पर्यावरणलाई प्रतिकूल सौराहाका स्वीमिङ पुल
होटलहरूले स्वीमिङ पुल सफा पार्न प्रयोग गर्ने रसायन नजीकैको राप्तीमा पुगे माछा सहितका जलचर, घडियाल हुँदै बाघ, गैंडालाई असर पर्नेछ।
चितवन घुम्न जाने पर्यटकमध्ये अधिकांशको रोजाइको थलो हो, सौराहा। चितवन राष्ट्रिय निकुञ्जको सीमामा पर्ने यो शहरको किनारैबाट राप्ती नदी बग्छ। गर्मी मौसममा यहाँ पुग्नेमध्ये अधिकांशको चाहना हुन्छ, पौडी खेल्ने। तिनैलाई लक्ष्य गरेर यहाँका थुप्रै होटलले पौडी पोखरी बनाएका छन्।
चितवन गाइड एशोसिएशनका पूर्व अध्यक्ष राजेन्द्र धामीका अनुसार केही वर्षयता सौराहामा छुट्टी मनाउन पुग्ने स्वदेशी पर्यटक पनि निकै हुन्छन्। उनीहरू सकेसम्म पौडी पोखरी भएकै होटल रोज्छन्। कोभिड-१९ महामारीले बाहिरी पर्यटक ठप्प भएपछि यहाँका व्यवसायीले स्वदेशी पर्यटकको महत्त्व पहिचान गरेका थिए। स्वदेशीकै भरमा उनीहरूको व्यवसाय जीवित रहन पुगेको थियो। “यही कारण व्यवसायी अहिले पनि स्वदेशी पर्यटकलाई आकर्षित गर्न चाहिरहेका छन्,” धामी थप्छन्।
स्थानीय होटल व्यवसायीको अनुमानमा सौराहामा बस्न आउनेमा झन्डै ७० प्रतिशत स्वदेशी पर्यटक हुन्छन्। यस्तै आँकडा निकुञ्जको तथ्यांकले पनि देखाउँछ। निकुञ्जका अनुसार आर्थिक वर्ष २०७९/८० मा आएका दुई लाख ९२ हजार ३९२ पर्यटकमध्ये दुई लाख एक हजार ८८१ अर्थात् ७० प्रतिशत नेपाली थिए। यो महामारीअघिको तुलनामा उल्लेखनीय वृद्धि हो जबकि २०७४/७५ मा ५४ प्रतिशत मात्र नेपाली पर्यटक थिए।
पर्यटकसँगै होटल र पौडी पोखरी पनि थपिएका छन्। चितवन होटल एशोसिएशनको तथ्यांक अनुसार सौराहामा सञ्चालित करीब १४० होटलमध्ये अहिले १५ देखि १६ वटा होटलले पौडीको सुविधा दिइरहेका छन्। एशोसिएशनका अध्यक्ष गंगा गिरी एउटा पौडी पोखरी बनाउन ३० लाख रुपैयाँसम्म लाग्ने बताउँछन्।
मोंगाबे र सेन्टर फर डेटा जर्नालिज्म नेपाल (सीडीजेएन)को संयुक्त अध्ययनले यस्ता पोखरीको संख्या अझ बढी देखाएको छ। भौगोलिक सूचना प्रणाली (जीआईएस)मा आधारित अनुसन्धानमा पूर्वी राप्ती र सहायक नदी किनारमा कम्तीमा दुई दर्जन होटल/रिसोर्टले पौडी पोखरी बनाएको पाइएको छ। जैविक विविधताका दृष्टिले संवेदनशील क्षेत्रमा बनाइएका यी पोखरीको अहिलेसम्म अनुगमन र नियमन भने भएको पाइँदैन। यो ठाउँ विभिन्न प्रकारका जलचर, माछा र लोपोन्मुख घडियाल गोहीको वासस्थान हो।
यो विषय किन पनि गम्भीर हो भने व्यवसायीले पौडी पोखरीमा नदी किनारको भूमिगत पानी फिल्टर गरेर हाल्ने र त्यसलाई कीटाणुरहित बनाउन क्लोरिन जस्ता रासायनिक पदार्थ प्रयोग गरेको पाइएको छ।
डब्लूडब्लूएफ नेपालका जलस्रोत कार्यक्रम प्रमुख राजेश सदाका अनुसार पौडी पोखरीको रसायन नदीमा मिसिने र त्यसबाट त्यहाँका जीवमा असर पर्ने सम्भावना रहन्छ। “एउटा मात्र पौडी पोखरीको प्रभाव सायद नगण्य होला, तर वार्षिक रूपमा बढ्दै गएको पोखरीको संख्या हेर्दा गम्भीर चुनौती बन्न सक्छ,” उनी भन्छन्।
वैज्ञानिक अनुसन्धानले पनि कीटाणुनाशकका रूपमा प्रयोग गरिने क्लोरिनका नकारात्मक असरहरू देखाएको छ। नेपालका जलचर प्रजातिमाथि अध्ययनरत जेनुइन प्रजापतिका अनुसार लामो दूरीको बसाइँसराइ नगर्ने माछा र म्याक्रोइन्भर्टिब्रेट्स (माछाले आहारा बनाउने कीरा) क्लोरिन प्रदूषणबाट सबैभन्दा जोखिममा छन्। घडियालहरू बाँच्न माछामा निर्भर रहन्छन्। ‘म्याक्रोइन्भर्टिब्रेट्स मरे वा तिनले प्रदूषित खाना खाए भने त्यसको असर माछा, घडियाल हुँदै गैंडा–बाघ जस्ता ठूला जनावरसम्म पुग्छ,” उनी भन्छिन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्व अधिकृत एवं संरक्षणविद् वेदकुमार खड्का राप्ती नदी चितवनको मुटु भएकाले यससँग जोडिएको जैविक विविधताको सवाललाई गम्भीरतापूर्वक लिइनुपर्ने बताउँछन्। घडियालको अस्तित्वमा संकट आउँदा गैंडा र बाघ जस्ता अन्य वन्यजन्तुको भविष्य पनि जोखिममा पर्न सक्ने उनको भनाइ छ।
होटल व्यवसायी भने पोखरीको पानी नदीमा फाल्ने नगरिएको दाबी गर्छन्। “पौडी पोखरी भर्न ठूलो स्रोतसाधन आवश्यक पर्ने भएकाले हामी प्रयोग भएको पानी नदीमा फाल्दैनौं,” राष्ट्रिय प्रकृति संरक्षण कोषको जैविक विविधता संरक्षण केन्द्रका पूर्व प्रमुख एवं सौराहास्थित राइनो लजका सञ्चालक रामकुमार अर्याल भन्छन्, “बरु पानीलाई फिल्टर गरी पुनःप्रयोग गर्ने प्रणाली अपनाएका छौं।” पोखरीको निर्माण र मर्मतसम्भारमा संलग्न प्राविधिकको भनाइमा पनि पानी फेर्नु अत्यधिक खर्चिलो हुने भएकाले अत्यावश्यक अवस्थामा मात्र पोखरी खाली गराइन्छ।
राप्ती नदी किनारमा भर्खरै पौडी पोखरी निर्माण गरेका पार्क सफारी रिसोर्टका मालिक तथा चितवन होटल एशोसिएशनका अध्यक्ष गंगा गिरी आफ्ना कारणले नदी प्रदूषित नभएको दाबी गर्छन्। “दुई-तीन वर्षमा एक पटक मात्र पानी फेर्नुपर्ने हुन्छ, त्यसैले यसले नदीलाई प्रदूषित गर्दैन,” उनी भन्छन्।
व्यवसायीले गरेको दाबी सत्य रहे/नरहेकोबारे अहिलेसम्म अनुगमन भएको छैन। अर्कातिर, उनीहरूले वातावरणीय सुरक्षाका उपाय अवलम्बन पनि गरेको पाइँदैन। “होटल व्यवसायीले भने जस्तै गरिरहेका छन्/छैनन् भन्ने हामीलाई थाहा छैन। कसैलाई थाहा नदिई उनीहरूले प्रदूषित पानी नदीमा मिसाइरहेका हुन सक्छन्,” स्थानीय संरक्षण अभियन्ता वीरेन्द्र महतो भन्छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त आफूहरू यस विषयमा चिन्तित रहेको बताउँछन्। उनी भन्छन्, “हामी व्यवसायीसित बसेरै यसको समाधान खोज्न चाहन्छौं।”
विभिन्न अध्ययनले पौडी पोखरीमा प्रयोग गरिने कीटाणुनाशक पदार्थबाट बन्ने डीबीपी नामक रसायनले मान्छे, रूखपात र जनावरलाई ठूलो हानि पुर्याउने औंल्याएका छन्। अमेरिकाको रोग नियन्त्रण तथा संरक्षण केन्द्रका अनुसार पौडी खेल्ने मान्छेले लगाउने ‘क्रिम’ र ‘लोशन’ पोखरीको क्लोरिनसँग मिसिएर त्राइह्यालोमिथेन्स र ह्यालोजनेटेड एसेटिक एसिड जस्ता विषालु रसायन बनाउँछन्।
चितवन क्षेत्रमा पहिलेदेखि नै गह्रौं धातु सम्बन्धी प्रदूषण देखिंदै आएको छ। यस्तोमा न स्थानीय सरकार न त होटल व्यवसायीले पौडी पोखरीमा डीबीपीको मात्रा र असरबारे अध्ययन गरेका छन्।
काठमाडौं विश्वविद्यालयका पानी विशेषज्ञ सुबोध शर्मा राप्ती नदीमा विषादी र मलखादबाट आउने गह्रौं धातुहरूको प्रदूषण हुन सक्ने बताउँछन्। “पुष्टि गर्न नसकिए पनि सौराहाको नदी र जमीनमुनिको पानीको प्रदूषणले चितवनमा गैंडाहरूको मृत्यु भएको हुन सक्छ,” उनी भन्छन्, “राप्तीको दूषित पानी पोखरीसम्म पुगेको हुन सक्छ।” शर्माका अनुसार होटल व्यवसायीले पोखरी भर्न प्रयोग गर्ने जमीनमुनिको पानीको गुणस्तरमा पनि गम्भीर प्रश्न छ।
चितवनमा पौडी पोखरीको बढ्दो संख्याले पर्यटन क्षेत्रमा रहेको ठूलो कमजोरी उजागर गर्ने पर्यटन व्यवसायी नै बताउँछन्। चितवन र पोखरामा टाइगर माउन्टेन होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएका मार्कस कटन भन्छन्, “नेपालका धेरैजसो पर्यटन व्यवसायीसँग आफ्नो क्षेत्रप्रति गहिरो बुझाइ र सोच छैन। व्यवसायीले आफ्नै फाइदाका लागि पनि दिगो पर्यटनको अवधारणा अपनाउन नसक्नुले उनीहरूमा चेतना, बुझाइ र प्रतिबद्धताको कमी रहेको देखाउँछ।”
पोखरी बनाउँदैमा व्यवसाय बढ्छ भन्नु सही नभएको र बनाउने नै हो भने पनि सरसफाइका लागि क्लोरिनको सट्टा वैकल्पिक विधि अपनाउनुपर्नेमा कटन जोड दिन्छन्। मोंगाबेलाई पठाएको मेलमा उनले व्यवसायीलाई सुझाएका छन्, “सकेसम्म पौडी पोखरी नबनाउनुहोस् र पर्यटकलाई त्यसको कारण पनि बुझाउनुहोस्। पोखरी बनाउने नै भए सरसफाइमा नूनको प्रयोग आदि वैकल्पिक विधि अपनाउनुहोस्।”
संरक्षण अभियन्ता महतो निकुञ्जमा प्रतिकूल असर पर्ने भन्दै स्थानीय मुसहर र थारूहरूलाई पुर्ख्यौली नदीमा माछा मार्न रोक लगाइँदै आएकामा होटलहरूलाई चाहिं जैविक विविधता जोखिममा पार्ने छूट दिनु गलत रहेको बताउँछन्। “स्थानीय समुदायको प्राकृतिक स्रोतमाथिको पहुँच सीमित बनाइएको छ, तर ठूला व्यवसायी र होटललाई मनलाग्दी गर्न छूट दिइएको छ,” उनी भन्छन्। अहिले बाघ र गैंडा हेर्नकै लागि पर्यटक सौराहा आउने भएकाले कुनै दिन पौडी पोखरीकै कारण यी जन्तु मासिए होटल व्यवसाय नै जोखिममा पर्न सक्ने पक्षमा पनि व्यवसायीले ध्यान दिनुपर्नेमा महतो सजग गराउँछन्।
(यो रिपोर्ट सेन्टर फर डेटा जर्नालिज्म नेपाल (सीडीजेएन)को सहकार्यमा अर्थ जर्नालिज्म नेटवर्क (ईजेएन)को फेलोशिप कार्यक्रम अन्तर्गत तयार पारिएको हो। मोंगाबेमा पहिलो पटक प्रकाशित यो सामग्री अनुवाद गरी यहाँ प्रस्तुत गरिएको हो।)