पाथीभरा केबलकार विवाद सुल्झाउन वार्ता टोली गठन
ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवाद सुल्झाउन सरकारले वार्ता टोली गठन गरेको छ।
केबलकार निर्माणको विरोधमा आन्दोलनरत स्थानीय बासिन्दासँग छलफल गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरिएको हो। वार्ता टोलीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधि सदस्य रहेका छन्।
वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न वार्ता टोली गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले बताए। वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने जनाएको छ।
त्यस्तै, आन्दोलनरत पक्षलाई पनि आन्दोलनका कार्यक्रम फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपील गरेको प्रवक्ता तिवारीले बताए।
गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यल गायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल थालेको गृह मन्त्रालयले जनाएको छ।
सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केबलकार सम्बन्धी नीति, कानून र मापदण्डको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित हुन्छ। तैपनि केबलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको गृह मन्त्रालयले जनाएको छ।