विदेश जानेको संख्या बढे पनि रेमिटेन्सको वृद्धिदर घट्यो
विदेश जानेको संख्या बढिरहेको भए पनि रेमिटेन्स भित्रिने दर लगातार घटेको छ।
नेपाल राष्ट्र ब्यांकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार यस वर्षको पहिलो ६ महीनामा रेमिटेन्स सात खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको छ। यो अघिल्लो वर्षको यही अवधिको तुलनामा ४.१ प्रतिशत मात्रै धेरै हो। गत वर्षको यही अवधिमा रेमिटेन्सको वृद्धिदर २२.२ प्रतिशत थियो।
अमेरिकी डलरमा रेमिटेन्सको वृद्धिदर झन् थोरै छ। पुससम्म रेमिटेन्स (अमेरिकी डलरमा) १.१ प्रतिशतले मात्रै बढेर पाँच अर्ब ८५ करोड डलरमा सीमित छ। यो गत वर्षको यही अवधिमा १९.५ प्रतिशतको वृद्धिदर थियो। विदेशी मुद्रासँगको सटही दरमा परिवर्तन आइरहने भएकाले अमेरिकी डलरमा भित्रिएको रेमिटेन्स तुलनाका लागि बढी यथार्थपरक हुन्छ।
वैदेशिक रोजगारी तथा अध्ययनका लागि जाने नेपालको संख्या बढिरहँदा रेमिटेन्सको वृद्धिदर घट्नुले नेपाल भित्रिनुपर्ने रेमिटेन्स हुन्डीमा प्रयोग भएको वा पूँजी पलायनमा प्रयोग भएको हुन सक्ने आशंका बढाएको छ। यो वर्ष नयाँ र पुनः श्रम स्वीकृति गरी पुससम्म तीन लाख ९३ हजार जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन्। गत वर्ष वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने (पुनः सहित) तीन लाख ४० हजार ३३० मात्रै थिए।
नेपाल राष्ट्र ब्यांकका सहायक प्रवक्ता डिल्लीराम पोखरेलले रेमिटेन्सको आकार ठूलो भइसकेकाले वृद्धिदर सधैं उच्च हुन कठिन हुने बताए। उनले भने, “आधार नै ठूलो भइसकेकाले वृद्धिदर घटेको हुन सक्छ, तर यसमा निचोड निकाल्न थप अध्ययन चाहिन्छ।”
पछिल्ला तीन आर्थिक वर्षमा मात्र करीब २५ लाख नेपाली काम र अध्ययनका लागि वैदेशिक रोजगारीमा गएका छन्।
कोभिड-१९ का तीन वर्ष न्यून हुन पुगेको रेमिटेन्सको वृद्धिदर आव २०७९/८० मा २३.१७ र आव २०८०/८१ मा १६.४९ प्रतिशतले बढेको थियो। तर यस आर्थिक वर्षमा रेमिटेन्सको वृद्धिदर घट्ने देखिएको छ। गत आर्थिक वर्षमा नेपालमा १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको थियो।
राष्ट्र ब्यांकका अनुसार यस वर्षको पुससम्म देशको चालू खाता भनिने देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर एक खर्ब ४८ अर्ब रुपैयाँले बचतमा छ। अर्थात् देशमा बाहिरिनेभन्दा भित्रिने रकम ज्यादा छ। यद्यपि गत वर्षको तुलनामा यो केही घटेको छ। एक वर्षअघि देशको चालू खाता एक खर्ब ६२ अर्ब रुपैयाँ बचतमा थियो।
केन्द्रीय ब्यांकका अनुसार पुससम्म देशको विदेशी मुद्राको बचत १६ अर्ब ८४ करोड अमेरिकी डलर पुगेको छ। यो गत असारको तुलनामा १०.३ प्रतिशत धेरै हो।