जंगबहादुरका पुर्खा रामकृष्णको ओझेल परेको सुवांगी
विसं १८४२ मा विजयपुरमा सुब्बाका रूपमा खटिएका रामकृष्णलाई ‘कुँवर राणाजीहरूको बृहत् वंशावली’ मा त्यति वेला पश्चिमतर्फको राज्यविस्तार अभियानमा खटिएको भनी लेखिनुले उनको सुवांगीबारे उनकै सन्ततिलाई थाहा नभएको देखिन्छ।
जंगबहादुर राणाका पुर्खा अहिराम कुँवरका तीन छोरा थिए। तीनै जना पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा सक्रियतापूर्वक सहभागी थिए। जेठा रामकृष्ण कुँवर सबैजसो मुख्य मोर्चामा रहेर लडेका थिए। अर्का छोरा जयकृष्ण र उनका छोरा-नातिले पनि योद्धाका रूपमा नाम कमाए। तेस्रा छोरा अमरसिंहले भने तिमालको युद्धमा ज्यान गुमाए।
जंगबहादुरका जिजुबुबा हुन्, रामकृष्ण। माझकिरात आक्रमणको तयारी गर्दा पृथ्वीनारायणले लेखेको पत्रमा कालु पाँडेपछि उनी आफ्नो भरपर्दाे भारदार रहेको जनाएका छन्। महेश सी. रेग्मीले रेग्मी रिसर्च सिरिजमा प्रकाशन गरेको पत्रमा पृथ्वीनारायणले रामकृष्णलाई ‘कीर्तिपुरमा कालु पाँडे मारिदा म दुःखी भएँ। मलाई नेपालको तीन शहर जित्न सक्दिनँ कि भन्ने लागेको थियो। तर तिम्रो बुद्धिमानी र तरबारले त्यो काम फत्ते भयो। अब किरात जित्न तिम्रै भर परेको छु’ भनेका छन् (वर्ष ४ अंक ५, मे, १९७२ः९४-९५)।
रामकृष्णलाई उनका सन्ततिले गौरवका रूपमा लिने गरेका छन्। जंगबहादुरका छोरा पद्मजंगले बुबाको जीवनी लेख्ने क्रममा ‘यो पुस्तक प्रकाशनको प्रयोजनका लागि यसै युगका हाम्रा बहादुर नायक (जंगबहादुर)का जिजुबुबा (रामकृष्ण)को इतिहासभन्दा पर जान आवश्यक नपर्ने’ उल्लेख गरेका छन् (जंगबहादुरको जीवनयात्रा (२०७४ः१)।
रामकृष्णका पुर्खा रामसिंह सौतेनी भाइहरूसँग झगडा परेपछि राज्य त्याग गरी सहोदर दुइ भाइ गणेशसिंह र अजीतसिंहका साथ भारतवर्षबाट हालको नेपालको पश्चिमी भेग कर्सङ प्रवेश गरेका थिए। त्यहाँ पुगेको केही समयपछि जुम्लाका राजाको सेवामा लागेका थिए। पछि परिवारलाई त्यहीं राखी पुर्ख्यौली थलो चितौढ जाँदा त्यहीं मृत्यु भएको, त्यसपछि उनका छोरा रतनजित कुँवरले जुम्ला राज्यमा सैन्य सेवा गरेको ‘कुँवर राणाजीहरूको बृहत् वंशावली’ (२०५६ः१)मा लेखिएको छ। उक्त वंशावली अनुसार पछि रतनजितका छोरा अहिरामलाई कास्कीका राजा सिद्धिनारायण शाहले आमन्त्रण गरे। तर छोरीको विवाहको विधिबारे राजासँग कुरा नमिल्दा उनी बाध्यतावश कास्की छाडी गोरखा राज्य आइपुगे।
गोरखाका तत्कालीन राजा नरभूपाल शाहले उनलाई कुँवर खोलाको एउटा गाउँ बिर्ता दिएका थिए। त्यहीं उनका जेठा छोरा रामकृष्णले १४ वर्षको उमेरदेखि सैन्य सेवा शुरू गरे। उक्त वंशावली (२०५६ः११) अनुसार रामकृष्णको जन्म विसं १७६८ मा भएको हो। यसबाट उनले पृथ्वीनारायणका पिता नरभूपालको समयदेखि नै गोरखा राज्यमा सैन्य सेवा गरेको बुझिन्छ।
जेठा बूढाबाट सरदार
विसं १८०१ मा गोरखाले नुवाकोट आक्रमण गर्दा रामकृष्ण पनि सहभागी थिए। प्राचीन नेपाल संख्या २१ (कात्तिक २०२९ः२६-२७)मा पृथ्वीनारायण शाहसँग नेपाल हान्न जाने मुख्य भारदारमा जेठा बुढा रामकृष्ण कुँवर पनि रहेको उल्लेख छ। त्यस वेला नुवाकोट नेपाल अर्थात् कान्तिपुर राज्यको अधीन थियो।
‘कुँवर राणाजीहरूको बृहत् वंशावली’ (२०५६ः११)मा लेखिए अनुसार पहिले अहिराम कुँवरलाई ‘जेठा बूढा’ पद दिइएकामा पछि त्यही पद रामकृष्णलाई दिइएको अनुमान गरिएको छ। रामकृष्ण पृथ्वीनारायणभन्दा ११ वर्ष जेठा थिए।
गोरखालीले कान्तिपुर कब्जा गरेको भोलिपल्ट अर्थात् विसं १८२५ असोज १३ मा भने पृथ्वीनारायणले रामकृष्णलाई सरदार पद दिए। सोही दिन अर्का योद्धा अमरसिंह थापाले पनि उक्त पद पाएका थिए (बाबुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी -२०६१ः३५१)।
रामकृष्णले नुवाकोट, कान्तिपुर, तिमाल, मकवानपुर, सिन्धुलीगढी, पलाञ्चोक, कीर्तिपुर, भादगाउँ, ललितपुरका साथै माझकिरात र लिम्बूवानसम्म पुगेर गोरखा राज्यविस्तारमा योगदान गरे। उनी विजयपुरबाट अभिमानसिंह बस्न्यातका साथ आएर सुमेश्वर (चितवन)को युद्धमा सहभागी भएका थिए। विसं १८३३ साउन २६ गते गोरखालीले तनहुँ राज्यबाट जोगीमारा, कविलासपुर र सुमेश्वर कब्जा गरिसकेपछि ती ठाउँको सुरक्षाका लागि केही नेपाली सैनिकका साथ रामकृष्ण कुँवर उपरदाङगढीमा बसेका थिए (बाबुराम आचार्य, श्री ५ प्रतापसिंह शाह -२०६०ः११८-१९)।
विसं १८३६ मा रानी राजेन्द्रलक्ष्मीको नायबीकालमा रामकृष्ण पश्चिमको अभियानमा सक्रिय भए। राजकुमार बहादुर शाहको नायबीकालमा विसं १८४२ मा पनि उनी पश्चिमतिरकै राज्यविस्तार अभियानमा सक्रिय भएको, विसं १८४३ मा प्यूठानमा म्यागेजिन खडा गरेको र विसं १८४४ मा उनको देहान्त भएको ‘कुँवर राणाजीहरूको बृहत् वंशावली’ (२०५६ः१२-१३)मा लेखिएको छ। तर रामकृष्णका पनाति धीरशमशेरका छोरा देवशमशेरतिरका सन्तति हिमालयशमशेरको परियोजना प्रबन्धमा प्रकाशित उक्त वंशावलीमा लेखिए जस्तो रामकृष्ण विसं १८४२ मा पश्चिमतिरको अभियानमा नभई पूर्वी नेपालको विजयपुरमा थिए। यसबारे उनकै सन्ततिहरूलाई थाहा नभएको वंशावलीले देखाउँछ।
विजयपुरको सुवांगी
गोरखा राज्यविस्तार अभियानका क्रममा अमरसिंह थापालाई नायब गराएर पहाडी खण्डतिरबाट लिम्बुवानसम्म पुगेका रामकृष्ण कुँवर विसं १८२९ देखि १८३३ सम्म पूर्वतिरै सक्रिय थिए। त्यसपछि सुमेश्वर (चितवन)को युद्धमा खटिए। विसं १८३६ मा पश्चिमको अभियानमा लागे। विसं १८४२ मा भने फेरि विजयपुर फर्केर प्रशासनिक काम सम्हालेका थिए। यो जिम्मेवारीमा उनको पद सुब्बा रहेको देखाउने चार वटा ऐतिहासिक पत्र उपलब्ध छन्।
रामकृष्णले त्यहाँ अर्का सुब्बा धनसिंह खड्कासँग मिलेर प्रशासनिक जिम्मेवारी निर्वाह गरेका थिए। उनीहरूले विसं १८४२ भदौ वदी १ रोज १ (१८४२ भदौ ९ गते आइतबार)मा धनकुटाको लेगुवास्थित नागेश्वर मठका गोसाई मेहर गिरीलाई विजयपुर मुकामबाट जारी गरेको एउटै मितिका तीन पत्र अहिले पनि नागेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष दुर्गाबहादुर पुरीसँग सुरक्षित छन्।
तीमध्ये एउटा पत्रमा गुठीका लागि अजा गाउँ चढाइएको उल्लेख छ। अर्कोमा गोसाईको सेवा-टहलका लागि एक जना कमारा दिइएको उल्लेख छ भने तेस्रोमा गोसाईलाई दिइएका नगद तथा जिन्सी सामग्रीको विवरण छ। सात वटा गाई-बाच्छा, एउटा नगरा, एउटा भेरी, १२० मुरी धान उठ्ती र अजाको मूल गाउँ चढाइएको जनाइएको छ। यी तीन पत्र इतिहासकार भगिराज इङ्नामको नवीनतम कृति लिम्बूवानका अभिलेख संग्रह (२०८१ः२९१-९५)मा प्रकाशित छन्।
सुब्बाद्वय रामकृष्ण र धनसिंहले जारी गरेको अर्को एक पत्र इतिहासकार ज्ञानमणि नेपालले नेपाल निरुक्त (२०७४ः२९७)मा समेटेका छन्। विसं १८४२ वैशाख सुदी १ को उक्त पत्रमा विजयपुर मुकामबाट चौधरी प्रर्दुमनलाई परिहारपुरमा दिइएको मौजामा रहेका रैतीलाई जथाभावी दण्ड जरिवाना नगर्न आदेश दिइएको छ। यो पत्र स्थानीय प्रचलन अनुसारको हिन्दी भाषामा लेखिएको छ।
त्यस वेला विजयपुरमा प्रशासन चलाउन दुई जना सुब्बा रहने व्यवस्था थियो (नेपाल, २०७४ः२८१)। सोही अनुसार धनसिंह र रामकृष्णलाई संयुक्त सुवांगी प्रदान गरिएको बुझिन्छ। रामकृष्णले विजयपुर बसेर कति समय प्रशासन चलाए भन्ने स्पष्ट छैन, तर उनले त्यहाँबाट जारी गरेका विसं १८४२ वैशाखदेखि भदौसम्मका पत्र पाइएका छन्। अर्का सुब्बा धनसिंह पनि पृथ्वीनारायणकालीन भारदार हुन्। पृथ्वीनारायणको देहान्तपछि छोरा-नातिको शासनकालमा पनि यी दुई भारदार सक्रिय थिए। पुराना पत्रमा धनसिंहको नाम धन्या खड्का लेखिएको पाइन्छ।
आचार्य (२०६१ः३६३-६४)ले प्रकाशन गरेको, पश्चिमको काजमा खटिएका भारदार देवु रानालाई पृथ्वीनारायणले विसं १८२४ माघ वदी १४ सोमबार (माघ ८ गते) लेखेको पत्रमा उनलाई अभिमानसिंह बस्न्यातसँग लाखाजुङमा खटाइएको देखिन्छ। यस्तै, विसं १८३० मंसीर वदी ३ रोज ३ (कात्तिक २० गते मंगलबार)मा पृथ्वीनारायणले गंगाधर पन्थसँगै धन्या खड्कालाई लेखेको पत्रमा उनलाई मान्या गौडा, बोहरा गाउँ तथा लुभुतिर ठाना हाल्न आदेश दिइएको छ (योगी नरहरिनाथ, इतिहास प्रकाशमा सन्धिपत्र संग्रह भाग १ -२०५५ः५)।
धनसिंहलाई धन्या भनिएको अर्को प्रमाण हो, भागवत नरसिंह प्रधानको संकलनमा रहेको अर्को एक पत्र। प्रधानले यस लेखकलाई उपलब्ध गराएको विसं १८४४ फागुन वदी ६ रोज ४ मा पुरण आलेका नाममा जारी लिम्बुवानका लिम्बूहरूको सुवांगी विषयक मोहरमा पहिले धन्या खड्का र रामकृष्ण कुँवर विजयपुरमा सँगै काम गरेको उल्लेख छ।