पोखरामा भूमिगत वितरण प्रणाली मार्फत विद्युत् आपूर्ति शुरू
नेपाल विद्युत् प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणाली मार्फत बिजुली वितरण शुरू गरेको छ।
पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ। पहिलो चरणमा पोखराको कुँडहर १३२/११ केभी सबस्टेशनदेखि पश्चिमतर्फ अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मको वितरण लाइन भूमिगत गरी त्यस क्षेत्रका करीब ३०० ग्राहकलाई विद्युत् आपूर्ति दिइएको छ।
मुग्लिन-पोखरा सडक विस्तार आयोजनासँगको समन्वयमा प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गरी जमीनमाथिको लाइन र पोलहरू हटाइएको छ। तार भूमिगत गरिएपछि गुजुल्टिएको तारले बनाएको कुरूपता हटी उक्त क्षेत्र सुन्दर देखिएको प्राधिकरणको दाबी छ।
शुरूआतमा कुँडहर सबस्टेशनसम्मको वितरण प्रणाली मात्र भूमिगत गर्ने व्यवस्था भए पनि पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निक्लनासाथ यात्रुले गुजुल्टिएको तारले कुरूप बनेको शहर देख्न नपरोस् भनी विमानस्थलको मुख्य प्रवेशद्वारसम्म विस्तार गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा महानगरपालिका, सडक कार्यालय लगायत निकायसँग समन्वय गरी लेकसाइडको बाँकी काम तत्काल सम्पन्न गरी भूमिगत प्रणाली मार्फत विद्युत् आपूर्ति दिन मातहतका कार्यालयलाई निर्देशन दिएका छन्।
पोखरा वितरण केन्द्र अन्तर्गत पर्ने पोखराको मुख्य शहर तथा सडकमा रहेका ११ केभी एवम् ४०० भोल्ट लाइनलाई भूमिगत गर्ने र उक्त क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ। हालसम्म पोखरा क्षेत्रको समग्र निर्माण प्रगति ५४ प्रतिशत रहेको आयोजना प्रमुख आनन्द सुवेदीले बताए। लेकसाइडस्थित अधिकांश क्षेत्रमा काम सम्पन्न भएकाले अब त्यहाँ पनि छिटै भूमिगत प्रणाली मार्फत विद्युत् आपूर्ति दिइने प्रमुख सुवेदीले जानकारी दिए।
विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने भएकाले इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवाप्रदायकले अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन्। हाल भइरहेको जमीनमाथिको वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र शहरलाई कुरूप बनाइरहेको तारको जालो हटेर शहरी सौन्दर्य कायम राख्न सहयोग पुग्नेछ।
हावाहुरी, पानी, चट्याङ इत्यादिको कारणले विद्युत् प्रणालीमा अवरोध नहुने हुँदा भूमिगत वितरण प्रणालीबाट प्रदान गरिने विद्युत् भरपर्दो, गुणस्तरीय र सुरक्षित भएकाले विद्युतीय दुर्घटनाबाट हुनसक्ने जनधनको क्षति पनि न्यून हुनेछ।
प्राधिकरणको लगानी र एशियाली विकास ब्यांकको सहुलियतपूर्ण ऋणमा पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना शुरू भएको हो। आयोजनाको निर्माणका लागि असोज २०७८ मा टाटा प्रोजेक्ट लिमिटेड भारतसँग एक करोड ६७ लाख अमेरिकी डलर र ४९ करोड ६८ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। पोखरा क्षेत्रको काम आगामी साउनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।