पेशागत आचरण विपरीत नबोल्न वकीलहरूलाई सर्वोच्च बारको आग्रह
सर्वोच्च अदालत बार एशोसिएशनले वकीलहरूलाई आफ्नो पेशागत आचरणको पूर्ण परिपालन गर्न आग्रह गरेको छ।
सर्वोच्च अदालत बारले माघ १५ गते सूचना जारी गर्दै कानून व्यवसायीको पेशागत आचरण सम्बन्धी नियमावलीको नियम ४ (ग) र (घ) उल्लंघन भएको गुनासो सार्वजनिक रूपमै आएकाले यसको परिपालनका लागि अनुरोध गरेको छ। आफू संलग्न मुद्दाको विषयमा वकीलहरूले बहसपछि बाहिरिएर आचरण विपरीत सार्वजनिक अभिव्यक्ति दिएको रिपोर्ट हिमालखबरले माघ १४ गते छापेको थियो।
२०७९ सालमा जारी भएको कानून व्यवसायीको पेशागत आचरण सम्बन्धी नियमावलीमा सार्वजनिक सरोकारको विषय बाहेक कुनै पक्षबाट बहस गरेको विषयमा वकीलले सार्वजनिक अभिव्यक्ति दिन नहुने उल्लेख छ। नियमावलीको नियम ४ को ‘घ’ मा भनिएको छ, ‘आफूले अदालतमा बहस गरेको, कानूनी परामर्श प्रदान गरेको वा आफू संलग्न भएको आदेश वा फैसलाको प्रचारको उद्देश्यले सामाजिक सञ्जाल वा कुनै माध्यमबाट सार्वजनिक प्रकाशनमा ल्याउनु हुँदैन।’
तर वरिष्ठ अधिवक्ताहरूले नै आफू संलग्न मुद्दाबारे सार्वजनिक रूपमा धारणा राख्दै आएका छन्। न्याय सम्पादन प्रक्रिया नै प्रभावित हुन सक्ने भएकाले आफू संलग्न मुद्दामा वकीलहरूले टिप्पणी गर्न नहुने मान्यता छ। सार्वजनिक सरोकारका विषयमा भने यस्तो अभिव्यक्तिलाई रोक लगाइएको छैन।
यो पनि पढ्नुहोस् : व्यावसायिक आचरण विपरीत वकीलको बोली