इन्ड्राइभ र पठाओ यात्रुलाई असुरक्षित
सार्वजनिक यातायातको सुविधा दिन खोलिएको इन्ड्राइभ र पठाओ लगायत राइड शेयरिङ एप नेपालमा स्थापित भइरहे पनि यात्रुको सुरक्षाप्रति भने हदैसम्म असंवेदनशील रहेको देखिन्छ।
काठमाडौंकी एन्जिला खनाल १२ वर्षकी बहिनीलाई लिएर माघ २ गते माइक्रो बसमा चितवनबाट फर्कंदै थिइन्। साँझ साढे ७ बजे मुग्लिन पुगेपछि माइक्रो बस बिग्रियो। बिग्रेको बस बनाउन धेरै समय लाग्ने बुझेपछि खनालले ‘राइड शेयरिङ’ बाट घर फर्कने सोच बनाइन्।
टिकटक अकाउन्टको भिडियो अनुसार उनी ‘राइड शेयरिङ एप’ इन्ड्राइभको पुरानै प्रयोगकर्ता हुन्। नेपालमा इन्ड्राइभको एकदेखि अर्को शहर आउजाउ सेवा ‘सिटी टु सिटी राइड’ बारे थाहा भएकाले उनले सर्च गरिन्।
केही बेरको प्रयासमा एक चालकले खनालको अनुरोध स्वीकार गर्दै ह्वाट्सएपमा फोन गरेर भाडामा ५०० रुपैयाँ थप्न भने। खनालले त्यो प्रस्ताव नमानेपछि चालकले केही बेरमा खबर गर्ने भन्दै फोन काटे। लगत्तै अर्को नम्बरबाट वाट्सएपमा मेसेज आयो, जसमा लेखिएको थियो- बाटोमा एक घन्टा बसौं, म पैसा लिन्नँ। हुन्छ?
गलत मनसायको मेसेज आएपछि खनालले झपार्न खोजिन्, तर चालकले निर्धक्क भने, “मन मिल्यो भने ...।”
त्यसपछि उनले दुवै नम्बर ब्लक गरेर मेसेजका प्रमाण सहित इन्ड्राइभलाई अनलाइन उजुरी गरिन्। तर व्यक्तिको गोपनीयता जोगाउनुपर्ने भन्दै चालकको विवरण दिन नमिल्ने जवाफ इन्ड्राइभबाट आएको उनले पछि टिकटकमा अपलोड गरेको भिडिओमा बताएकी छन्।
उजुरी गरेको लामो समयसम्म पनि सेवाप्रदायक इन्ड्राइभले वास्ता नगरेको गुनासो खनालले गरेकी छन्।
“तपाईंसँग चालकको नम्बर छँदै छ। तपाईंले नेपाल प्रहरीमा उजुरी गर्नुपर्छ। अनुसन्धान गर्दा प्रहरीले हामीसँग माग्यो भने दिन्छौं,” इन्ड्राइभले आफूलाई दिएको जवाफ उद्धृत गर्दै उनले भिडिओमा भनेकी छिन्, “तर मैले प्रमाण सहित गुनासो गरिसकेपछि पनि पछि मलाई किन तपाईंहरूले सम्पर्क गर्नुभएन? (गुनासो परेपछि) तपाईंहरूको जिम्मेवारी हुँदैन?”
सार्वजनिक यातायातको सुविधा दिन खोलिएको इन्ड्राइभ जस्ता राइड शेयरिङ एप नेपालमा स्थापित भइरहे पनि यात्रुको सुरक्षाप्रति भने हदैसम्म असंवेदनशील रहेको संकेत यस प्रकरणले गर्छ।
इन्ड्राइभ मात्र होइन, अर्को राइड शेयरिङ एप पठाओ मार्फत सेवा लिने यात्रु पनि असुरक्षित नै छन्। गएको मंसीरमा दुईपांग्रे पठाओ चालक गणेश लामाले धादिङकी यात्रु सानीमैयाँ पौडेलको मोबाइल र गरगहना लुटेका थिए। नयाँ बानेश्वरमा छोरीलाई भेट्न कलंकीमा पठाओको मोटरसाइकल चढेकी पौडेललाई चालकले बाफल पुगेपछि लुटेका थिए।
पौडेलले मोबाइल र सुनको औंठी लुटेर भागेको जाहेरी दिएपछि प्रहरीले मंसीर २८ गते चालक लामालाई पक्राउ गरेको थियो। चोरी अभियोगमा लामालाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको इजलासले २४ दिन कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गर्यो।
यस वर्षको मंसीर र पुसमा पठाओ, इन्ड्राइभ जस्ता राइड शेयरिङ एपका चालकहरूबाट ठगिएको, दुर्व्यवहार भएको भन्दै काठमाडौं प्रहरी परिसरमा चार वटा उजुरी परेका छन्। गत साउनदेखि माघ ११ गतेसम्म काठमाडौं प्रहरी परिसरले यात्रुलाई दुर्व्यवहार र ठगी गरेको तथा अफलाइनमा सवारी चलाएको आरोपमा एक हजार ५२ जना पठाओ र इन्ड्राइभ चालकलाई कारबाही गरेको तथ्यांक छ।
राइड शेयरिङको प्रयोगकर्ता वृद्धिसँगै अपराधजन्य कार्य पनि बढेको काठमाडौं प्रहरी परिसरकी प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णिमा चन्द बताउँछिन्। त्यस्ता अपराधमध्ये दुर्व्यवहारका कतिपय घटनामा दुवै पक्ष झिकाई मिलापत्र गराएर छोडिदिने गरेको उनले बताइन्।
प्रहरीले पक्राउ परेका अफलाइन चालकलाई ट्राफिक नियम उल्लंघनको कसूरमा कारबाही गरेर त्यसबारे पठाओ वा इन्ड्राइभलाई इमेलबाट जानकारी गराउँछ। त्यसरी जानकारी गराएपछि पठाओले निलम्बन लगायत कारबाही गर्ने जवाफ पठाउने गरे पनि इन्ड्राइभले कहिल्यै प्रतिक्रिया नदिने गरेको डीएसपी चन्द बताउँछिन्।
“सानातिना घटनामा भने गल्ती महसूस गरे मिलापत्र गराएर छाड्ने गरेका छौं,” उनी भन्छिन्, “गल्ती महसूस गरेर सुध्रन्छु भन्नेलाई यो एक पटकको मौका हो।”
अनुसन्धानमै समस्या
पछिल्लो समय राइड शेयरिङमा आफ्नो हिस्सा बढाउँदै लगेको इन्ड्राइभका चालकबाट कुनै अपराध भए त्यसको अनुसन्धान गर्न केही कठिनाइ हुने गरेको प्रहरीको अनुभव छ। इन्ड्राइभ प्रयोगकर्ता एन्जिला खनाललाई चितवनबाट काठमाडौं आउँदा चालकले गलत मनसायको प्रस्ताव राखेको उजुरीमा अनुसन्धान गर्दा इन्ड्राइभले सूचना नदिएको डीएसपी चन्द बताउँछिन्।
प्रहरीले भने खनालको जाहेरीका आधारमा चितवनका २३ वर्षीय प्रवीण बराललाई पक्राउ गरेर यौन दुर्व्यवहारको कसूरमा अनुसन्धान थालेको छ।
इन्ड्राइभले गत जेठमा नेपालमा आफ्नो कम्पनी दर्ता भएको भन्दै पत्रकार सम्मेलन गरेको थियो। तर अहिलेसम्म कार्यालय खोलेको छैन। अब कार्यालय पनि खोल्ने तयारी भइरहेको इन्ड्राइभको एशिया प्यासिफिक क्षेत्रका सञ्चार प्रमुख पविननन्द आनन्दले बताए।
इन्ड्राइभको वेबसाइट एपमा कम्पनीको नेपाल कार्यालय हात्तीसारमा रहेको उल्लेख छ, तर त्यसमा फोन नम्बर छैन। “हामीले खोज्दा इन्ड्राइभका कोही सम्पर्कमा छैनन्,” डीएसपी चन्द भन्छिन्, “अफलाइन कारबाहीमा परेका राइडरहरूको विवरण पठाउँदा पनि उनीहरूलाई कम्पनीले के कारबाही गर्यो भनेर थाहा पाइन्न।”
सेवा दिने संस्था यसरी जवाफदेह नहुँदा यात्रु असुरक्षित हुने जोखिम बढेको उनले बताइन्।
इन्ड्राइभका सञ्चार सम्पर्क प्रमुख आनन्दले चालकबाट दुर्व्यवहार, ठगी भएको जानकारी आएपछि उनीहरूलाई कारबाही गरिंदै आएको दाबी गरे। “यस्ता घटनाबारे अनुसन्धान गर्न हाम्रो अलग टीम छ,” उनले वाट्सएप मेसेजमा भने, “टीमले गुनासो आएका चालकमाथि निगरानी पनि गर्छ, गल्ती दोहोर्याए निष्कासित गरिन्छ।”
यसरी कारबाहीमा पर्ने इन्ड्राइभ चालकको संख्या खुलाउन भने नमिल्ने भन्दै आनन्द पन्छिए। “माफ गर्नुहोला, यो तथ्यांक दिन मिल्दैन,” आनन्दले मेसेजमा लेखेका छन्।
इन्ड्राइभले गत दशैं र तिहारको छेकामा आधार भाडा नै तीन गुणा बढाएको थियो। इन्ड्राइभमा चालक र यात्रुले आधार भाडाभन्दा कम नहुने गरी भाडा निर्धारण गर्न सक्छन्। प्रयोगकर्ताले आधार भाडादर नै तेब्बर बढाएर असुलेको भन्दै सामाजिक सञ्जालमा सप्रमाण गुनासो गरे पनि इन्ड्राइभ कारबाहीको दायरामा आएन।