‘बिरालोले छामछुम गरेको होला भनेको त बाघ पो रहेछ’ (भिडिओ)
छाउगोठमा बाघको आक्रमणबाट घाइते भएकी कैलालीकी सरस्वती बिटालू सबैले होहल्ला गरिदिएकाले बाँचेको बताउँछिन्।
माघ १३ गते राति करीब १० बजेतिर कैलाली मोहन्याल गाउँपालिका-७, कुइनेकी ३४ वर्षीया सरस्वती बिटालू बाघको आक्रमणमा परिन्। महीनावारी भएकी सरस्वती छाउगोठमा सुतिरहेको वेला बाघले आक्रमण गरेको हो। होहल्ला गरेपछि उनको ज्यान त जोगियो, तर अनुहारभरि बाघको पन्जाको घाउ लाग्यो।
उनका श्रीमान् ज्यालामजदूरीका क्रममा भारतमा छन्। दुई साना छोरी गाउँमै मेला हेर्न गएका थिए। रातको करीब १० बजेतिर घर नजीकै रहेको छाउगोठमा ढोका थिएन। एक्कासि बाघ भित्र छिरेर उनलाई आक्रमण गर्न थाल्यो।
सरस्वतीको घटना पहिलो भने होइन। कर्णाली र सुदूरपश्चिममा महीनावारी हुँदा हरेक महीनाको चारदेखि पाँच दिनसम्म महिला तथा किशोरीलाई छाउगोठमा राख्ने गरिन्छ। यस्तो वेला जंगली जनावरको आक्रमण, यौनहिंसामा पर्ने र निस्सासिएर ज्यान नै जाने गरेको छ।
गत असोज ४ गते अछाममा छाउगोठमा एक किशोरीमाथि बलात्कार भएको थियो। महीनावारी भएको तेस्रो रात सुतेको वेला गाउँकै मामा नाता पर्ने किशोरले बलात्कार गरेका थिए।
छाउगोठ महिला तथा किशोरीको मृत्युको कारण बन्ने गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार १७ वर्षमा १६ जना महिलाको छाउगोठमा ज्यान गएको तथ्यांक छ। यो सरकारी निकायसम्म आइपुगेको तथ्यांक मात्रै हो।
देवताको डर भन्दै महिला र किशोरीहरू छाउगोठमा बस्न बाध्य छन्। मुलुकी अपराधसंहिता, २०७४ को दफा १६८ को उपदफा ३ मा कसैले छाउगोठमा राख्न बाध्य बनायो भने तीन महीनासम्म कैद वा तीन हजार रुपैयाँसम्मको जरिवाना वा दुवै हुने प्रावधान छ।
तर छाउपडी प्रथालाई कानूनले पनि रोक्न सकेको छैन। २०७६ मंसीर १६ मा साँफेबगर नगरपालिका-३ की २१ वर्षीया पार्वती बुढाको छाउगोठमा मृत्यु भयो। उनलाई त्यहाँ बस्न बाध्य पारेको भनेर जेठाजु छत्र रावतमाथि प्रहरीले मुद्दा चलाउन खोज्दा जाहेरी दिने कोही भएन। पक्राउ परेको ४५ दिनमा उनी छुटे।
त्यस घटनापछि भने यो विषय संसद्मा पुग्यो। २०७६ माघ ८ मा सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउन जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दियो। १० हजार छाउगोठ भत्काइए। १०० स्थानीय तहलाई छाउगोठमुक्त घोषणा गरियो।
तर महिलालाई महीनावारीको बहानामा घरमै बस्न नदिने सोच गएको छैन। त्यसैको परिणाम हो, सरस्वतीमाथिको बाघको आक्रमण। हाम्रा आमा, दिदीबहिनीको जीवनलाई छाउपडीको नाममा कहिलेसम्म असुरक्षित राख्ने?
रिपोर्ट : धनु विश्वकर्मा
भिडिओ : शमशाद अहमद
सम्पादन : राज यादव