स्वागत भाषण गरेर मञ्चबाट ओर्लिएका वडाध्यक्षको हृदयाघातबाट मृत्यु
स्वागत भाषण गरेर मञ्चबाट ओर्लिएका ३७ वर्षीय वडाध्यक्षको हृदयाघातबाट ज्यान गएको छ।
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) स्थित कावासोती नगरपालिका-१ का वडाध्यक्ष तवारक अहमद मियाँको शनिबार हृदयाघातबाट मृत्यु भएको हो। शनिबार दिउँसो गैंडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा स्वागत मन्तव्य दिएका थिए।
युवा संघका केन्द्रीय सदस्य मदन गिरीका अनुसार स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका वडाध्यक्ष मियाँ त्यहीं लडेका थिए। उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएको थियो।
अस्पताल पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको गिरीले बताए। चिकित्सकले उनलाई हृदयाघात भएको बताएको गिरीले जानकारी दिए।
राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिव समेत रहेका मियाँ स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्ष निर्वाचित भएका थिए। उनका श्रीमती र चार सन्तान छन्।
यो पनि पढ्नुहोस् : चिसोमा हृदयाघातको जोखिम उच्च, कसरी जोगिने?