नवीकरणीय उर्जा सम्बन्धी कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर
नेपालमा दिगो ऊर्जा मार्फत पुनःप्राप्ति एवं सशक्तिकरण कार्यक्रमको दोस्रो संशोधित कार्यान्वयन सम्झौतामा हस्ताक्षर भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र जर्मन प्राविधिक सहयोग संस्था जीआईजेड नेपालद्वारा सञ्चालित नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम अन्तर्गत सम्झौता भएको हो।
ललितपुरमा आयोजित हस्ताक्षर समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपालका लागि युरोपियन युनियनका प्रतिनिधिमण्डलका प्रमुख जोसे लुइस विनुएसा-सान्तामारिया र काठमाडौंस्थित जर्मन दूतावासका उप-प्रमुख बेन्जामिन साइडल लगायत उच्च अधिकारीको उपस्थिति थियो।
एक वर्षअघि नेपाल र जर्मन सरकारबीच भएको प्राविधिक सहयोग सम्झौतालाई यसले औपचारिकता प्रदान गरेको छ। यस अन्तर्गत थप ६ मिलियन युरो बराबरको वित्तीय सहयोग र तीन वर्षको परियोजना विस्तारको सहमति भएको थियो।