मेयर साम्पाङले प्रमाण मागेपछि महासंघले सार्वजनिक गर्यो मिडिया मिसन प्रतिवेदन
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई)ले हिमालकर्मी गोपाल दाहाललाई दिएको धम्कीका विषयमा अध्ययन गर्न नेपाल पत्रकार महासंघले गठन गरेको मिडिया मिसनले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।
प्रतिवेदनमा मेयर साम्पाङका गतिविधिले पछिल्लो समय धरानको समाज, सञ्चारमाध्यम र प्रशासनिक प्रणालीमा गम्भीर चुनौती उत्पन्न गरेको निष्कर्ष निकालेको छ। महासंघले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा मेयर साम्पाङको विवादास्पद भूमिकाले प्रशासनिक पारदर्शिता, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूलाई गम्भीर रूपमा प्रभाव पारेको उल्लेख छ। प्रतिवेदनमा भनिएको छ, ‘नगर प्रमख साम्पाङले आफ्ना अधिकारलाई दुरुपयोग गर्दै आफूलाई कानूनभन्दा माथि राख्ने प्रवृत्ति प्रदर्शन गरेको पाइएको छ।’
साम्पाङले आफ्नो आलोचना गरेर समाचार लेख्ने पत्रकारहरूलाई लक्षित गर्दै अपशब्द प्रयोग गरेको, धम्कीपूर्ण सामग्री सार्वजनिक गरेको र आफ्ना समर्थकलाई पनि त्यस कामका लागि हौस्याएको पाइएको प्रतिवेदनमा उल्लेख छ। यस्ता धम्कीबाट संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको प्रतिवेदनको निष्कर्ष छ।
साम्पाङले श्रमदानका नाममा गरेका गतिविधि र आर्थिक कारोबारको पारदर्शितामा प्रश्न उठेकाले राज्य संयन्त्रले छानबिन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। ३५ पृष्ठको प्रतिवेदनमा साम्पाङ र उनका समर्थकबाट पीडित बनेका पत्रकार, उनीहरूका परिवार, कर्मचारीका साथै राजनीतिक दल, नागरिक समाज, प्रहरी, प्रशासन लगायतसँग भएका कुराकानी, साम्पाङ र उनका समर्थकले गरेका गालीगलौज र धम्कीपूर्ण फेसबूक स्टेटस र मेसेजका स्क्रीनशट, विभिन्न संस्था र दलले निकालेका विज्ञप्ति लगायत समावेश गरिएको छ।
प्रतिवेदनमा उल्लेख भए अनुसार मिडिया मिसनसँग ईलाका प्रहरी कार्यालय, धरानका डीएसपी प्रकाश जवेगूले धम्कीका विषयमा कुरा गर्दा मेयर साम्पाङले आफू कानूनभन्दा माथि रहेको कुरा गरेको बताएका छन्। त्यस्तै, उपमहानगरका प्रवक्ता मनोज भट्टराईले पनि मेयर साम्पाङले कानून नमानेको बताएका छन् ।
त्यस्तै, नेपाल बार एशोसिएशन, सुनसरीका अध्यक्ष वीरेन्द्र बस्नेतले पत्रकारले जायज विषय उठाएको उल्लेख गर्दै भनेका छन्, ‘श्रमदानका नाममा उठाएको पैसा भ्रष्टाचारमा परिणत हुन सक्ने आधार हुन्छ।’ प्रतिवेदनमा महासंघको मिसन टोलीले पटक पटक अनुरोध गर्दा समेत मेयर साम्पाङले भेट्न नमानेको उल्लेख छ।
गत मंसीर १४ मा हिमालखबरमा ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान’ शीर्षकमा खोजमूलक समाचार प्रकाशन भएको थियो। समाचारको विषयलाई लिएर मेयर साम्पाङले समाचार लेख्ने पत्रकार दाहाल र सामाजिक सञ्जालमा शेयर गर्ने नेपाल पत्रकार महासंघ, सुनसरीका तत्कालीन अध्यक्ष जनकऋषि राईलाई मंसीर १९ मा आफ्नो फेसबूक पेज मार्फत गालीगलौज र धम्की दिएका थिए।
त्यसपछि मंसीर २० मा आफू समर्थक यूट्यूबरहरू भेला गरेर पत्रकार दाहाल र राईलाई गालीगलौज गरेका थिए। आफूले गाली गरेको भिडिओ खिच्न लगाएर फेसबूक, यूट्यूब र टिकटक जस्ता सञ्जालमा मेयर साम्पाङले शेयर गरेका थिए। उनका समर्थकले फेसबूक, मेसेन्जर, ह्वाट्सएप जस्ता माध्यम मार्फत ज्यान मार्नेसम्मका धम्की दिएका थिए।
त्यसपछि पत्रकार महासंघले पुस ९ मा केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समिति अध्यक्ष भरत खड्का र महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेको मिडिया मिसन खटाएको थियो।
मिसनले तयार पारेको प्रतिवेदन गृहमन्त्री रमेश लेखकलाई पनि बुझाएको थियो। महासंघले गृहमन्त्रीलाई भेटेर कारबाहीको माग गरेपछि मेयर साम्पाङले पत्रकारलाई धम्की दिएको प्रमाणित गर्न महासंघलाई उल्टै चुनौती दिएका थिए।