बयालपाटा अस्पताललाई जापानी सहयोग
१६ वर्षदेखि अछाममा निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको बयालपाटा अस्पतालमा जापान सरकारको अनुदान सहयोगमा डिजिटल एक्स-रे र सि-आर्म इमेजिङ मशिन जडान गरिने भएको छ।
जापानी राजदूतावासले नेपालका दुर्गम क्षेत्रको स्वास्थ्य सुधारका लागि सहयोग गर्ने क्रममा अछामको बयालपाटा अस्पताललाई आवश्यक आधुनिक स्वास्थ्य सामग्री खरीदका लागि आर्थिक सहयोग गर्ने भएको हो। शुक्रबार नेपालका लागि जापानका राजदूत मेइडा तोरु र बयालपाटा अस्पताल सञ्चालक न्याय हेल्थ नेपालका अध्यक्ष कुन्द दीक्षितले सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।
ग्रामीण स्वास्थ्य सेवालाई सुधार गर्ने उद्देश्यले १६ वर्षअघि स्थापित न्याय हेल्थ नेपालले हालसम्म १३ लाख बिरामीको निःशुल्क विश्वस्तरीय स्वास्थ्योपचार र विशेष हेरचाह सेवा प्रदान गरिसकेको छ। यस क्षेत्रको स्वास्थ्य समस्या संक्रामक रोगहरूबाट जीवनशैलीमा आएको परिवर्तनले निम्त्याएका दीर्घरोगका साथै ट्राउमा (आघात) लगायतका समस्यामा परिवर्तित हुँदै गएको छ।
“नेपालको दुर्गम क्षेत्रमध्येको एक स्थानमा रहेको बयालपाटा अस्पतालले निःशुल्क स्वास्थ्य उपचार प्रदान गर्दै ग्रामीण क्षेत्रका विपन्न समुदायको स्वास्थ्य सेवाको पहुँचमा उल्लेखनीय काम गरिरहेको छ,” राजदूत तोरुले भने, “अस्पताल अछाम जिल्ला र आसपासका क्षेत्रहरूमा विशेषगरी गम्भीर प्रकृतिका शल्यक्रियाका लागि एक प्रमुख चिकित्सा केन्द्रका रूपमा रहेको छ।”
जापान सरकारको ग्रासरूट ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गत दूतावासले अस्पताललाई ९१ लाख ८२ हजार रुपैयाँको अनुदान सहयोग गर्ने भएको हो। प्राप्त सहयोगले अस्पतालले डिजिटल एक्स-रे मशिन र सि-आर्म इमेजिङ मशिन खरीद गर्नेछ, जसले बिरामीको तत्कालै उच्च गुणस्तरीय एक्स-रे गर्न सकिन्छ। “यस अनुदान सहयोगले बयालपाटामा कार्यरत हाम्रा चिकित्सक तथा शल्य चिकित्सकहरूलाई समयमै रोगको निदान गर्न, प्रभावकारी शल्यक्रिया र उपचार गर्न सहयोग गर्नेछ,” दीक्षितले भने।
गत डेढ दशकमा सुदूरपश्चिम प्रदेशमा देखिने रोगहरूमा परिवर्तन आएको उल्लेख गर्दै दीक्षितले पछिल्ला वर्ष संक्रामक रोगभन्दा दीर्घकालीन र आघातजन्य रोगको प्रभाव बढ्दै गएकाले अस्पतालले परिवर्तित अवस्थासँग जुझ्ने प्रयास गरिरहेको बताए। न्यून स्वास्थ्य सेवा भएका यी क्षेत्रमा स्वास्थ्यमा पहुँच स्थापित गर्नु र स्वास्थ्य सेवालाई सुपथ बनाउनु ठूलो चुनौती रहेको पनि उनले उल्लेख गरे।
न्याय हेल्थ नेपालले बयालपाटा अस्पताललाई एकीकृत पालिकास्तरीय स्वास्थ्य सेवाको खाकामा सञ्चालन गरिरहेको छ। अस्पतालका नर्सहरू घरघरै गएर समुदायका सबै परिवारको स्वास्थ्य जानकारी अद्यावधिक गर्दै संकलित जानकारीलाई इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीमा प्रविष्टि गर्छन्। त्यसो हुँदा बिरामीले आवश्यक पर्दा मात्र बाटो खर्च जोहो गरेर अस्पताल जानुपर्छ।
न्याय हेल्थ नेपालले इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीलाई कर्णाली प्रदेशका जिल्ला अस्पतालमा पनि जडान गरेको छ। जुन प्रणाली २०७२ सालको भूकम्पपछि दोलखाको चरिकोट अस्पताललाई पनि हस्तान्तरण गरिएको छ। चरिकोटको सो अस्पताल पाँच वर्षदेखि बागमती प्रदेश अन्तर्गत सञ्चालित छ।
तीन साताअघि मात्रै आफ्नो कार्यकाल सम्हाल्न नेपाल आएका राजदूत तोरुले यस सहयोगले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जनतामाझ ट्रमा केयर र अर्थोपेडिक सर्जरी मार्फत प्रभावकारी स्वास्थ्य सेवा पुग्ने विश्वास व्यक्त गरे। “अस्पतालमा ट्रमा र आपत्कालीन सेवा लिन बिरामीको चाप बढ्दै जाँदा डिजिटल एक्स-रे जस्ता स्वास्थ्य उपकरणको ठूलो महत्त्व हुन्छ,” दीक्षितले भने, “यसबाट अस्पताललाई प्रभावकारी उपचार सेवा प्रदान गर्न ठूलो सहयोग पुग्नेछ।”