नेपालीको ब्यांक खाताबाट अर्बौं साइबर डकैती
उपहार, अपुताली, अनलाइन लगानी, जागीर, चिट्ठा जस्ता लोभलाग्दा मेसेज पठाएर गरिने ठगीबाट नेपालीहरूको बचत मात्र टकटकिइरहेको छैन, उल्टै मुद्दा खेप्नुपरी घर घरमा रोइरहेका मानिस भेटिन थालेका छन्।
उमेरले ८० कटेका पुण्यप्रसाद दंगालको हिंडाइ-हाउभाउमा एक वर्षअघिसम्म तन्नेरी चाल थियो। शारीरिक मजबूतीसँगै धपक्क बलेको हुन्थ्यो उनको मुहार। केही वर्षयता भने उनलाई निरीहपनले गाँज्दै लगेको छ। क्षेत्रीय शिक्षा निर्देशनालयका पूर्व उपनिर्देशक उनको जीवनको सारा चैन २०८० भदौमा आएको एउटा इमेलले उडाइदिएको छ।
‘थाइल्यान्डको साइम कमर्सियल ब्यांकमा कार्यरत नेपाली मूलकी भानिला सोना’ भनिएकी एक महिलाले इमेलमा लेखेकी थिइन्- ‘तपाईंकै ठेगाना, थरको एक व्यक्तिको ६ लाख अमेरिकी डलर यहाँ ब्यांकमा जम्मा भएको छ। उसको मृत्यु भइसक्यो। तर यो रकम लिने हकदार हालसम्म कोही फेला नपरेकाले तपाईंलाई सम्पर्क गरेको। यो रकम हामी तपाईंको खातामा पठाइदिन्छौं। यो प्रक्रियाका लागि तपाईंले अनुमति दिनुहोला।’
यस्ता सन्देश मार्फत झुक्याएर ठगी हुने गरेको सुनेकाले दंगालले पहिलो चोटि आएको इमेलको वास्ता गरेनन्। दोहोर्याई तेहेर्याई इमेल आइरहेपछि उनले जवाफ लेखे- ‘मलाई यसबारे केही थाहा छैन, रुचि पनि छैन।’
त्यसपछि भानिलाले खातावालको मृत्यु प्रमाणपत्र, उसको नाममा ब्यांकमा जम्मा भएको रकम लगायत कागजातका फोटोकपी सहित नेपाली भाषामै इमेल लेखिन्। दंगालले पत्याए र प्रक्रिया अगाडि बढाउन स्वीकृत दिए। आफ्नो राहदानी र नागरिकता स्क्यान गरेर इमेल गरिदिए। लगत्तै ब्यांक खाता नम्बर मागियो। दुई वटा ब्यांकको खाता नम्बर पनि पठाइदिए।
केही दिनपछि ब्यांकमा रजिस्ट्रेशन गर्न साढे दुई लाख रुपैयाँ चाहिने इमेल आयो, उनले पठाइदिए। कर चुक्ता गर्न थप १५ लाख रुपैयाँ आवश्यक भएको बताएपछि उनी अन्योलमा परे। “एक जना साथीलाई सोधें,” दंगाल भन्छन्, “उसले विचार गर्नोस्, हुन पनि सक्छ भन्यो।”
उनीसँग पैसा थिएन। साथीभाइसँग सरसापट लिएर पठाए। पैसा पठाउन नेपालकै नबिल र सनराइज ब्यांकको खाता दिइएको थियो। छुटफुट कर तिर्न भनेर फेरि चार लाख रुपैयाँ माग्दा पनि दंगालले खुरुक्क हालिदिए।
त्यसपछि गत वैशाखमा उनको हातमा साइम कमर्सियल ब्यांकको एटीएम कार्ड आइपुग्यो। “अहिले थोरै पैसा यही एटीएम लगेर भारतबाट झिक्नु। नेपालबाट अहिले निकाल्न मिल्दैन। केही समयपछि बाँकी रकम नेपालबाट झिक्न सकिन्छ भनियो,” दंगाल भन्छन्।
दंगाल पैसा निकाल्न चार-पाँच जना केटाको टोलीलाई गाडीमा राखेर रक्सौल पुगे। कोटाक महिन्द्रा ब्यांकको एटीएम बूथमा कार्ड छिराउँदा फुत्त बाहिर हुत्याइदिन्थ्यो। त्यहींबाट समस्या दर्शाएर वाट्सएपमा मेसेज पठाउँदा भानिलाले अर्को ठाउँमा प्रयास गर्न भनिन्। तर फेरि उही समस्या दोहोरियो।
चिट्ठा परे जस्तो टन्न पैसा निकाल्न रक्सौल गएको दंगालको टोली रित्तो हात काठमाडौं फर्कियो। फर्किएको लामो समय प्रहरीलाई खबर गर्ने/नगर्ने दोधारमै बिताए, उनले। अन्त्यमा गत असोजमा नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएका छन्।
“अनि पो फसियो कि क्या हो भनेर मनमा चिसो पस्यो,” दंगाल भन्छन्, “अहिले दोब्बर ठटाउँछु भनेर साहुले प्याकप्याक्ती पारिरहेका छन्। कहाँ फसियो फसियो!”
उनले नेपाली ब्यांकका खातामा पठाएको रकम त्यहाँ त थिएन नै, हालसम्म ‘स्क्याम’कर्ता पहिचान गर्न समेत प्रहरी असफल छ। साइबर ब्यूरोमा अपुताली परेको भनेर ठगी गरेको दाबी सहित १६ वटा उजुरी परेका छन्। उनीहरूको करीब एक करोड रुपैयाँ ठगिएको छ। अनलाइन ठगीको यो एउटा तरीका हो।
“यस्तो ठगीमा थुप्रै तहमा कारोबार भएको हुन्छ। हामी दोस्रो तहमा भएको कारोबार केलाइरहेका छौं,” ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दीपक अवस्थी भन्छन्, “हामीकहाँ अनलाइन मार्फत भएका आर्थिक चोरी, ठगीका केसहरू थुप्रिएका छन्। यस्ता केसहरूमा मुख्य व्यक्तिसम्म पुग्न कठिन भइरहेको छ।”
अर्थात् रकम ठग्ने ‘स्क्यामर’हरू कारबाहीको दायरामै नआउने अवस्था छ। अनलाइन मार्फत डकैत भएको रकम फिर्ता हुनु लगभग असम्भव जस्तै छ। “अनलाइन डकैतीको अपराध ज्यादै डरलाग्दो गरी बढिरहेको छ,” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी भन्छन्, “सानो लोभले घर घरमा मानिसहरूको बिचल्ली भइरहेछ।”
जिसीले यसो भनिरहँदा प्याकुरेल थरका एक व्यक्ति उनको कार्यकक्षमा पसे। अनलाइन जागीरका नाममा आफ्नो छोराले गुमाएको पाँच लाख रुपैयाँ फर्काउन कुनै उपाय लाग्छ कि भनेर उनी त्यहाँ आएका रहेछन्। साइबर ब्यूरोमा पनि निवेदन दिएको बताउँदै उनले एसपी जिसीलाई सोधे, “यताबाट पनि केही गर्न मिल्छ कि?”
६ महीनामा अर्बौं डकैती
हिजोआज अनलाइनबाट रकम गुमाएको भन्दै प्रहरी कार्यालय आउनेहरूको भीड लाग्छ। साइबर ब्यूरो र अपराध अनुसन्धान पीडितहरू धाउने प्रहरीका मुख्य मुख्य कार्यालय हुन्। साइबर ब्यूरोको भोटाहिटी कार्यालयमा पीडितहरूको ठेलमठेल घुइँचो सडकसम्मै तन्किएको देखिन्छ।
ब्यूरोका अनुसार गत साउनदेखि पुससम्मको ६ महीनामा अनलाइनबाट भएको ठगीको रकम ६२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो पूरा आर्थिक वर्षको भन्दा बढी हो। उपत्यका अपराध अनुसन्धान कार्यालयमा यो ६ महीनाको अवधिमा २४ करोड ५७ लाख रुपैयाँ अनलाइन ठगी भएको अभिलेख छ। त्यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा यो आँकडा ४१ लाख रुपैयाँको छ। काठमाडौं र ललितपुर प्रहरी परिसरमा १९ करोड ६५ लाख रुपैयाँ साइबर ठगीको उजुरी छ। यो सबै जोड्दा एक अर्बभन्दा बढी हुन्छ।
नेपाल राष्ट्र ब्यांकले बर्सेनि निकाल्ने ‘रणनीतिक विश्लेषण प्रतिवेदन’ हेर्दा पनि साइबर ठगीमा नेपालीहरूले गुमाइरहेको धन अचाक्ली बढिरहेको देखाउँछ। सन् २०१९/२० मा राष्ट्र ब्यांकबाट अनलाइन ठगीका चार वटा घटना अनुसन्धानका लागि प्रहरीलाई भनिएको थियो, जुन पछिल्लो वर्ष १५ पुग्यो। २०२२/२३ मा यस्ता ठगीका ६६ वटा घटना अनुसन्धान गर्न प्रहरीमा पठाइएको राष्ट्र ब्यांकको प्रतिवेदनमा उल्लेख छ।
गत मंसीरमा राष्ट्र ब्यांकले सार्वजनिक गरेको प्रतिवेदनले त नेपालमा अनलाइन ठगीका घटना ज्यादै डरलाग्दो गरी विस्तार भइरहेको देखाउँछ। २०२४ को जनवरीदेखि मेसम्म राष्ट्र ब्यांकले शंकास्पद कारोबार भएका ५०१ वटा घटनाको अध्ययन गरेको थियो। तीमध्ये ३१९ वटा साइबर ठगी सम्बन्धी थिए, जुन कुल संख्याको ६४ प्रतिशत हो।
यसको अर्थ राष्ट्र ब्यांकले शंकास्पद मानेको कारोबारमध्ये अनलाइन ठगीको हिस्सा अत्यधिक छ। अध्ययनले नेपालमा साइबर ठगी तीव्र गतिमा रहेको देखाएको गत मंसीरमा सार्वजनिक प्रतिवेदनले बताएको छ।
२०७६ सालको अन्तिमदेखि कोभिड महामारी फैलिएसँगै नेपालमा डिजिटल कारोबारले गति लियो। कारोबार बढेसँगै डिजिटल लूटपाट पनि फैलिइरहेको छ। यसको जालो हटाउन अनुसन्धान निकायहरू असफल छन्।
अनुसन्धान नै हराउने अपराधको जालो
टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको अनलाइन ठगी शाखामा माघ १३ गते दिउँसो एक युवक प्रहरीलाई भनिरहेका थिए, “मलाई भित्रै (हिरासत) हालिदिनोस्। मसँग भात खाने पैसाधरी छैन, कहाँबाट ल्याएर तिर्नु त्यत्रो रकम !”
भरसक मानिसहरू हिरासत नबस्न अनेक जुक्ति रच्छन्। ती तत्नेरी भने हिरासत जान प्रहरीसँग उल्टै अनुनय गरिरहेको अनौठो दृश्य थियो, त्यो। उनको खातामा अनधिकृत पैसा आएर अन्य ब्यांक तथा डिजिटल वालेटमा रकमान्तरण भएको भेटिएपछि उनी अनुसन्धानको दायरामा तानिएका हुन्।
“प्राप्त प्रमाणले उनले गल्ती गरेको देखाउँछ, कानून अनुसार मुद्दा चलाउनै पर्छ,” शाखाका एक अनुसन्धान अधिकृत भन्छन्, “तर परिस्थिति हेर्दा उनी आफैं ठगिएका पीडित हुन् भन्ने देखिन्छ। अनलाइन ठगी सम्बन्धी ९९ प्रतिशत मुद्दामा यस्तै देखिन्छ।”
ती अनुसन्धान अधिकृतका भनाइमा बैतडीको यी यमराज अवस्थीलाई मुद्दा चलाउने कि नचलाउने भन्ने कुरा उनको खातामा पैसा हालिदिने अन्य पीडितहरूसँगको समझदारीमा निर्भर हुनेछ।
“आधा पैसा तिराएर मिलापत्र गराउने व्यावहारिक पक्षमा हाम्रो जोड रहन्छ, किनभने उनीहरू सबै कुनै न कुनै रूपमा पीडित छन्,” ती प्रहरी अधिकृतले भने, “समझदारी नभए मुद्दा दर्ता गराउँछौं।”
दुई वर्षअघि फेसबूकमा युरी अन्नाको फ्रेन्ड रिक्वेस्ट आएपछि अवस्थीले स्विकारे। त्यसपछि युरीसँग टेलिग्राममा कुराकानी हुन थाल्यो। त्यही क्रममा एक दिन युरीले विवाह गरे अमेरिका लैजाने प्रस्ताव राखिन्। केहि दिनपछि आफू नेपाल आउन लागेको र नयाँ सिमकार्ड निकालेर नयाँ ब्यांक खाता खोलिराख्न भनिन्।
“नेपाल आउन खातामा पैसा जम्मा गर्नुपर्ने रहेछ भनेकी थिइन्,” अवस्थी सम्झन्छन्, “उनले भने अनुसार नबिल ब्यांकमा खाता खोलेर मोबाइल ब्यांकिङ चलाउन ओटीपी (वान टाइम पासवर्ड) पनि दिन थालें।”
त्यसको केही समयपछि नै जिल्ला प्रहरी कार्यालय, दाङबाट आएको फोनले उनलाई आफू उभिएको धर्ती नै भासिएको महसूस गरायो। दाङ प्रहरीले उनलाई ‘तपाईंको खातामा शंकास्पद कारोबार भएकाले चाँडै सम्पर्क गर्न’ भनेको थियो। दाङमा उनी विरुद्ध तीन लाख ६५ हजार रुपैयाँ बिगोको ठगी मुद्दा परेको रहेछ।
“मैले अमेरिका जान पाइने लोभमा खातापाता बुझाएँ,” अवस्थी सुस्केरा हाल्छन्, “आज प्रहरी कार्यालयमा मुद्दा धाउँदै छु।”
कास्कीमा एक लाख ३३ हजार र काठमाडौंमा एक लाख २० हजार रुपैयाँ ठगी गरेको आरोपमा पनि उनलाई प्रहरीले अनुसन्धान गरिरहेको छ। युरीले चलाएको उनको खाताबाट ३३ लाख रुपैयाँको कारोबार भएको अनुसन्धानबाट खुलेको छ।
‘प्लस टू’ को पढाइ सकेर एउटा आयुर्वेदिक कम्पनीमा काम थालेका अवस्थी विदेशको लोभले आफ्नो बिल्लीबाठ भएकामा थकथकी मानिरहेका छन्। नवविवाहित उनले मुद्दामामिलामा फसेपछि पत्नीलाई बैतडीस्थित घर पठाइदिएका छन्। “बुबाआमा गाउँमा सामान्य किसान हुनुहुन्छ,” उनले प्रहरीलाई भने, “कहाँबाट ल्याएर तिर्नु ३३ लाख रुपैयाँ? बरु कानून अनुसार भित्रै बस्छु।”
खातामा शंकास्पद कारोबार देखिएपछि अर्को घटनामा प्रहरीले २३ वर्षीय सोनिड चौधरीलाई बोलायो। कम्प्युटर साइन्समा स्नातक गरेका उनले फेसबूकमा अनलाइन जागीरको विज्ञापन देखेर क्लिक गरे। टेलिग्रामको लिंक पछ्याउँदै जाँदा उनले ‘फाइनान्सर’ को जागीर पाए। उनलाई आफ्नो खातामा आएको पैसा निर्देशन भए अनुसार अनलाइनबाट विभिन्न ठाउँमा ट्रान्सफर गर्ने जिम्मेवारी दिइयो। यस बापत दैनिक एक हजार रुपैयाँ पाउने शर्तमा राजी भएर काम थाले।
चौधरीले गत कात्तिक २८ देखि मंसीर १३ गतेसम्म आफ्नो खातामा आएको रकम वालेट वा ब्यांकका क्यूआर कोड गरेर पठाए बापत २५ हजार रुपैयाँ कमाए। “एकै दिन चार/पाँच लाख रुपैयाँ आउन थालेपछि चाहिं डर लागेर कम्पनीको नाम देखाए मात्र काम गर्ने भनें,” उनी भन्छन्, “त्यो नदेखाएपछि मैले काम छाडिदिएँ।”
चौधरीले जागीर त छाडे, तर झमेला उनको पछि लाग्यो। प्रहरीले खाता रोक्का राखेर अनुसन्धानका लागि बोलाउँदा उनी पनि पीडितमै दरिए। “घरमै बसीबसी पैसा कमाउने भएपछि धेरै व्यक्ति अनधिकृत कारोबारको अंशियार बनिरहेका छन्,” एसपी जिसी भन्छन्।
साइबर ठगी गिरोहले चिट्ठा परेको, विदेशस्थित ब्यांकमा जम्मा भएको रकमको हकदार नभेटिएको, अनलाइन जागीर दिने, उपहार पठाउने, अनलाइनमा लगानी गर्दा अधिक लाभ हुने, वालेट अफिसबाट बोलेको जस्ता विधिबाट मानिसलाई जालमा पार्छन्।
टिकटक, वाट्सएप, टेलिग्राम, फेसबूक लगायत सामाजिक सञ्जालमा यस्ता सन्देश आउँछन्। त्यसपछि पल्काउने उपक्रम शुरू हुन्छ। खाता मात्रै प्रयोग गर्ने हो कारोबार गरे बापतको कमिशन छाडिदिन्छन्। उपहार, चिट्ठा, अपुताली रकम पठाइदिन लागेको भन्दै ब्यांक खाता मागे स्क्यामरले पैसा धुत्न खोजेको बुझ्नुपर्छ।
स्क्यामरले केही समयपछि नै सरकारी कर तिर्नुपर्ने भन्दै पैसा पठाउन भन्छ। पैसा पठाउन उसले नेपालकै ब्यांक खाता दिन्छ, जुन अर्को मानिसलाई यसरी नै झुक्याएर प्रयोग भइरहेको हुन्छ।
जागीर दिए भने शुरूमा कमिशन वा तलब हालिदिन्छन्। खासमा गिरोहले ठगीको पैसा रकमान्तरण गर्न कमिशन वा तलब पाउनेको खाता प्रयोग गरिरहेको हुन्छ। गत असोजमा सिटिजन ब्यांकमा खोलेको एफ-वान सफ्ट इन्टरन्याशनलको खातामा अनधिकृत पहुँच बनाएर चोरिएको साढे तीन करोड रुपैयाँ लैजान यस्तै खाता प्रयोग गरिएको थियो। यो केसमा पक्राउ परेका नौ जना सबै खाता प्रयोग भएका व्यक्ति मात्र हुन्।
प्रहरीका अनुसार यसरी साइबर ठगी गरेको रकम ‘ट्रान्सफर’ गर्न थुप्रै खाता भाडामा लिएका हुन्छन्। यसलाई प्रहरीले पहिलो तहको खाता भन्छ। यसरी भाडामै लिएका विभिन्न खातामा ठगीको पैसा रकमान्तरण गरिन्छ। यी खाताका लागि गिरोहले नवयुवालाई प्रयोग गरेको पाइएको छ।
राष्ट्र ब्यांकको गत मंसीरको प्रतिवेदन अनुसार साइबर ठगीमा प्रयोग भएका खातामध्ये ४९ प्रतिशत १९-२४ वर्ष उमेरकाहरूको भएको पाइएको छ। तहगत रूपमा रकमान्तरण गर्दै पैसा नक्कली कागजातका आधारमा खोलिएका ब्यांक खाता वा वालेटका खाताहरूमा लगेर नेपालकै ब्यांक वा वालेट खाता र भारतबाट रकम निकालिन्छ। नेपालको एटीएम चल्ने भएकाले रकम भारतबाट समेत निकालेको भेटिएको प्रहरी बताउँछ।
“यसले गर्दा मूल गिरोहसम्म पुग्न सकिएको छैन,” एसपी जिसी भन्छन्, “अनुसन्धानको लहरो पहिल्याउँदै जाँदा नक्कली कागजातका आधारका ब्यांक, वालेट खाता खोलिएको भेटिन्छ अनि अनुसन्धानको शटर त्यहीं बन्द हुन्छ।”
उनका अनुसार भर्चुअल दुनियाँबाट हुने यो अपराध प्रहरीको पहुँचभन्दा धेरै पर छ।
इन्भेस्टमेन्ट स्क्याम
आइटी कम्पनीमै काम गर्ने काठमाडौं सोह्रखुट्टेका एक व्यक्ति (जसले आफ्नो नाम खुलाउन चाहेनन्)को वाट्सएपमा तीन महीनाअघि आएको मेसेज क्लिक गर्दा यूट्यूब सब्सक्राइब गर्न भनिएको थियो। लगानी गरे बढी मुनाफा सहित सावाँ फिर्ता हुने त्यो यूट्यूब भिडियोमा भनिएको थियो।
त्यसमा दिइएको टेलिग्रामको लिंक हेर्दै जाँदा ब्यांक खातामा पैसा हाल्नुपर्ने र पछि फिर्ता आउने भनिएको थियो। उनले १० हजार रुपैयाँ हालेर परीक्षण गरे। भने जति नाफा सहित फिर्ता पनि आयो। उनले रकम बढाउँदै लगे। “चार दिनको अन्तरालमा मैले ६३ लाख रुपैयाँ लगाएँ, तर सुको फिर्ता आएन,” ती व्यक्ति भन्छन्।
उनी अहिले प्रहरीको शरणमा छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परे पनि पैसा फिर्ता हुने/नहुने टुंगो छैन। “केही छिनमै यसरी जम्मा भएको पैसा फटाफट ट्रान्सफर हुन्छ,” अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, “उहाँको हकमा पनि यस्तै छ। हामी ट्रेस गर्ने कोशिशमा छौं।”
अनलाइन ठगीको दुनियाँमा यसलाई ‘इन्भेस्टमेन्ट स्किम’ भनेर चिनाइन्छ, तर यो ‘स्क्याम’ हो। साइबर ब्यूरोका अनुसार चालू आर्थिक वर्षको ६ महीनामा अनलाइन ठगीमा परेका उजुरीमध्ये ४२ करोड रुपैयाँ हिस्सा ‘इन्भेस्टमेन्ट स्क्याम’ कै छ। छोटो समय पैसा राख्दा यति प्रतिशत ब्याज सहित रकम फिर्ता हुने भन्दै मेसेज पठाएर मानिसलाई आकर्षित गरिन्छ। शुरूमा त्यसरी फिर्ता पनि हुन्छ, तर जब ठूलो रकम खन्याइन्छ सबै हराउँछ।
इन्भेस्टमेन्ट स्क्याममा सदस्य बनाएरै पनि करोडौं ठगिएको पाइन्छ। टासी शेर्पा नामक फेसबूक आईडी चलाउने दादिकी शेर्पालाई फ्रेन्ड रिक्वेस्ट पठाएकी चेन यान फाईले आफूले हङकङ बसेर अनलाइन व्यापारमा कमाएको पैसा नेपालमा अनाथालय खोलेर परोपकारमा खर्च गर्न चाहेको बताइन्। त्यसपछि वाट्सएप र टेलिग्राममा नियमित कुराकानी हुन थाल्यो।
वाट्सएप र टेलिग्राममा टिना आईडी भएकी फाईले एक दिन दादिकीलाई टेलिग्राम मेसेजमा अनलाइन नेटवर्किङ कम्पनी दर्ता गर्न आग्रह गर्दै लिंक पठाइन्। त्यसमा क्लिक गर्दा फिफिए एप्लिकेशन डाउनलोड भयो। यस्तो व्यवसाय गैरकानूनी भएको नेपालको कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गर्ने तरीका पनि सिकाइन्।
त्यसरी दादिकीको नाममा फिफिए अनलाइन मिडिया प्रालि दर्ता भयो। उनैले टोखा नगरपालिकाको धापासीमा फ्ल्याट भाडामा लिइन्। दादिकी, जीवनकुमार श्रेष्ठ, ज्ञानबहादुर राई (दादिकीका श्रीमान्) सदस्य बनाउन कम्पनीमा जोडिए। फिफिएमा लगानी गरेको ९० मिनेटभित्र ०.४८ प्रतिशत रकम सहित फिर्ता हुने भन्दै फेसबूक, टेलिग्राम, वाट्सएप, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा विज्ञापन आयो। यसमा जोडिएर लगानी गर्न भनियो। वेलावेला सेमिनार, गोष्ठी पनि हुन्थ्यो, सदस्यहरूलाई विश्वास दिलाउन। कम्पनीको कार्यालयमा दर्ता प्रमाणपत्र, तह तहका मेनेजर, गोष्ठीको फोटाहरू टाँसिएका थिए।
टिना (फाई)ले कार्यालय खर्च पठाउने भनेपछि दादिकीले कुमारी ब्यांकको खाता पठाएकी थिइन्। त्यसमा नेपालमा रहेका सदस्यहरूको खाताबाट पैसा आउँथ्यो। दादिकीले त्यो पैसा टिनाले भने अनुसार विभिन्न खातामा पठाउँथिन्।
प्रहरीले २०८० असोज २ गते दादिकीलाई पक्राउ गरेपछि भने ठगीको सञ्जाल कति ठूलो रहेछ भन्ने खुल्यो। दादिकी सहित ७८ जनाले १८२ जनाबाट तीन करोड ७४ लाख ५५ हजार रुपैयाँ रकम ठगी गरेको अभियोगमा दर्ता मुद्दा विचाराधीन छ।
टिनाले आफूलाई जस्तै अरू थुप्रैलाई यो स्किम पठाएर सदस्य बनाउन लगाएको पक्राउ परेपछि मात्र दादिकीले थाह पाइन्। तर उनको नाममा कम्पनी नै खोलिएकाले अदालतले अरूलाई धरौटीमा छोडे पनि दादिकीलाई फैसला नहुँदासम्म थुनामै पठाएको छ।
११३ जनाबाट दुई करोड ५९ लाख ४३ हजार ४०० रुपैयाँ ठगेको भन्दै दादिकी समूह विरुद्ध गत पुसमा पूरक अभियोग पनि दर्ता भएको छ। यसरी २९५ जनाको साढे ६ करोड रुपैयाँ ठगिएको घटना उधिने पनि यसको मूल सञ्चालक प्रहरीले ठम्याउनै सकेको छैन। यो स्क्यामको सूत्रधार टिना को हो भन्ने भेउ नै पाएको छैन।
पैसा कमाउने लोभमा परेर अह्राए अनुसार गर्नेहरू पक्राउ परे पनि उनीहरू खासमा पीडित नै हुन्। यो घटनाको अनुसन्धान गरेका काठमाडौं जिल्ला प्रहरी परिसरका एक प्रहरी अधिकृत भन्छन्, “तर ठूलो मात्रामा ठगी भएकाले पक्राउ परेकाहरूलाई मुद्दा नचलाई पनि भएन।”
भारतमा नेपाली एटीएम
‘म ३८ वर्षीय रोमनियन नागरिक फ्लोरिन क्रिस्टिन हुँ। अहिले लन्डनमा बस्छु। मेरी श्रीमतीको कार दुर्घटनामा मृत्यु भएपछि एक्लै छु। मलाई जीवनसाथी चाहिएको छ।’
२०८० पुसमा धादिङकी मीना गुरुङलाई टिकटकमा आएको मेसेज हो यो। केही बेरको च्याटपछि फ्लोरिनले वाट्सएप नम्बर मागे। त्यसपछि वाट्सएपमा नियमित कुराकानी हुन थाल्यो।
बिस्तारै उनीहरू प्रेममा परेको वाट्सएपका बातले बुझाउँछन्। केही दिनपछि फ्लोरिनले घडी, लुगा, गहनाको फोटो र भिडिओ पठाए। त्यसमा भनिएको थियो, ‘यो सबै तिमीलाई उपहार भोलि पठाइदिन्छु। कम्पनीबाट फोन आउँछ अनि लिनू।’
नभन्दै भोलिपल्ट नेपालकै मोबाइल नम्बर रहेको वाट्सएपबाट मीनालाई मेसेज आयो, ‘नमस्ते म्याम। म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट। लन्डनबाट तपाईंको पार्सल आइपुगेको छ। हामी यो पार्सल तपाईंको घरमै ल्याइदिनेछौं। तर त्यसअघि यहाँ भन्सार तिर्नुपर्छ। यसका लागि ६७ हजार ५०० रुपैयाँ तिर्नुपर्छ।’
विद्यार्थी मीनासँग त्यत्रो पैसा थिएन। घाँटीमा भएको सिक्री बन्धकी राखेर पैसा निकालिन्। मुक्तिनाथ विकास ब्यांकमा अम्बिकादेवी सिलवालको नाममा रहेको खातामा पैसा जम्मा गर्न भनिएको थियो। उनले माघ २४ गते राखिदिइन्।
त्यसपछि नेपाली नम्बरकै ह्वाट्सएपबाट मेसेज आयो, ‘तपाईंको पार्सलमा सुन र पैसा पनि रहेछ। यो गैरकानूनी हो। त्यसैले एक लाख ८९ हजार रुपैयाँ जरिवाना तिरेर मात्र लैजान पाइन्छ। आइन्दा यस्तो गल्ती नगर्नुहोला।’
उनले पहिले बन्धकी राखेको सुन बेचेर एक लाख ३३ हजार रुपैयाँ पठाइन्, तर ५६ हजार बाँकी रहेकाले सामान दिन नमिल्ने अर्को मेसेज आइरह्यो। थप पैसा जुटाउन उनले माइजूलाई भनिन्। “उहाँहरूले पो ठगेको हुन सक्छ भन्नुभयो,” मीना भन्छिन्।
“ठगीमा परेको जाहेरी दिंदा प्रहरीले पैसा फिर्ता हुन गाह्रो छ भन्यो,” उनी सुनाउँछिन्, “अरूले पनि त्यो पैसा आउँदैन नै भने।”
केही दिनपछि फेरि फ्लोरिनले पार्सल पाए/नपाएको सोधीखोजी गरे। मीनाले पैसा तिर्न नपुगेको बताएपछि अपुग रकम पठाइदिने आश्वासन दिए। यसका लागि नयाँ ब्यांक खाता खोलेर त्यसको एटीएम र केही थान सिमकार्ड पठाइदिन भन्यो। ब्यांक खातामा आफूलाई पठाइदिने नयाँ सिमको नम्बर राख्न र उक्त सिम सहित अन्य सिम वाट्सएप चलाउन आवश्यक परेकाले पठाइदिन भने।
आफू दिल्ली आएको र त्यहाँ काम सकेर नेपाल आई भेट्ने पनि आश्वासन दिए। एटीएम र सिमकार्ड पठाउन दिल्लीको ठेगाना दिइएको थियो।
डुबेको दुई लाख ५०० रुपैयाँ फिर्ता हुने आशाले मीनाले एभरेष्ट ब्यांकमा खाता खोलेर एटीएम र सीमकार्ड कुरियरबाट पठाइदिइन्, तर फ्लोरिनले त्यो चलेन भने। त्यसपछि मुक्तिनाथ ब्यांकको एटीएम र सिमकार्ड पठाइन्। त्यो पनि चलेन भनियो। एवं रितले ग्लोबल आइएमई, प्रभु, नबिल, एनएमबि, गरिमा, कुमारी, सिद्धार्थ, प्राइम, एसबीआई, लक्ष्मी सनराइज ब्यांकमा खाता खोलेर एटीएम र सिमकार्ड पठाइन्।
त्यसैबीच काठमाडौंबाट आएको प्रहरीको फोनले उनी रन्थनिइन्। टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट आएको फोनमा मीनालाई भनिएको थियो, “तपाईंको खातामा ठगीको रकम कारोबार भएको देखिन्छ, तुरुन्त आउनुपर्यो।”
मीना टेकु पुगिन्। दुई जनाको एक लाख १५ हजार रुपैयाँ मीनाको नाममा खोलिएको ब्यांक खातामा जम्मा भएर अन्तै ट्रान्सफर भएको रहेछ। साइबर ब्यूरोमा ७० हजार रुपैयाँको अर्को बिगो छ। “टेकुमा दुई जनाको आधा तिरिदिएर मिलापत्र भयो,” उनले फोनमा भनिन्, “अझै कहाँ कहाँ कति तिर्नुपर्ने हो, थाहा छैन। प्रहरीले बोलाएको वेला हाजिर हुन्छु भनेर अहिले घर आएकी छु।”
२५ वर्षीया मीनाका बुबा सरकारी स्कूलका शिक्षक हुन्। यो घटनाबाट उनका बुबाआमा पनि तनावमा छन्। मीनाले नखाएको पैसा पनि तिर्नुपर्ने भएको छ। ”परीक्षा आइरहेको छ, कोर्स पनि छुट्यो, पढ्न सकेकी छैन,” मीना भन्छिन्, “दुई जना भाइ छन्। एउटाले सीए पढ्ने भनेको थियो। मेरो कारणले उसलाई पढ्ने पैसा नपुग्ने भएको छ।”
निवेदनकर्ताहरूको चित्त बुझाउन गाह्रो भएको र कानूनको नजरमा आफू दोषी भएकाले अब के गर्ने भनेर सोच्नै नसकेको उनले बताइन्।
प्रहरीका अनुसार स्क्यामरहरूले मीना जस्तै धैरेलाई प्रेमजालमा पारेर एटीएम कार्ड हात पारेका हुन्छन्। अनलाइनबाट विभिन्न ब्यांक खातामा रकमान्तरण गरिएको ठगीको रकम यिनै एटीएम प्रयोग गरेर भारतबाट निकाल्छन्। नेपालको एटीएम कार्ड भारतमा चल्दा गिरोहलाई सजिलो भएको छ।
उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीको अनुमानमा डिजिटल ठगीको रकम निकाल्न पाँच हजार जति नेपाली एटीएम कार्ड भारत पुगेको छ।
काठमाडौं परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयमा दुई वर्षदेखि अनलाइन ठगीको घटना हेरिरहेका एसपी जिसी यो बाटोबाट ठूलो परिमाणमा नेपाली रकम बाहिरिइरहेको अनुमान गर्छन्। “हामीले सोच्दै नसोचेको मात्रामा रकम गइरहेको छ,” उनी भन्छन्, “यो व्यक्तिगत धन चोरिएको होइन, यही गतिमा यो अपराध बढ्यो भने मुलुकको ढुकुटीमै धक्का लाग्न सक्छ।”
अनलाइनबाट ठगिएको रकम क्रिप्टो, बिट क्वाइन, बाइनान्स जस्ता भर्चुअल मुद्रा कारोबारसम्म पुगेको केही अनुसन्धानबाट देखिएको छ। सीआईबीले अनुसन्धान गरिरहेको माइकल चौधरी समूहले अनलाइनबाट ठगेको रकम क्रिप्टोमा लगानी गरेको भेटिएको एसपी सुधीर शाही बताउँछन्। यो समूहको ५४ करोड रुपैयाँ क्रिप्टोमा लगानी भएको देखिन्छ। अनलाइन ठगीले अन्य अपराधलाई समेत बढावा दिइरहेको यसले देखाउँछ।
गिरोहहरूले भारत लगायत मुलुकमा बसेर अनलाइन ठगीको सञ्जाल चलाइरहेका छन्। नेपाल प्रहरी त्यो तहसम्म पुग्न सकेको छैन।
बदमास वित्तीय संस्था
पोखराको मुक्तिनाथ विकास ब्यांकमा विनिता महतको नाममा रहेको खाता अनलाइन ठगीको रकम कारोबारमा प्रयोग भएको खुलेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई बोलायो। चितवनकी महत आएर आफूले उक्त ब्यांकमा खाता नै नखोलेको अड्डी कसिन्। नभन्दै प्रहरीले ब्यांकबाट खाता खोल्न प्रयोग गरेका कागजात मगाएर हेर्दा फारममा भरेको विवरण र फोटोसँग नागरिकताको फोटो र अन्य विवरण नै मिलेन।
१३ दिन चलेको यो खाताबाट लाखौं रुपैयाँको कारोबार भएको छ। अनुसन्धानमै रहेकाले यसबारे विवरण नखुलाउने प्रहरीले बताएको छ। “मलाई कसरी न्याय दिनुहुन्छ भनेर उहाँ जानुभएको छ,” अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, “फर्जी कागजातका भरमा खाता खोलेर भएका ठगीबारे राष्ट्र ब्यांकलाई लेखेर पठाउने गरेका छौं। यसमा पनि पठाएका छौं, तर यो क्रम रोकिएको छैन।”
ब्यांकहरूले नक्कली कागजातका भरमा खाता खोलिदिने मात्र होइन, सेवाग्राहीलाई पत्तै नदिई मोबाइल ब्यांकिङ सेवा पनि क्रियाशील बनाइदिने प्रवृत्ति छ।
कञ्चनपुरका निरज पाण्डेय र पर्वतका सन्दीप न्यौपाने यसका उदाहरण हुन्। नागरिकतामा अरूकै फोटो टाँसेर सेन्चुरी, ज्योति विकास र कुमारी ब्यांकमा उनीहरूको खाता खोलिएको २०७९ मा ठगी मुद्दाको अनुसन्धान हुँदा खुलेको थियो।
त्यसपछि प्रहरीले राष्ट्र ब्यांकलाई खाता खोल्दा आधिकारिकता जाँच्ने संयन्त्रको व्यवस्था नगरे नागरिकको धन ब्यांकबाट हराइरहने भन्दै ध्यानाकर्षण गरेको थियो। मुक्तिनाथ ब्यांकको घटनाले ब्यांकहरूको बदमासी नरोकिएको पुष्टि गर्छ।
डिजिटल वालेटहरूले समेत कागजातको आधिकारिकता नजाँची जथाभावी खाता खोल्नाले डिजिटल डकैती गरिएको रकम यस्तै खाता मार्फत कारोबार भइरहेको र वास्तविक ठगसम्म पुग्न हम्मे परेको प्रहरी बताउँछन्। यस्ता घटना बग्रेल्ती छन्।
ईसेवाबाट बोलेको भनेर ठगी गरेको आरोपमा सीआईबीले पक्राउ गरेका माइकल चौधरी सहितको समूह छिचोल्न प्रहरीलाई यही नक्कली कागजात बाधक भएको छ। हाल प्रहरी हिरासतमै रहेका चौधरीको समूहले प्रयोग गरेको ४० वटा सिमकार्डमध्ये कतिपयका ईसेवा खाता नक्कली कागजातका आधारमा खोलेको पाइएको छ।
यसले अनुसन्धानमा व्यवधान गरेको सीआईबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा बताउँछन्। यस्तो नक्कली कागजातवाला खाता छ्यापछ्याप्ती छन्।
ठग गिरोहले चलाएका कनेक्ट आईपीएस, वालेट, फोनपे जस्ता डिजिटल कारोबार भएका अधिकांश खाता निरक्षर व्यक्तिहरूको नाममा रहेको राष्ट्र ब्यांकको अध्ययन प्रतिवेदनले औंल्याएको छ। ब्यांक तथा वालेटहरूले सेवा लिन अयोग्य व्यक्तिहरूलाई पनि ती सेवा थमाइरहेका छन्, जुन सहजै अनलाइन ठगहरूको पन्जामा पुग्ने माध्यम बनिरहेको छ।
यसरी नेपालीहरूको बचतमा बर्सेनि अर्बौं अनलाइन डकैती भइरहेको छ। ब्यांक तथा डिजिटल वालेटहरूले मिहिन रूपमा कागजात नजाँची खाता खोलिदिने वा सबको सबलाई मोबाइल ब्यांकिङ सुविधा दिइहाल्ने प्रवृत्तिले यसमा सघाउ पुर्याइरहेको छ।
“हामीले डिजिटल कारोबारमा सबैको पहुँच बढाउने नीति लियौं, तर यसको सुरक्षा र प्रयोगकर्तामा सचेतना जगाउने कुरामा चूप बस्यौं,” उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी भन्छन्, “परिणाम, घर घरमा रोएर बस्नुपर्ने मानिसको संख्या बढ्दो छ।”