‘फिल्मप्रति न्यायालयको दृष्टिकोण देखेर मौन हुन बाध्य छु’
राजबल्लभ कोइरालाले अभिनय गरेको पहिलो फिल्म थियो, २०६४ चैतमा प्रदर्शित पर्खी बसें। त्यसअघि म्युजिक भिडिओमा अभिनय गर्दै आएका उनलाई पहिलो फिल्मले नै नेपाली रजतपटमा राम्रो प्रतिभाका रूपमा स्थापित गरिदियो। यसपछि उनको फिल्मी यात्राले गति लिंदै गयो। हाँसिदेऊ एक फेर, राघव, पहिलो पहिलो माया, सम्झना, हे युवा, गुरुदक्षिणा, छाडिगए पाप लाग्ला, कोही त छ, कसम हजुरको, वशमा छैन यो मन, मसान, अपवाद, सो सिम्पल, ऋतु, ६ एकान ६ लगायत दुई दर्जनभन्दा बढी फिल्ममा काम गरे।
सन् २०१४ मा कोइरालाले हलिउड फिल्म हाइवे टु धम्पुसमा काम गरेर अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रतिभा देखाउने अवसर पाए। यस फिल्मको छायांकनका लागि अमेरिका पुगेका उनले त्यहीं बस्ने निर्णय गरे, त्यससँगै उनको नेपाली फिल्म यात्रा रोकियो।
अन्ततः १२ वर्षपछि एक्टर : टेक वानबाट नेपाली फिल्ममा उनको पुनरागमन भएको छ। यो फिल्म माघ १६ गतेदेखि प्रदर्शनमा आउने भनिएको थियो र यसैको प्रचारप्रसारका लागि उनी हाल नेपालमा छन्। यही साता उनको पहिलो कविताकृति औरा पनि सार्वजनिक हुँदै छ।
तर फिल्म कानूनी झमेलामा परेपछि बुधबारदेखि प्रदर्शनमा नआउने भएको छ। नाम र कथावस्तु चोरी गरेको भन्दै फिल्म एक्टरको निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले एक्टर : टेक वान फिल्मको प्रदर्शनमा रोक लगाउन माग गर्दै शुक्रबार अदालतमा रिट निवेदन दायर गरेको थियो। एक्टर र एक्टर : टेक वान फिल्मबीच केही समयदेखि नामको विषयलाई लिएर विवाद चल्दै आएको थियो। एक्टर गत माघ ४ गतेदेखि प्रदर्शनमा आएको थियो।
एक्टर पक्षले काठमाडौं जिल्ला अदालतमा हालेको रिटमा प्रतिलिपि अधिकार कानूनको उल्लंघन गरी कथावस्तु चोरी गरेको र कानूनी प्रक्रिया छलेर फिल्म निर्माण गरेको भन्दै क्षतिपूर्ति सहित कारबाहीको माग गरेको थियो। निवेदनमा मंगलबार सुनुवाइ गर्दै न्यायाधीश ढाकाराम पौडेलको इजलासले फिल्मको प्रदर्शन रोक्न अन्तरकालीन आदेश जारी गरेको छ।
कोइरालासँग एक्टर : टेक वान र अभिनय यात्राको सन्दर्भमा हिमालखबरका लागि अन्शु खनालले गरेको कुराकानीको सम्पादित अंश :
लामो समयपछि नेपाली फिल्ममा फर्किनुभएको छ, के कुराले प्रेरित गर्यो?
कलाकारले जहिले पनि आफूलाई मन पर्ने कुरा विभिन्न माध्यमबाट अभिव्यक्त गर्छ। मेरो अभिव्यक्तिको माध्यम फिल्म नै थियो। तर यसबीचमा फिल्ममा काम गर्न जुरेको थिएन। मैले मात्रै चाहेर पनि हुने कुरा थिएन। टीमको समान स्तरको प्रतिबद्धता र समयबद्ध काम गर्ने वातावरण पनि महत्त्वपूर्ण हुन्छ। यस पटक सबै कुरा मिल्यो। कथावस्तु राम्रो थियो, भूमिका अनुसार समय दिन सकिने अवस्था थियो। त्यसै कारण फर्किएँ।
नेपाली फिल्म क्षेत्रमा यो एक दशकमा धेरै परिवर्तन भए। तपाईंलाई अहिले काम गर्दा के-कस्ता परिवर्तन महसूस भयो?
पहिलेभन्दा अहिले काममा परिपक्वता र बुझाइ धेरै छ। पहिले पनि प्रयास त त्यही स्तरको थियो होला, तर स्रोतसाधन, सुझबुझ सीमित थिए। अहिले आफ्नो क्षेत्रलाई हेरेर बुझ्नेभन्दा पनि पढेर गहिरिएर बुझ्ने धेरै छन्। त्यसको परिणाम पनि देखिइरहेको छ। फिल्म मेकिङमा हरेक डिपार्टमेन्ट बुझेका मान्छे र त्यही किसिमका टीम छन्। अहिले प्रविधिले पनि धेरै सहज बनाइदिएको छ। पहिलेभन्दा मेकिङमा भिजन बढी छ। हजुरबुबाभन्दा बुबाको पुस्ता प्रगतिशील, बुबाभन्दा हाम्रो पुस्ता प्रगतिशील र अहिले हामीभन्दा हाम्रो छोराछोरी अगाडि भए जस्तै, नेपाली फिल्म क्षेत्रले पनि समयसँगै फड्को मार्दै छ।
पुनरागमन गर्दैगर्दा केही चुनौती या डर महसूस भयो?
ठ्याक्कै चुनौती नै भनेर त्यस्तो केही भएन, तर फिल्म निर्माण समयमै सकिंदैन कि भन्ने डर थियो। म अहिले जीवनको यस्तो अवस्थामा छु, जहाँ म श्रीमान् हुँ, पिता हुँ। म अहिले जुन संसारमा छु, त्यसले मलाई सीमित मात्रै बिदा दिन्छ। त्यही कारण मलाई समयको एकदमै डर थियो। त्यस बाहेक टीम कस्तो छ होला, अहिलेको पुस्तासँग काम गर्दा कस्तो होला भन्ने कौतूहल थियो।
लामो अन्तरालपछि तपाईंको कथा छनोटप्रतिको दृष्टिकोणमा केही परिवर्तन पाउनुभएको छ?
कथामा त्यसरी धेरै अन्तर र विकल्प आउँदैन। किनकि हाम्रो फिल्म नै दर्शकलाई यस्तो मन पर्न सक्छ भनेर बन्छ। पछिल्लो समय केही मात्रामा फरक फिल्म बने, त्यसपछि दर्शक पनि त्यसका लागि तयार छन् भन्ने सन्देश मेकरहरूले पाएका छन्।
मलाई यस्तै कथामा काम गर्छु भन्ने चाहिं थिएन, तर पुनरागमन गर्दा अहिलेको उमेर सुहाउँदो, सोच सुहाउँदो, अहिलेको पुस्ताले सोच्ने र चाहने केही हुनुपर्छ भन्ने लागेको थियो। यो फिल्ममा त्यस्तै पात्र मिल्यो।
तपाईंले हलिउड फिल्म हाइवे टु धम्पुसमा पनि काम गर्नुभयो। अनुभव कस्तो रह्यो?
त्यो अनुभव निकै सुन्दर रह्यो। यहाँ हामीसँग सीमित स्रोतसाधनका कारण काममा सम्झौता गर्नुपर्थ्यो। तर उनीहरूसँग काम गर्दा सम्झौता गर्नु परेन। मेकिङ पनि निकै व्यवस्थित हुन्थ्यो। नेपाली सिनेमामा त्यस वेला भोलि कुन सिनमा काम हुँदै छ भन्ने थाहा नै हुँदैनथ्यो। त्यहाँ चाहिं भोलि के हुँदै छ भने अघिल्लो दिन नै ‘क्यू शीट' पाइन्थ्यो। त्यही किसिमले मनस्थिति बन्थ्यो। हाइवे टु धम्पुसमा काम गर्नु मेरो लागि ‘लार्जर देन लाइफ’ खालको अनुभव भयो।
त्यस वेला तपाईंसँग प्रशस्त फिल्म थिए, एक्कासि सबै छाडेर अमेरिका जानुको कारण के थियो?
मेरो परिवार त्यस वेला उतै थियो। १३औं फिल्म गर्दैगर्दा मेरो दुर्घटना भएको थियो। म एक्लै जस्तै थिएँ। अस्पतालमा कोही पनि भेट्न आएनन्।
त्यस वेला नेपाली फिल्मप्रतिको मानसिकता नै अर्कै थियो। म शहरमा जन्मिएँ, हुर्किएँ, तर त्यो समयमा गाउँबाट आउने दर्शकले फिल्म जोगाएको अवस्था थियो। दुर्घटनापछिको मेरो मनोदशा अर्कै भएको थियो। साथी पनि थिएनन्, अर्को फिल्म गर्दा फेरि यस्तै दुर्घटना भयो भने के गर्ने भन्ने खालको अन्योल थियो। अपवाद लगायत केही फरक खालका फिल्म गरेपछि राम्रो फिल्म किन बन्दैन र किन चल्दैन भन्ने प्रश्नहरू पनि थिए। तिनै प्रश्नको गन्जागोलमा म यहाँबाट हिंडें। मेरा भाइबहिनी अमेरिकामा भएकाले म उतै अल्झिएँ।
अब फिल्ममा निरन्तर काम गर्ने योजना के छ? कुन कलाकार या निर्देशकसँग काम गर्ने मन छ?
निरन्तर फिल्म गर्छु भन्ने खास योजना केही पनि छैन। जुर्यो भने यस्तै एउटा-दुई वटा काम गर्छु। अहिले मैले छोरी, घरसंसार सबै छाडेर यतै बस्छु भन्न पनि मिल्दैन। आफूले सकेको जति मात्र दिने हो, हिजो म अविवाहित हुँदा सकेको दिएँ। अहिले मेरी छोरीलाई मेरो जरूरत छ। सबै चीज छाडेर फेरि फिल्मतिर लागें भने म शायद राम्रो पिता हुनै सक्दिनँ। सम्भव भएसम्म एक-दुई वटा फिल्म भने गर्छु।
पछिल्लो समय मलाई धेरै कलाकार र निर्देशकको काम मन पर्छ। विभिन्न परिवेशमा सबैले सुन्दर ढंगले फिल्म बनाइरहनुभएको छ। विपिन कार्की, दयाहाङ राई, दीपेन्द्र के खनाल, उपेन्द्र सुब्बा, रामबाबु गुरुङ सबैको काम मन पर्छ। मलाई यही व्यक्तिसँग काम गर्नु छ भन्ने छैन। हरेकको काम गराइ र मेकिङ फरक र सुन्दर छ।
रिलिजको अघिल्लो दिन एक्टर : टेक वानको प्रदर्शनमा रोक लाग्यो। यसबारे केही भन्न चाहनुहुन्छ?
नेपालको न्यायालयको नेपाली फिल्मप्रतिको दृष्टिकोण देखेर म मौन हुन बाध्य छु।
तपाईंको कवितासंग्रह औरा यही साता सार्वजनिक हुँदै छ। संग्रह निकाल्ने विचार कसरी आयो?
कविता लेखिरहेकै हुन्थें। तर सँगाल्ने बानी थिएन। जीवनमा धेरै चीज हराएर जान्छ, बिर्सिएर जान्छ। लाग्यो, कुनै दिन यी कविता हेर्दा पनि त्यो समय, त्यो मनस्थिति, मनोदशा फेरि जिउन पाइएला। त्यसकारण कवितासंग्रह निकाल्ने निधो गरें। एउटा कविता छोरीका लागि पनि लेखेको थिएँ। छोरीका लागि कवितासंग्रहभन्दा सुन्दर उपहार के हुन सक्ला र जस्तो लाग्यो अनि उसैको नामको कवितासंग्रह सार्वजनिक हुँदै छ। यो कविता छोरी र मलाई मन पराउने सबैका लागि उपहार हो।
दर्शक र पाठकलाई केही भन्नु छ?
दर्शक र पाठकको अपार मायाप्रति म सधैं कृतज्ञ र नतमस्तक छु। यही माया नै हो, जसले मलाई सधैं प्रेरित गर्दै उहाँहरूको नजीक बनाएको छ। यस पटक फिल्म र कवितासंग्रह दुवैका लागि म उहाँहरूको माया र समर्थनले नै तयार भएको छु।