चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रबाट एकसिंगे गैंडा स्थानान्तरण
चितवन राष्ट्रिय निकुञ्जले एकसिंगे गैंडाको आन्तरिक स्थानान्तरण शुरू गरेको छ।
निकुञ्जको पश्चिम क्षेत्र नवलपुरबाट एउटा पोथी गैंडालाई पूर्वी क्षेत्रमा लगिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले बताए। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट करीब १५ वर्षको वयस्क पोथी गैंडालाई डार्ट गरेर पूर्वी क्षेत्रमा लगिएको हो।
निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको संख्या बढी भएपछि चार वटा गैंडालाई निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको मगरले जानकारी दिए। २०७९ सालमा गैंडाको आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको थियो।
त्यसका आधारमा निकुञ्जले गत वर्ष ६ वटा गैंडा स्थानान्तरण गरेको थियो। अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैंडा स्थानान्तरण गर्न सुझाव दिएको थियो। थप चार गैंडा स्थानान्तरण गर्न लागिएको उनले बताए।
प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैंडा स्थानान्तरण शुरू गरेको हो। हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेना लगायत जनशक्ति प्रयोग गरेर गैंडा स्थानान्तरण गर्न थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले बताए।
निकुञ्जले दुई वटा भाले र दुई वटा पोथी गैंडा स्थानान्तरण गर्ने तयारी गरेको छ। अब एउटा पोथी र दुई भाले गैंडा स्थानान्तरण गरिने पन्तले बताए। निकुञ्जको नवलपुर क्षेत्रबाट लगिएका गैंडालाई पूर्वी क्षेत्रको खगेन्द्रमल्ली र प्यारीढाप क्षेत्रमा छोडिनेछ।