रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्नु राजनीतिक प्रतिशोध : रास्वपा संसदीय दल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलले सभापति तथा दलका नेतालाई सरकारले राजनीतिक प्रतिशोधले सांसदबाट निलम्बन गरेको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ।
सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका लामिछानेलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा समेत लगाएर प्रतिनिधि सभा सदस्यबाट निलम्बन गरिएको संसदीय दलको निष्कर्ष छ।
काठमाडौंमा बुधबार बसेको बैठकबारे जानकारी दिंदै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले भने, “सरकारले राजनीतिक प्रतिशोधका आधारमा रास्वपा संसदीय दलका नेता रवि लामिछानेलाई सम्पत्ति शुद्धीकरणको समेत मुद्दा दायर गरेर सांसदबाट निलम्बन गर्नु प्रतिनिधि सभा नियमावली विरुद्ध भएको ठहर गर्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ।”
माघ १८ गते शुरू हुने संसद्को हिउँदे अधिवेशनमा सरकारले ल्याएको अध्यादेश ‘अस्वीकारको सूचना प्रस्ताव’ गर्ने निर्णय भएको परियारले जानकारी दिए। रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा बसेको बैठकले गत असारमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको सातबुँदे सहमतिको पनि विरोध गर्ने निर्णय गरेको छ।