सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने खेल रोकिएको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबाट संसद् मुक्त भएको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्ताप्राप्तिका लागि चल्ने विद्रूप खेल रोकिएको बताए। “गएको ६ महीनामा हाम्रो संसदीय राजनीतिमा दोहोर्याउनुनपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु,” ओलीले भने, “सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता-पत्ता खेलिरहने विद्रूप स्थितिमा अब रोक लागेको छ।”
जनताको भरोसा र संसद्को दृढताले भरिएको आत्मविश्वास लिएर आफू सदनमा उपस्थित भएको उनको भनाइ थियो। उनले विकास निर्माणमा थालिएका कामले गति लिइरहेको बताए।
मुलुकलाई समृद्ध बनाउन थालिएका विकास निर्माणका काम सम्पन्न गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ थियो। हालै सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ हुनु एक उपलब्धि भएको उल्लेख गर्दै सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दिगो बनाउन सुरुङमार्गको योजना अगाडि बढिरहेको बताए।
उनले काठमाडौं-तराई मधेश द्रुतमार्ग अन्तर्गत मकवानपुरको धोद्रे सुरुङ तथा चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको आयोजना जोगबनी-किमाथांका सडकमार्ग समेत केही दिनअघि मात्रै ‘ब्रेक थ्रू’ भएको अवगत गराए। अहिले बुटवल-नारायणगढ खण्डको सडक निर्माण द्रुतगतिमा अघि बढिरहेको उनको भनाइ थियो।
मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेल मैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लडलाइट जोड्ने निर्णय बमोजिम बोलपत्र आह्वान भएको बताए। प्रधानमन्त्री ओलीले तोकिएको दिनभित्रै क्रिकेट मैदानको काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढिरहेको बताए।