एक नेपाली हमासको कब्जामै रहेको इजरायली मिडियाको भनाइ
एक नेपाली नागरिक हमासको कब्जामै रहेको इजरायली मिडियाले लेखेका छन्।
गत वर्ष हमासले इजरायलमा आक्रमण गर्दा नेपाली विद्यार्थी विपिन जोशीलाई पनि नियन्त्रणमा लिएको थियो। समाचारमा भने हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी हुन् वा होइनन् भन्ने खुलाइएको छैन।
इजरायल सरकारले हमासले बन्धक बनाएका व्यक्तिहरूका बारेमा जानकारी सार्वजनिक गरेको हो। त्यसका आधारमा टाइम्स अफ इजरायलले हमासको कब्जामा रहेकामध्ये एक जना नेपाली पनि भएको उल्लेख गरेको छ।
अहिले हमासको नियन्त्रणमा १० विदेशी नागरिक छन्। उनीहरूमध्ये आठ थाई नागरिक, एक नेपाली र एक तान्जानियाली नागरिक रहेको समाचारमा उल्लेख छ।
उनीहरूमध्ये दुई थाई नागरिकको भने मृत्यु भइसकेको इजरायल सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले लेखेको छ। त्यस्तै, तान्जानियाली नागरिकको पनि मृत्यु भइसकेको इजरायल सरकारले घोषणा गरिसकेको छ।
हमासले आज आठ बन्धकलाई मुक्त गर्दै छ। जसमा तीन इजरायली नागरिक र पाँच थाई नागरिक छन्।
समाचारमा रिहा हुन लागेका तीन इजरायलीको नाम उल्लेख गरिए पनि पाँच थाई नागरिकको नाम खुलाइएको छैन। छुट्ने क्रममा रहेका तीन इजरायलीमा २० वर्षीय अगाम बर्गर, २९ वर्षीय आरबेल योहुद र ८० वर्षीय मेसो मोजेज छन्।
तीन इजरायलीको नाम हमासले इजिप्ट र कतारमा रहेका मध्यस्थकर्ता मार्फत इजरायल सरकारलाई उपलब्ध गराएको समाचारमा जनाइएको छ। अन्तर्राष्ट्रिय रेडक्रसले भने बन्दी छुटाउने प्रक्रियाबारे अनभिज्ञता प्रकट गरेको छ।
यही माघ ६ गते गाजामा युद्धविराम सम्झौता भएको थियो। सम्झौता अनुसार हमासको कब्जामा रहेका बन्धक र इजरायलले नियन्त्रणमा लिएका फलस्तीनी नागरिकलाई रिहा गरिंदै आएको छ। हालसम्म हमासले सात बन्धकलाई मुक्त गरेको छ। हमासले एक जनालाई मुक्त गर्दा इजरायलले ३० फलस्तीनीलाई छोड्ने सहमति बनेको छ।
१६ महीनाअघि दक्षिणी इजरायलबाट अपहरणमा परेका २५१ जनामध्ये ३१ थाई नागरिक थिए। उनीहरूमध्ये आठ थाई नागरिक अझै नियन्त्रणमा रहेको समाचारमा जनाइएको छ। उनीहरू सुरसाक लामनाउ, पिंगा नाटापोङ, वनावात सिथावो, साटहान सुवानकाम, स्रिआउन वातचारा र पोङसाक तन्ना छन्। सुन्धिसाक रिनथालक र सोन्थाया ओक्कारासको भने मृत्यु भइसकेको इजरायल सरकारले जनाएको छ।
इजरायली युद्धका क्रममा सबैभन्दा बढी प्रभावित हुने विदेशीमा थाई नागरिक छन्। ब्यांककले जनाए अनुसार हालसम्म इजरायलमा ३२ थाई नागरिकले ज्यान गुमाइसकेका छन् भने हमासले नियन्त्रणमा लिएका २३ थाई नागरिक मुक्त भइसकेका छन्।
हमासले इजरायलमा आक्रमण गर्दा दक्षिणपूर्वी एशियाका दशौं हजार कामदार इजरायलमा काम गर्दै थिए, जसमा अधिकांश गाजा क्षेत्रको सीमा नजीकैको इजरायली कृषि फारममा सहयोगीका रूपमा कार्यरत थिए।
गत वर्ष हमासले अपहरण गरेका २५१ मध्ये ८७ जना अझै गाजामा रहेको जनाइएको छ। जसमा ३४ जनाको मृत्यु भइसकेको र शव पनि भेटिएको आईडीएफले जनाएको छ। अन्य ४० जनाको शव युद्धका क्रममा भेटिएको समाचारमा उल्लेख छ।
हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। उनीहरूसँग रहेका विपिन जोशीलाई हमासले नियन्त्रणमा लिएको थियो।