आशिकालाई २० हजार धरौटीमा छोड्न आदेश
आपराधिक उपद्रव गरेको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई जिल्ला अदालत, भक्तपुरले २० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश सन्तोषकुमार पराजुलीको एकल इजलासले शुक्रबार धरौटीमा छोड्न भनेको हो। यसअघि माघ १४ गते काठमाडौं जिल्ला अदालतले उनलाई अभद्र व्यवहारको कसूरमा १० हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो। काठमाडौंमा रिहा भएकी आशिकालाई प्रहरीले हतकडी लगाएर भक्तपुर पुर्याएको थियो।
सामान्य कसूरमा पनि खुंखार अपराधीलाई जस्तो व्यवहार गरेको भन्दै प्रहरीको आलोचना भएको थियो। उनले गत असोजमा भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगाको झोलुंगे पुल तर्दा शुल्क लिएको भन्दै सामाजिक सञ्जालमा भिडिओ हालेकी थिइन्।
केही दिनपछि उनले साथी लगेर शुल्क उठाउन राखिएको बूथ र टिकट जलाएकी थिइन्। यही घटनाबारे प्रहरीमा उजुरी परेको थियो।
सार्वजनिक सेवा प्रवाह गर्ने निकायले प्रभावकारी सेवा नदिएको भन्दै उनले विभिन्न ठाउँ पुगी दबाब दिने गर्दै आएकी छन्।