कसका लागि लडेकी रहिछन् आशिका तामाङ?
सामाजिक सञ्जालको भीड यस्तो छ, जसले मान्छेलाई एक रातमै हिरोदेखि जिरो बनाइदिन्छ। हिजो आशिका तामाङ जसका लागि जागिन् र कराइन्, उनी पक्राउ परेपछि यस विरुद्ध उनीहरू अगाडि आएका छैनन्।
विभिन्न क्षेत्रका बेथिति र मनमानी विरुद्ध आशिका तामाङ औंला उठाउँथिन्। प्रश्न गर्थिन्। चर्को स्वरमा कुर्लन्थिन्। उनको खरो बोलीले सामाजिक सञ्जाल तरंगित बन्थ्यो। त्यसमा सञ्जाल प्रयोगकर्ताले पनि साथसमर्थन दिंदै प्रतिक्रिया लेख्थे। अभद्र व्यवहार मुद्दामा माघ २ गते उनी पक्राउ परेपछि सामाजिक सञ्जाल शान्त छ। एउटा मुद्दामा हिरासतमा रहेकी उनी माघ १४ मा धरौटीमा रिहा भए पनि सोही दिन अर्को कसूरमा पक्राउ परिन्।
सामाजिक सञ्जालमा आशिकाको अभियन्ता-हाँक सेलाएपछि देशको अकर्मण्य प्रणाली र नेताहरूप्रति सञ्जाल प्रयोगकर्ताको चर्को गाली देखिंदैन। अभियन्ताका रूपमा आशिका जहाँ जान्थिन्, केही यूट्यूबर र समर्थक उनीसँगै पुग्थे। उनी हिरासतमा रहँदा अहिले ती यूट्यूबरलाई हाइसन्चो छ। उनका लागि बोलिदिने न यूट्यूबर छन् न त उनका क्रियाकलापमा प्रतिक्रिया दिएर उचाल्ने मानिस साथमा छन्। जसका लागि उनी जागिन् र कराइन्, उनको पक्राउ विरुद्ध उनीहरू अगाडि आएका छैनन्। यसले उनी कसका लागि लडेकी रहिछन् भन्ने प्रश्न उब्जाएको छ। दुई बच्चाकी आमा उनी हिरासतभित्र पुगेपछि ठूलो भ्रमबाट बाहिर आएकी छन्। शायद त्यही भएर उनले प्रहरीसँग पटक पटक माफी पनि मागिसकेकी छन्। तर उनलाई सबक सिकाउन झैं हिरासत बसाइ लम्बिरहेको छ।
सामाजिक सञ्जालमा लेखिएका शब्दबाट उक्सिएर फिल्डमा आवेग सहित उत्रिनु, आक्रोशित हुनु ठूलो कुरा होइन रहेछ। सामाजिक सञ्जालको भीड यस्तो छ, जसले मान्छेलाई एक रातमै हिरोदेखि जिरो बनाइदिन्छ। हामीले धेरै उदाहरण देखिसकेका छौं। अहिले जन्म होस् या मृत्यु, अभियान होस् या आन्दोलन, मान्छेबाट आउने साथ र आडभरोसा सामाजिक सञ्जालको शब्दमै सीमित हुन्छ। कोही कसैका लागि हुँदैन। अब आशिका जेलबाट निस्केपछि शायद राजनीतिक दलले बोलाउनेछन्। नत्र उनी पहिले बस्दै आएको जर्मनी नै फर्किनेछिन्।
जनता लुटिएको र ठगिएको विरुद्ध आशिका चिच्याइन्। कतिपय अवस्थामा उनको तरीका ठीक भएन। तर उनले जनताको सहजता, सुविधाको पक्षमा बोलिन्। यो देशमा जनता लुटिएको भन्दा दलाल, ठग, नेता र तिनका आसेपासे ठगिएको मात्रै सुन्ने सिस्टम बसेको छ। अवस्था कस्तो छ भने, बसमा हिंड्दा या एक छाक खानामा ठगिंदा बोल्ने मानिस कुटिन्छ। पार्किङमा चर्को मूल्य असुल्ने विरुद्ध सौहार्दपूर्वक बोल्ने मानिसले गाली खान्छ।
विमानस्थलमा खाडीबाट फर्कंदै गरेको छोरा वा श्रीमान् लिन जाने मानिस बस्ने ठाउँ खोज्दा गाली खान्छ। हरेक दिन जनता दैनिक उपभोग्य सामान किन्दा ठगिन्छन्। चर्को मूल्य असुल गरेको विरोध गर्दा उल्टै ‘किन्ने इच्छा छ भने लैजाऊ, नत्र जाऊ’ भनको सुनिन्छ। बाटोमा पिसाब लागेर शौचालय छिर्दा १० रुपैयाँ तिर्नुपर्छ। कहिले पैसा नहुँदा र धेरै ठाउँमा शौचालय नै नहुँदा बटुवाले बाटामै पिसाब फेर्छ।
आशिका सरसफाइ अभियान भनेर हिंडिरहेकी थिइन्। पहिले उनीसँग उनको मोबाइलबाट भिडिओ र तस्वीर खिच्ने एक जना भाइ मात्रै थिए। अभियानका क्रममा जब उनले चर्को स्वर बनाइन्, उनी सामाजिक सञ्जालमा भाइरल हुन थालिन्। सामाजिक सञ्जालमा कि भावना र आँसु बिक्छ कि चर्को स्वर बिक्छ।
उनी भाइरल हुन थालेपछि उनको पछाडि क्यामेरा बोकेर कुद्नेहरूको भीड बढ्न थाल्यो। त्यसपछि उनीसँगै क्यामेराको फ्रेममा महिला थपिए। पुलमुनि पिसाब फेर्दै गरेको मानिसलाई आशिकाले रोकेपछि उनको जस्तै हुलिया बनाएर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनलाई ‘ट्रोल’ पनि गरे।
यो त्यही सामाजिक सञ्जाल हो, जसले आशिकालाई अझै उग्र र अराजक बन्न उक्सायो। सबै मानिस आफूले भोगेको समस्याबारे बोल्न सक्दैनन्। त्यसैले उनलाई फोन गरेर, सामाजिक सञ्जालमा प्रतिक्रिया दिएर, इनबक्समा मेसेज गरेर समस्यामा बोलिदिन आग्रह गरे।
आशिकाले सरकारलाई सुनाउन त चर्को स्वरमै कराउनुपर्छ भन्ने संस्कार पछ्याएको देखिन्छ। हुन पनि सरकारलाई आफ्ना कुरा सुनाउन चिच्याउनै पर्ने, झन्डा बोकेर जुलूस निकाल्नुपर्ने, माइतीघर मण्डलमा धर्ना दिनुपर्ने र काठमाडौं जाम गर्नुपर्ने संस्कार नै बसिसकेको छ। नचिच्याउँदासम्म केही हुँदैन भन्ने संस्कार त हाम्रा नेताले नै बसालेका हुन् क्यारे। चिनी मिललाई बेचेको उखुको भुक्तानी नपाएका किसान, मिटरब्याजबाट पीडित सर्वसाधारण आफ्नो समस्या सरकारलाई सुनाउन हुल बाँधेर संघीय राजधानी शहर आएकै हुन्।
सामाजिक सञ्जालमा के बिक्छ, यो जगजाहेर छ। केही मिडिया र यूट्यूबरले नै यो प्रवृत्ति स्थापित गरेका हुन्। कार्यक्रम सञ्चालक घोक्रो सुक्ने गरी चिच्याई चिच्याई बोल्दा ताली बजाउनेहरू आज गाली गर्छन्। सरकारले त सडकमा चिच्याउनेलाई मात्रै समात्ने हो। शायद आशिकाले पशुपति क्षेत्र विकासका कर्मचारी निकालेको विषयमा प्रहरीसँग विवाद नगरेकी भए उनी पक्राउ पर्दिनथिन् होला। प्रहरीसँगको विवाद त निहुँ मात्रै हो। आशिका समस्यामा पर्न सक्ने विषय त्रिभुवन विमानस्थलमै शुरू भइसकेको थियो। विदेशबाट आउने व्यक्तिलाई पर्खिन आफन्त बस्ने ठाउँमा नन-एसी र एसीमा ५० र १०० रुपैयाँ तोकिएको कुरामा उनले विरोध गरेकी थिइन्।
आशिका सामाजिक सञ्जालमा यूट्यूबर बटुल्दै कराइरहेकी थिइन्। जर्मनीबाट नेपाल आएपछि उनको उग्रता अझै बढ्यो। उनलाई उचाल्नेको संख्या पनि बढिरहेको थियो। कसैले पनि उनलाई ‘धेरै उग्र नहुनुस्’ भनेर सम्झाएन।
आशिका पक्राउ प्रकरणमा हाम्रो नेपालमा चरितार्थ भइरहेको ‘ठूलालाई चैन, सानालाई ऐन’ उखान झनै प्रस्ट देखियो। उनलाई एउटा मुद्दामा हिरासतमुक्त गरेर भक्तपुर लैजाने क्रममा हतकडी लगाइएको देख्दा लाग्यो, मानौं उनले मान्छे मारेकी हुन्, बलात्कारीलाई सघाएकी हुन् वा जनताले बचत गरेको पैसा ठगेर मोजमस्ती गरेकी हुन्।
अब त सरकारमा रहेका मानिस, नेता, कर्मचारीले कुनै चिन्ता नगरे भयो। आफूले गरेका भ्रष्टाचार, गलत काम, गडबडीबारे कसैले सामाजिक सञ्जालमा औंला उठाउला, टिप्पणी गर्ला भन्ने तनाव भएन। किनभने सामाजिक सञ्जालको दुरुपयोग रोक्न र प्लेटफर्मलाई नियमन गर्न भन्दै सरकारले कडा सजायको प्रस्ताव गरिएको विधेयक संसद्मा दर्ता भएको छ। सामाजिक सञ्जालको दुरुपयोग रोक्ने नाममा खासमा सरकारले विधेयक मार्फत अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको छ। राजनीतिक बेथिति र तिनका कर्ता नेताहरूको आलोचना गर्नेको मुख थुन्ने उद्देश्य राखेको छ। विभिन्न बहानामा सञ्चारगृहहरूलाई तर्साउन खोजिएको छ। र मुख्य कुरा, राम्रो या नराम्रो भन्ने तपाईंको अधिकार खोसिंदै छ।
सामाजिक सञ्जाललाई नियमन गर्न विफल भएको सरकार सबैलाई एउटै घानमा हालेमा समस्या चैट् हुने सोचमा देखिन्छ। तर सुशासन र सेवासुविधाको अपेक्षा गर्दा निराशा मात्र भोग्न विवश नागरिकलाई विधेयकको डोकोले छोपेर असन्तुष्टि रोकिनेछैन। यो झनै चर्को भएर जानेछ।
यो पनि पढ्नुहोस् : राज्यले जन्माएको ‘आशिका प्रवृत्ति’