ने मनमा चिसो पस्यो,” आमा भन्छिन्, “मूर्छा परे जस्तै भएँ। मेरो त होशै उड्यो।”
छिन्नेको जंगलमा शव भेटिनु र गोठालो गएका दुई बालिका हराउनु संयोग मात्रै थिएन। शव भेटिएको खबर घोडासैन गाउँमा पनि पुग्यो। प्रहरी र स्थानीय बासिन्दा माघ १२ गते साँझ ६ बजे जंगलमा पुगे। “सरस्वती र इशराकै लास रहेछ,” सरस्वतीका दाइ नाता पर्ने स्थानीय अबी खड्का भन्छन्।
त्यसको एक सातापछि प्रहरीले ढकारी गाउँपालिका-३ का दुई किशोरलाई पक्राउ गर्यो। बालिकाको मोबाइलमा फोन गरेको आधारमा प्रहरी उनीहरूसम्म पुगेको थियो। “फोनबाट चिनजान भएको रहेछ। जंगलमा भेट्ने योजना बनाएको रहेछ,” जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारी भन्छन्, “एक किशोरले यौनसम्पर्क गर्न प्रस्ताव गर्दा सरस्वतीले नमानेपछि विवाद बढ्दै जाँदा हत्या भएको देखिन्छ। सरस्वतीको हत्यापछि घटना बाहिर आउने डरले इशरालाई ढुंगा हानेर हत्या गरेको पाइएको छ।”
हत्या आरोपमा पक्राउ परेका दुवै किशोर गाउँबाट एक दिनको पैदलयात्रापछि घोडासैन पुगेका थिए। त्यहाँ रहेका नातेदारलाई भेट्न दुवै किशोर आएको देखिएको डीएसपी भण्डारी बताउँछन्। त्यही मौकामा उनीहरूले भेटघाट गर्ने योजना बनाएको पाइएको छ। फोनमा कुराकानी भए पनि सरस्वतीको त्यो नै पहिलो भेट थियो। तर पहिलो भेटमै ज्यान गयो।
सरस्वती र इशरा एकै परिवारका सदस्य हुन्। नातामा फुपू-भदैनी हुन्। सँगै स्कूल जाने भएकाले साथी जस्तै थिए। दुई बालिकाको हत्याले गाउँ शोकबाट उम्किन सकेको छैन। “यस्तो बज्रपात कहिले परेको थिएन। हाम्रो त गाउँ नै शोकमा छ,” स्थानीय अबी खड्का भन्छन्।
सरस्वतीका बुबा उदयराम खड्का भारतमा काम गर्छन्। ज्यालामजदूरी गर्ने उनी छोरीको हत्याको खबर सुनेपछि घर फर्किएका छन्। उनी केही बोल्न सकेका छैनन्। छोरीको छिमलका बालबालिका देख्दा उदयरामका आँखा रसाउने गरेका छन्।
एक वर्षअघि उदयरामले नै सरस्वतीलाई मोबाइल किनिदिएका थिए। तारा घरको काममै व्यस्त हुन्थिन्। त्यसैले छोराछोरीसँग कुराकानी गर्न सजिलो होस् भनेर मोबाइल किनिदिएका थिए। “सरस्वती पढाइमा राम्रो पनि थिइन्। घरमा कामकाज पनि सघाउँथिन्,” तारा भन्छिन्, “केही वर्षमा थप पढ्न शहरतिर पठाउँला भन्ने सोचिरहेकी थिएँ।”
इशराका बुबा कमल खड्का पनि भारतमै काम गर्छन्। दुई साताअघि घर आएका थिए। कमलसँगै भारतबाट आएका अबी छोराछोरीसँग राम्ररी कुराकानी हुन नपाउँदै इशरालाई गुमाउनुपरेको सुनाउँछन्।
घोडासैनबाट अछाम सदरमुकाम मंगलसेन पुग्न गाडीमा चार-पाँच घण्टा लाग्छ। गाडी भाडा ५०० रुपैयाँ तिर्न नसक्नेहरू एक दिन हिंडेरै सदरमुकाम पुग्छन्। दुवै बालिकाको मंगलसेन अस्पतालमा पोस्टमार्टम हुन नसकेपछि नेपालगन्ज लगिएको थियो। अबी नै पोस्टमार्टमका लागि नेपालगन्ज पुगेका थिए।
अनुसन्धानका लागि प्रहरी टोली गाउँमा आइराख्ने गरेको छ। जसले गर्दा गाउँले भयभीत पनि छन्। “एक दिन लाग्ने टाढाकोे गाउँका दुई किशोरले यति ठूलो घटना घटाउलान् भन्ने सोचेको थिएन,” अबी भन्छन्, “अहिले त गाउँका कोही पनि डरले जंगल जाने गरेका छैनन्।”
गाउँ मात्रै होइन, उनीहरूले पढ्ने विद्यालय शोकमै छ। सबै शोकमा भएकाले पठनपाठन गर्न नसकिएको शिक्षक भण्डारी बताउँछन्। एक-दुई दिन पढाउने कोशिश गरेको भए पनि विद्यार्थी नआएकाले बन्द गरिएको छ।
एउटै गाउँका भएकाले स्कूल जान गाह्रो लागेको सरस्वतीसँगै पढ्ने सीता खड्का सुनाउँछिन्। सीता पनि सरस्वतीहरूसँगै स्कूलमा चलिरहेको रनिङ शिल्ड प्रतियोगिता हेर्न जाने तयारीमा थिइन्। उनीहरूले सरस्वती पूजामा के के गर्ने भन्ने पनि योजना बनाएका थिए।
कक्षामा राम्रो विद्यार्थी भएकाले यस्ता काममा सरस्वती अघि सर्थिन्। “पोहोर साल सँगसँगै सरस्वती पूजा मनाएका थियौं,” सीता भन्छिन्, “सरस्वती र इशरा नभएकाले यस वर्ष स्कूलमा सरस्वती पूजा नै मनाइएन।”