मैले न्यायाधीश वा अदालत विरुद्ध अवहेलनाजनक क्रियाकलाप गरेको छैन : दिनेश त्रिपाठी
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफूले कुनै न्यायाधीश वा अदालत विरुद्ध अवहेलनाजनक क्रियाकलाप नगरेको बताएका छन्।
वरिष्ठ अधिवक्ता त्रिपाठीले बिहीबार प्रेस नोट जारी गर्दै आफू न्यायालयकै गरिमाका लागि लडिरहेको उल्लेख गरेका छन्। त्रिपाठीले भनेका छन्, ‘मैले कुनै न्यायाधीश वा अदालत विरुद्ध कुनै देवानी वा फौजदारी अवहेलनाजनक क्रियाकलाप गरे/गराएको छैन। यस्तो कुकर्म त त्यसबाट भएको छ, जसले न्यायिक कर्तव्य पालनाको प्रक्रियामा रहेको निहत्था कानून व्यवसायीमाथि हिंसाको प्रयोग गरेको छ।’
सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध जिल्ला अदालत, काठमाडौंमा दर्ता भएको मुद्दामा पीडितका तर्फबाट त्रिपाठीले बहस गरेका थिए। माघ २ गते बहस सकेर निस्किँदै गर्दा अदालत बाहिर त्रिपाठीमाथि हातपात भएको थियो।
त्यसैलाई लिएर उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए। ‘शारीरिक पीड़ा खेपिरहेको अवस्थामा मैले पक्षलाई प्रतिनिधित्व गर्ने कानून व्यवसायीमाथिको आक्रमण भनेको न्यायिक प्रक्रियालाई मात्रै अवरुद्ध गर्ने कुप्रयास मात्र नभई अदालतमाथिको आक्रमण हो। यस्तो स्थितिमा बेल दिन अस्वीकार गरिन्छ भन्ने कानूनको स्थापित सिद्धान्तको सम्बन्धमा अन्तर्वार्तामा उल्लेख गरेको हुँ,’ त्रिपाठीले भनेका छन्, ‘न्यायिक प्रक्रियालाई अवरुद्ध गर्ने कार्य आफैंमा अपराध हुनुका साथै तारेख वा धरौटी अस्वीकार गर्ने यो एउटा आधारभूत तत्त्व हो। मेरो अन्तर्वार्तामा मैले तारेख वा धरौटी विधिशास्त्रबारे प्रकाश पारेको हुँ।’
उनको अन्तर्वार्तालाई लिएर अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ। यसलाई लिएर माघ १० गते न्यायाधीश समाजले प्रेस विज्ञप्ति जारी गरेर विरोध जनाएको थियो। न्यायाधीश समाजको विज्ञप्तिलाई लिएर वरिष्ठ अधिवक्ता त्रिपाठीले न्याय पाउनेमा आशंका जनाएका छन्।
आफू विरुद्ध अवहेलनामा मुद्दा चलिरहेको वेला बहालवाला न्यायाधीशले विज्ञप्ति जारी गरेर धारणा सार्वजनिक गरिसकेको त्रिपाठीले उल्लेख गरेका छन्। न्यायाधीशले नै धारणा सार्वजनिक गरिसकेपछि अब आफू विरुद्धको मुद्दामा निष्पक्ष सुनुवाइ हुनेमा आशंका जनाएका छन्।
त्रिपाठीले भनेका छन्, ‘न्यायाधीश समाजद्वारा मेरो अभिव्यक्तिप्रति खेद प्रकट गरी आफ्नो स्पष्ट सोच सार्वजनिक भइसकेको अवस्थामा म विरुद्धको अवहेलना मुद्दाको सुनुवाइ प्रक्रिया केकसरी अघि बढ्ने हो? के न्यायाधीशज्यूहरूले विवादका विषयहरूमा इजलास बाहिर सार्वजनिक ठहर गर्न पाइन्छ? माननीय न्यायाधीशज्यूहरूको अवधारणा अगावै सार्वजनिक भइसकेको स्थितिमा मेरो निष्पक्ष सुनुवाइको हक कसरी सुनिश्चित हुने हो? दुनियाँको न्यायका लागि अदालत धाउँदै गरेको मैले आफ्ना लागि निष्पक्ष सुनुवाइको अपेक्षा कसरी नगरूँ?’
उनले आफू विरुद्धको अदालतको अवहेलना मुद्दाबारे ‘फुल कोर्ट’ मा गहन छलफल हुनुपर्ने माग गरेका छन्। यससँगै न्यायालय बाहिर पनि यस विषयमा विमर्श हुनुपर्ने माग गरेका छन्।