जहाँ मान्छेसँग रमाउँछन् गिद्ध
गिद्ध संरक्षणमा लाग्दा अनेक लाञ्छना र अवगाल सहेका कालिका सामुदायिक वनका उपभोक्ता अहिले भने देश तथा विदेशबाट पुरस्कार र सम्मान थापिरहेका छन्।
देशभरका सामुदायिक वन जस्तै दाङको राप्ती गाउँपालिका-३, लालमटिहास्थित कालिका सामुदायिक वन उपभोक्ता समितिको पनि मुख्य आम्दानीको स्रोत काठ र दाउराको बिक्री थियो। कुन कुन रूख काट्ने भनेर २०६४ सालको एक दिन उपभोक्ता समितिका सदस्य चिह्न लगाउन सामुदायिक वनमा गए। चिह्न लगाउँदै गर्दा पाँच-सात वटा रूखमा गिद्धका गुँड देखे।
उनीहरू दोधारमा परे, गिद्धका गुँड भएका रूख काट्ने कि नकाट्ने! “अरू रूख काट्न टाँचा लगाए पनि गिद्धका गुँड जोगाउनुपर्छ भन्ने सोच्यौं,” वनका कोषाध्यक्ष यामबहादुर रोका मगर भन्छन्। त्यसको कारण थियो, वन चहार्दा समितिका सदस्यहरूले पनि पहिला जस्तो बग्रेल्ती गिद्ध देखिरहेका थिएनन्।
अर्को, कालिका वन क्षेत्र गिद्धको वासस्थान भन्ने सुनेका थिए। कतिपय तालीम र गोष्ठीमा पनि गिद्धको अवस्था र महत्त्वबारे जानकारी पाएका थिए। त्यसले पनि उनीहरूलाई गिद्ध जोगाउनुपर्छ भन्ने महसूस गराएको कोषाध्यक्ष मगर सुनाउँछन्।
वनबाट फर्केपछि उनीहरूले गिद्धका गुँड देखिएको समन्वय समितिलाई पनि जानकारी गराए। समितिमा छलफल हुँदा गुँड जोगाउनुपर्ने सहमति बन्यो। त्यसका लागि उपसमिति गठन भयो। तर जोगाउने कसरी?
गिद्धको वासस्थानमा कुनै व्यवधान हुन नदिन र स्वस्थ आहाराको व्यवस्था गर्न वृद्ध गाईलाई राख्ने योजना बन्यो। त्यस अन्तर्गत कटेरो बनाइए। “कटेरोमा पालेका गाई प्राकृतिक रूपमै मरेपछि गिद्धलाई आहारा हुने भयो,” कालिका वनका अध्यक्ष जोरमान मियाँ भन्छन्।
विज्ञ तथा सरोकारवालासँग सहकार्य गर्दै कटेरोलाई ‘पशु वृद्धाश्रम र गिद्ध संरक्षण केन्द्र’ नामकरण गरियो। त्यसको १८ वर्षमा आज कालिका सामुदायिक वन गिद्धको राम्रो वासस्थान बनेको छ। “हामीले काम थाल्दा सात वटा गिद्ध देखेका थियौं, अहिले त्यही क्षेत्रमा ३५० वटासम्म गिद्ध देखिएका छन्,” अध्यक्ष मियाँ भन्छन्।
गिद्ध संरक्षणमा गरेको महत्त्वपूर्ण कार्यले कालिका वन संरक्षणका क्षेत्रमा उदाहरणीय बनेको छ। कैयौं सम्मान र पुरस्कार पाएको छ। एउटा सफल वनका रूपमा दरिएको छ। यो सफलता सजिलै प्राप्त भएको भने होइन। त्यसका लागि वन समितिका सदस्यले धेरै सास्ती पनि खेपेको बताउँछन्।
जब गिद्ध धुरीमा बस्यो
वन समितिले संरक्षणलाई प्रभावकारी बनाउन नयाँ पुस्तालाई यसबारे ज्ञान दिंदै आएको छ। विद्यालयमा आधा घण्टाको सचेतना कक्षा लिने गरिएको छ। यस्ता कार्यक्रमले दीर्घकालमा राम्रो परिणाम ल्याउँछन् नै, कहिलेकाहीं तत्कालै राम्रो प्रतिफल पनि दिन्छन्।
जस्तो केही समयअघि राप्ती तरेर पढ्न आउने विद्यार्थीले राप्तीको छालमा गिद्ध फसिरहेको देखे। उनीहरूले समितिका सदस्यलाई खबर गरे। तुरुन्तै गिद्धलाई उद्धार गरेर ल्याइयो। भेटेरिनेरियन बोलाएर जँचाइयो। केही सातामा त्यो पोथी डंगर निको भयो, उड्न सक्ने बन्यो।
केही समय संरक्षण केन्द्र आसपास बस्यो। आहारा र वास पाउँदा त वरिपरि नै रमायो। मान्छेसँगै नजिकिन थाल्यो। “मरेका गाई लग्दा पनि त्यो मान्छेसँग नडराई आएर थपक्कै बस्ने गर्यो,” मियाँ सुनाउँछन्, “मासु फालिदिएपछि अघाउन्जेल खाने अनि उडेर जाने गर्न थाल्यो।”
मान्छेसँग नजिकिएको त्यो गिद्ध एकदिन गाउँलेको घरको धुरीमा बसिदिएछ। गिद्धले ‘घर अशुद्ध बनायो, अब होम गर्नुपर्छ’ भन्दै लाठोमुंग्रो लिएर गाउँलेहरू केन्द्र घेर्न आए। गिद्ध पालेर गाउँटोल अशुद्ध बनाएको उनीहरूको बुझाइ थियो। धुरीमा गिद्ध बस्दैमा घरमा होम गर्नु पर्दैन, यो त संरक्षण गर्नुपर्ने प्राणी हो भनेर सम्झाइबुझाइ गरेपछि गाउँलेहरू शान्त भएको सदस्यहरू सुनाउँछन्।
फेरि पनि त्यस्तै समस्या आउन सक्ने ठानेर वनका सदस्यहरूले त्यो गिद्धलाई जंगलमा लगेर छोडिदिए। तैपनि घुम्दैफिर्दै केन्द्रमै आइपुग्थ्यो। “त्यो त जंगलका अरू गिद्धसँग रत्तिएन, बरु हामीसँग रत्तियो,” मियाँ भन्छन्।
धेरैपछि त्यो गिद्धले जोडी पायो। पोथी डंगरसँग जोडी बनेपछि भने जंगलमै रमाएको वनका सदस्य बताउँछन्। त्यसपछि भने गाउँघरतिर आउन छोड्यो।
गुँडबाट खसेका ती बचेरा
एक पटक चैत-वैशाखको हावाहुरीको मौसममा लमहीको कप्तानगन्जमा गुँडबाट गिद्धका बचेरा खसेको खबर आयो। कालिका वनको टोली गएर गिद्धका बचेरालाई केन्द्रमा ल्याए। ती बचेरा एक वर्षसम्म केन्द्रमै रहे। ठूलो भएपछि एउटा भाले र एउटा पोथी डंगरलाई जंगलमा लगेर छाडे। तर फर्केर गाउँघरतिरै आएको अध्यक्ष मियाँ बताउँछन्।
तीमध्ये एउटा गिद्ध एक पटक गुडिरहेको गाडीमा ठोक्कियो। गाडीको सिसा झर्यामझुरुम भयो। फेरि बखेडा भएको उनी सुनाउँछन्। “तिमीहरूले पालेको गिद्धले गाडीको सिसा फुटाइदियो भन्दै गाडीवालाहरू झगडा गर्न आए,” मियाँ सम्झन्छन्, “बल्लतल्ल सम्झाइबुझाइ गरेर पठायौं।
गिद्ध पालेकै कारण वनका सदस्य कैयौं पटक झमेलामा परेका छन्। “कानूनले त वन्यजन्तुलाई घात गर्नेलाई कारबाही गर्छ। हामीलाई भने जोगाउँदा पनि अवगालै अवगाल आइलाग्यो,” उनी भन्छन्। त्यसपछि भने त्यो गिद्धलाई उपचार गरेर निको पारेपछि नवलपरासीको जंगलमा पठाइयो।
अध्यक्ष मियाँ अर्को घटना पनि सुनाउँछन्। एक पटक राप्तीपारिको गाउँ बोलाहा, राजपुरमा गिद्ध बिरामी भएको खबर आयो। वन समितिका सदस्य उद्धारका लागि गए। झोक्राएर बसेको थियो। गिद्ध ल्याए। उपचार गरे। निको भएपछि जंगलमा छोडिदिए।
वन समितिले दिने सचेतना कक्षाले विद्यार्थीसँगै अभिभावकलाई पनि गिद्ध संरक्षणमा सजग बनाएको छ। अहिले गाउँले पनि गिद्धलाई बेवास्ता गर्दैनन्। बरु कहींकतै गिद्धलाई केही भयो भने वन समितिका सदस्यलाई खबर गर्छन्।
संरक्षण केन्द्र चलाउन सकस
संरक्षण केन्द्रमा हाल ९२ वटा गाई छन्। २०६५ सालमा केन्द्र शुरू गर्दा वृद्ध गाई ल्याउन दिन किसानलाई आग्रह गर्नुपर्थ्यो। अहिले भने छरछिमेकका गाउँलेले पनि गाई ल्याइदिने गरेका छन्। जसको गाई राख्नुपर्ने हो, उसले दुई हजार ५०० रुपैयाँ सहयोग शुल्क पनि तिर्नुपर्छ। “गाईलाई आहारा पुर्याउन गाह्रो छ। एक ट्रक पराल त एकैछिनमा भ्याउँछ,” मियाँ भन्छन्, “गहुँको भुस, नुन, औषधोपचार गर्दा खर्च पुर्याउन मुस्किल हुने गरेको छ।”
कालिका संरक्षण केन्द्रमा रहेका गाईको नियमित स्वास्थ्य परीक्षण गरिन्छ। पशु स्वास्थ्यकर्मी आएर जाँच्ने गरेको कोषाध्यक्ष मगर बताउँछन्।
कोभिड-१९ को महामारीअघि संरक्षण केन्द्रमा आगन्तुक आइरहन्थे, सहयोग रकम जुटिरहन्थ्यो। महामारीपछि आगन्तुक आउने क्रम टुट्यो। यसले आम्दानीमा असर परेको उनी बताउँछन्। परेको वेला समितिका सदस्य सित्तैमा खटिने गरेका छन्। “गाडी चढेर कहीं जानुपर्दा भाडा लिने हो नत्र त पूर्ण स्वयंसेवामै काम गरिरहेका छौं,” कोषाध्यक्ष मगर भन्छन्।
आर्थिक स्रोत जुटाउन संरक्षण केन्द्रले ‘प्रकृतिका साथीहरू’ कोषका लागि सदस्यता वितरण गर्ने गरेको छ। विदेशी संस्था सदस्य हुँदा पाँच हजार रुपैयाँ र स्वदेशी संस्थाका लागि दुई हजार रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, विदेशी नागरिकले एक हजार र नेपालीले ५०० रुपैयाँ सदस्यता शुल्क तिर्नुपर्छ। हालसम्म विदेशी संस्था एक, स्वदेशी संस्था १३, विदेशी नागरिक १०५ जना र स्वदेशी ४७३ जना गरी ५९२ सदस्य छन्।
संरक्षण केन्द्रको अवलोकन गर्न विशेष गरेर विद्यार्थी आउने गरेका छन्। विदेशी पर्यटक र संरक्षणकर्मीको पनि रोजाइमा पर्छ। “प्राणीशास्त्रका विद्यार्थीका लागि प्रयोगशाला जस्तो पनि भएको छ,” अध्यक्ष मियाँ भन्छन्, “नयाँ ठाउँमा गिद्ध रेस्टुरेन्ट खोल्नुपर्दा पनि केेकसरी गर्ने भनेर सिक्न आउँछन्।”
पशु वृद्धाश्रम तथा गिद्ध संरक्षण केन्द्र चलाउन चार जनाको उपसमिति बनाइएको छ। काममा खटिनुपर्ने सचिव र वन हेरालु दुई जनालाई सामुदायिक वन मार्फत पारिश्रमिकको व्यवस्था गरिएको कोषाध्यक्ष मगर बताउँछन्। गाई व्यवस्थापन गर्न दुई जनालाई मासिक १५ हजार रुपैयाँ दिएर काममा लगाउने गरिएको छ।
संरक्षण केन्द्र सञ्चालनका लागि स्रोत अपुग नै हुने गरेको अध्यक्ष मिया बताउँछन्। आहाराका लागि गत वर्ष गाउँपालिकाले तीन लाख रुपैयाँको पराल किनिदिएको थियो। यस वर्ष भने दुई लाख रुपैयाँको मात्र पराल किनिदिएको छ।
कोषाध्यक्ष मगरका अनुसार अक्षय कोषको व्यवस्था गरिएको छ। हाल अक्षय कोषमा १६ लाख रुपैयाँ जम्मा भएको छ। यसलाई २० लाख पुर्याउने लक्ष्य राखिएको बताउँदै उनी भन्छन्, “कोषको मूलधन चलाइँदैन, ब्याज मात्र खर्च गर्छौं।”
समुदायको सत्प्रयास
संरक्षण प्रयासलाई समुदायसँग कसरी जोड्ने भन्ने कुराको सफल उदाहरण कालिका वन भएको पन्छीविद् कृष्ण भुसाल बताउँछन्। उनका अनुसार कालिका वन विगतदेखि नै गिद्धको वासस्थान हो। पहिले पनि स्थानीय गिद्ध सानो डंगर र ठूलो डंगरले गुँड लगाउने गर्थे भने अरू प्रजाति बसाइँ सरेर आउँथे।
गुँड नबनाउने गिद्ध प्रजातिमा सुन गिद्ध, सानो गिद्ध र हाडफोर गिद्ध पर्छन्। सेतो गिद्ध, राज गिद्ध र हिमाली गिद्ध पहरामा बस्छन्। यी गिद्ध जाडोमा तराई झर्छन् भने गर्मी चढेसँगै पहाड चढ्छन्।
गिद्धबारे जानकार भुसालका अनुसार विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् भने दक्षिणएशियामा पाइने नौ प्रजातिका गिद्ध नेपालमा पनि पाइने गरेका छन्। शिकारी चरा समूहमा पर्ने गिद्धले आफैं शिकार गर्दैन, मरेको सिनो मात्र खान्छ। त्यसैले यसलाई ‘प्रकृतिको कुचीकार’ पनि भन्ने गरिन्छ।
सन् १९९० को दशकअघिसम्म दक्षिणएशियासँगै नेपालमा पनि प्रशस्तै गिद्ध देखिन्थे। नेपाल सहित दक्षिणएशियामै यसको संख्या ९५ प्रतिशतले घट्न पुग्यो। नेपाल पन्छी सरक्षण संघले सन् २००२ देखि २०११ सम्म लगातार नौ वर्ष पूर्व-पश्चिम राजमार्ग आसपास सर्वेक्षण गर्दा डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको पाइएको थियो।
संघले सन् २०१२ देखि २०१८ सम्म गरेको अर्को सर्वेक्षणमा भने दुवै प्रजातिका गिद्धको संख्या केही बढेको पाइएको थियो। “नेपालमा पछिल्ला वर्ष गिद्धको वासस्थानमा सुधार हुँदै जाँदा गिद्धको संख्या बढेको छ,” नेपाल पन्छी संरक्षण संघको गिद्ध संरक्षण परियोजना प्रमुख अंकितविलास जोशी भन्छन्। यस वर्ष संघले कालिका सामुदायिक वनलाई एक लाख नगद पुरस्कार सहित सम्मान गरेको छ।
हाल गिद्ध संरक्षणमा देखिएको मुख्य चुनौती विष खुवाएर वन्यजन्तु मार्ने गाउँघरतिरको अभ्यास हो। त्यस्तै, किटोप्रोफिन, निमोस्लाइड, एसिक्लोफेनेक जस्ता औषधिलाई प्रतिबन्ध गर्नु आवश्यक रहेको उनी बताउँछन्। “भौतिक संरचना निर्माण गर्दा गिद्ध वा दुर्लभ पन्छी जोगाउने खाकामा जोड दिनुपर्ने पनि देखिन्छ,” जोशी भन्छन्।
संघका अनुसार पछिल्लो समय गिद्ध प्रजनन सफलता दर तथा गुँड बढ्दै गएको पाइएको छ। प्राकृतिक वासस्थानमा गिद्धको संख्या घट्न नदिनमा जोड दिइँदै आएको जोशी बताउँछन्। “गिद्ध जोगाउन कालिका वनमा जस्तै समुदायको कामले सकारात्मक योगदान पुगेको छ,” उनी भन्छन्।