मोरङमा भेटियो वनस्पतिको नयाँ प्रजाति
मोरङबाट पत्ता लागेको र स्वरूप पनि अलिअलि मोरङ्गे वनस्पति जस्तै भएकाले हुनुपर्छ, नयाँ प्रजातिलाई ‘टाइफोनियम मोरङ्गेन्स’ नाम दिइएको छ।
करीब पाँच वर्षअघिको कुरा हो, मोरङ लेटाङका रिजन ओझा विराटनगरस्थित स्नाकोत्तर क्याम्पसमा वनस्पतिशास्त्र पढ्दै थिए। उनले एक वनस्पतिको नाम मोरङ जिल्लाकै नामसँग मिल्दोजुल्दो ‘मोरङ्गे’ भएको थाहा पाएछन्। बुझ्दै जाँदा आफ्नै ठाउँ लेटाङको राजारानी पोखरीमा यो वनस्पति पाइन्छ भन्ने जानकारी पाए। आदिवासीहरूले यसको अचार र तरकारी खाँदा रहेछन्।
उनले त्यसबारे जानकारी पाउन मलाई फोन गरेपछि बताएँ। मोरङ्गेको वैज्ञानिक नाम लेसिया स्पिनोसा हो। यसको पात र डाँठमा नरम काँडा हुन्छन्। त्यसैले त्यसको नाम लेसिया जाति अन्तर्गत लेसिया स्पिनोसा नामकरण गरिएको हो।
ओझासँगको कुराकानीमा मैले लेसिया जाति अन्तर्गत एक मात्र प्रजाति सूचीकृत रहेको तर सुनसरी जिल्लामा ठूलो मोरङ्गे पनि रहेको बताएको थिएँ। लेसिया स्पिनोसा प्रायः पानीमा तैरिएको हुन्छ र त्यो एक-डेढ फिट जति मात्र अग्लो हुन्छ। तर ठूलो मोरङ्गे पानी बाहिर चिसो र छायादार घारीमा हुन्छ र उचाइ एक-डेढ मिटरसम्म हुन्छ। त्यो सुनेर उनी मैले बताएको ठाउँमा खोजी गर्न कोभिड-१९ को महाव्याधिको समयमा गएका थिए। त्यसपछि मोरङ्गेको एक विज्ञ (श्रीलंकाका नागरिक)सँग ठूलो मोरङ्गेबारे अध्ययन गर्दै छु भनेका थिए।
२०२४ को डिसेम्बरतिर उनले मसँग फेरि सम्पर्क गरे। मोरङबाट एक नयाँ वनस्पति प्रजाति पत्ता लगाएको र त्यस सम्बन्धी अनुसन्धान लेख फाइटोकिज जर्नलले प्रकाशनका लागि स्वीकृत गरेको खबर गरे। त्यसको पाण्डुलिपि पनि मलाई पठाइदिए।
टाइफोनियम मोरङ्गेन्स
ओझा र अरूहरूले विश्वकै निम्ति नयाँ पत्ता लगाएको वनस्पति ठूलो मोरङ्गे होइन, अर्कै थियो। मोरङबाट पत्ता लागेको र स्वरूप पनि अलिअलि मोरङ्गे जस्तै भएकाले हुनुपर्छ, नयाँ प्रजातिलाई ‘टाइफोनियम मोरङ्गेन्स’ नाम दिइएको छ। यसको नेपाली नाम राखिएकोबारे थाहा पाइएन। यसबारे रिझन ओझा, सुदीप राई र हाराल्ड स्नाइडरले अनुसन्धान गरेका हुन्। अनुसन्धातात्रयको लेख फाइटोकिज जर्नलको गत ३० जनवरीको संस्करणमा ‘टाइफोनियम मोरङ्गेन्स, अ न्यू स्पेसिस फ्रम द ट्रपिकल फरेस्ट अफ इस्टर्न नेपाल’ शीर्षकमा प्रकाशित छ।
‘टाइफोनियम मोरङ्गेन्स’ झट्ट हेर्दा लेसिया स्पिनोसा जस्तो देखिंदो रहेछ। यसको नमूना मोरङको पथरी शनिश्चरे नगरपालिकाबाट संकलन गरिएको उल्लेख छ। यसअघि टाइफोनियम जातिको एक मात्र प्रजाति टाइफोनियम ट्राइलोबाटम मात्र नेपालमा सूचीकृत थियो।
ओझाले पहिलो चोटि ‘टाइफोनियम मोरङ्गेन्स’ देख्दा यसलाई टाइफोनियम जाति अन्तर्गतको टाइफोनियम रक्सबर्घी वा टाइफोनियम इनोपिनाटम हो कि भन्ठानेछन्। ती दुवै प्रजाति भारतमा पाइन्छन्। तर अध्ययन गर्दै जाँदा त्यो त ती दुवैभन्दा मात्र फरक होइन, टाइफोनियम जाति अन्तर्गतका अन्य प्रजातिभन्दा पनि भिन्न रहेछ। संसारभर टाइफोनियम वंश अन्तर्गत ६ दर्जन प्रजाति पहिचान भएका छन्।
फरक विशेषता
टाइफोनियम अन्तर्गतका एकै प्रजातिमा पातका आकार पनि भिन्नभिन्न हुन्छ। पातबाट कुन प्रजाति हो भनेर हत्तपत्त छुट्याउन सकिंदैन। यस प्रजातिको वनस्पति अक्सर पानी परेपछि उम्रन्छ। सामान्यतया पात टुप्पोतिर चुच्चो र तलतिर दुई कोण भएको हुन्छ।
यस परिवार अन्तर्गत पुष्पक्रम (इन्फ्लोरेसेन्स) ब्राक्ट अर्थात् परिमार्जित पातभित्र हुन्छ। पुष्पक्रम बेरेर राख्ने त्यस्तो पातलाई स्पाथे भनिन्छ। पातभित्र बेरिएर रहेको फूल भएको मकैको खोया जस्तो आकृतिलाई स्प्याडिक्स भनिन्छ।
अध्ययनका क्रममा शुरूमा नयाँ भनिएको प्रजाति टाइफोनियमको इनोपिनाटम प्रजाति नै हो कि भन्ने आशंका अनुसन्धाताहरूले गरेछन्। तर अनुसन्धानबाट टाइफोनियमको इनोपिनाटमभन्दा फरक देखिएपछि नयाँ प्रजाति भएको ठहर गरिएको हो।
टाइफोनियम मोरङ्गेन्सको आकार टाइफोनियम इनोपिनाटमभन्दा सानो हुने रहेछ। टाइफोनियम इनोपिनाटम १० देखि ४५ सेन्टिमिटरसम्म अग्लो हुन्छ भने यो नयाँ प्रजाति १२ देखि २४ सेन्टिमिटरसम्म लामो हुन्छ। यस्तै, यी दुवैको पातको बनावट निकै फरक हुने रहेछ। टाइफोनियम इनोपिनाटमको पात सानो कर्कलो वा पानको पात जस्तो (टुप्पो चाहिं पानको पातभन्दा कम चुच्चो) हुन्छ भने टाइफोनियम मोरङ्गेन्सको पात मानव मुटु आकारदेखि तीन भागमा चिरिएकोसम्म फरक फरक स्वरूपका हुने रहेछन्। यी लगायत यी दुईमा अन्य कैयौं भिन्नता लेखमा उल्लेख छ।
फरक बनावटका आधारमा टाइफोनियम मोरङ्गेन्स भिन्न प्रजाति भएको ठहर गरिएको छ। अघिल्ला र पछिल्लाका तस्वीर दाँजेर हेर्दा पनि फरक प्रजाति हो भन्ने प्रस्ट देखिन्छ।
छुटाइएको आनुवंशिक अध्ययन
रिजन ओझा चाइनिज एकेडेमी अफ साइन्स अन्तर्गत युनानको सेन्टर फर इन्टेग्रेटिभ कन्जरभेशन एन्ड युनान ल्याबोरेटरीमा नेपालको उन्यु वनस्पतिका विविधताबारे विद्यावारिधि गरिरहेका छन्। यस्तै, अर्का अनुसन्धाता हाराल्ड स्नाइडर बेइजिङस्थित युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्समा आबद्ध छन्। सुविधासम्पन्न प्रयोगशाला भएको संस्थामा कार्यरत अनुसन्धाताहरूले टाइफोनियम मोरङ्गेन्सको अध्ययनमा आनुवंशिक अध्ययन गरेको भए राम्रो हुन्थ्यो।
वनस्पतिको क्लोरोप्लास्ट (हरित कण)मा आरबीसीएल नामको जीन हुन्छ। यो जीन प्रायः सबैजसो वनस्पतिमा पाइने भएकाले वनस्पति पहिचानको भरपर्दो आनुवंशिक मार्कर हो। यस बाहेक एमएटीके, आईटीएस मार्करबाट पनि पहिचान गरिने प्रचलन छ।
आनुवंशिक अध्ययनले वनस्पति पहिचानको अकाट्य निष्कर्ष दिन्छ। नयाँ वनस्पतिको पहिचानमा आनुवंशिक अध्ययन नगरे, बाहिरी स्वरूपको आधारमा पहिचान गरे कहिलेकाहीं त्यो प्रजाति क्रिप्टिक (गुप्त) प्रजाति हुन पनि सक्छ। क्रिप्टिक प्रजाति भनेको देख्दा उस्तै तर आनुवंशिक रूपमा फरक हुने प्रजाति हुन्। अतः सही पहिचान गर्न डीएनए परीक्षण गर्नु भरपर्दो मानिन्छ।
टाइफोनियम वंशबारे विश्वमै अध्ययन-अनुसन्धान कम भएको छ। पछिल्ला वर्षमा भने यस सम्बन्धी अध्ययन तीव्र भएको देखिन्छ। सन् २०२४ मा मात्र भियतनाम र म्यानमारमा दुई-दुई तथा थाइल्यान्ड र चीनबाट एक-एक वटा विश्वकै निम्ति नयाँ प्रजाति पत्ता लागेका छन्। नेपालबाट विश्वका निम्ति थप नयाँ प्रजाति भेटिएलान्। विश्वका निम्ति नभए पनि नेपालका लागि नयाँ प्रजाति थपिने सम्भावना छ। यसतर्फ वनस्पति अध्येताले ध्यान दिए राम्रै होला।