नेपालको लगातार तेस्रो हार
त्रिदेशीय महिला टी-२० शृंखलामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको हो। नेदरल्यान्ड्सले दिएको १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले आठ विकेटको क्षतिमा १२५ रन बनायो।
नेपालका लागि कप्तान इन्दु बर्माले ३०, सम्झना खड्काले २३, पूजा महतोले १८, कविता जोशीले १४ र सीता राना मगरले १० रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेदरल्यान्ड्सका लागि आइरिस विलिङ, क्यारोलिन डिल्याङ र हेदर सिजर्सले दुई-दुई तथा इभा लिन्च र इशावेल वनिङले एक-एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले नौ विकेटको क्षतिमा १४० रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि बबेट डिलेडले ४१, हेदर सिगर्सले २६, फेब मोल्केनबर र रोबिन रिज्केले २१-२१ रन बनाए। अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि सीता राना मगरले पाँच विकेट लिइन्। उनले तीन ओभरमा १२ रन खर्चिइन्। टी-२० अन्तर्राष्ट्रिय खेलमा उनको यो उत्कृष्ट प्रदर्शन हो। यसअघि १६ रन खर्चेर पाँच विकेट लिएकी थिइन्।
त्यस्तै, मनीषा उपाध्यायले दुई, कविता जोशी र इन्दु बर्माले एक-एक विकेट लिए। यो शृंखलामा नेपालले जित हासिल गर्न सकेको छैन।
यो जितसँगै नेदरल्यान्ड्सको ६ अंक भएको छ भने नेपाल अंकविहीन छ। तेस्रो टोली थाइल्यान्डको दुई अंक छ। प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा नेदरल्यान्ड्स र थाइल्यान्डले प्रतिस्पर्धा गर्नेछन्।