घाइते बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु
आगोले जलेका घाइतेलाई बोकेर काठमाडौं जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
खोटाङबाट घाइते बोकेर काठमाडौं जाँदै गरेको ना १ ज ६४२१ नम्बरको जीप गए राति ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-७ स्थित भँडारे खोलामा दुर्घटना भएको हो। दुर्घटनामा केपिलासगढी गाउँपालिका-३, बासपानीकी ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र बहिनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२, जालपाकी ४५ वर्षीया तारा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगोले जल्दा गम्भीर घाइते भएकी मायादेवीलाई उपचारका लागि काठमाडौं लगिंदै थियो। जीप सडकबाट करीब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले बताए।
दुर्घटनापछि जीपचालक सुनसरीको इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित सम्पर्कविहीन छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।
परिवारजनका अनुसार माघ १६ गते बोतलमा राखिएको पेट्रोल झुक्किएर तताउन पुग्दा मायादेवी जलेर गम्भीर घाइते भएकी थिइन्। उनका दुवै खुट्टा जलेको थिए।
उनलाई त्यही साँझ जिल्ला अस्पताल ल्याइएको थियो। खोटाङमा उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएको जिल्ला अस्पतालका प्रमुख डा. रूपेश संग्रौलाले बताए।