नेपालमा विद्रोहको शृंखला र लखन थापाको विद्रोहको मूल्यांकन
विद्रोहमा लागेका जनतालाई त्रसित गराउने उद्देश्यले लखन र उनका सहयोद्धालाई जन्मभूमिमा नै झुन्ड्याएर मारिएको थियो।
नेपालमा राज्यसत्ता विरुद्धमा हुने विद्रोहको इतिहास ज्यादै पुरानो छ। लिच्छवि राजा मानदेवका समयमा पूर्वका सामन्तहरूले केन्द्रीय सत्ताको विरुद्धमा विद्रोह गरेका थिए। त्यस विद्रोहलाई दमन गरेपछि राजा मानदेवले ती सामन्तहरूलाई सन्ठ (मूर्ख) भनेका थिए। प्राचीन कालदेखि नै जनविद्रोह दबाउन सैनिक तथा प्रहरी प्रशासनलाई दरिलो बनाएर राखिन्थ्यो। यस विद्रोहलाई सैन्य बलद्वारा नै दमन गरिएको थियो। यस्ता विद्रोहहरू मध्यकाल तथा आधुनिक कालसम्म निरन्तर जारी थिए।
अछामका बाँकावीर (बलदेव)ले राणाशासन विरुद्ध विसं १९०६ मा विद्रोह गरेका थिए। बाँकावीरको विद्रोह सामूहिक भलाइभन्दा पनि राजपरिवारको निजी भएको देखिन्छ। १९०६ पौष सुदी १५ मा कर्णेल खड्गबहादुर कुँवर राणाजी समक्ष अछामका भवानीसिंह र कालुसिंह स्वारले चढाएको बिन्तीपत्रमा बाँकावीर सरकारी निर्देशनमा मारिएको कुरा उल्लेख गरिएको छ। १९०५ सालमा जंगबहादुरले भवानीसिंह स्वारलाई पत्र लेख्दै ‘अछामी रणभीम साहीका भाई बल्देव साही-१, बझाङ्गी अम्बरसिंह भण्डारी-१, गुमानसिंहको भाइ ईश्वर सिंह-१ तीन जना जहाँ फेला पर्छन् काटी दिनु’ भन्ने आदेश दिएका थिए।
गुरुप्रसाद शाह तत्कालीन प्रधानमन्त्री फत्तेजंग शाहका माहिला भाइ थिए। कोतपर्वमा फत्तेजंग शाह मारिएपछि गुरुप्रसाद शाह बनारस पुगेका थिए। यिनी जंगबहादुरको विरोधी राजा राजेन्द्रको गुटमा लागेर सैनिक संगठनमा लागेका थिए। यिनैको उक्साहटमा बलदेव शाही (बाँकावीर)ले विद्रोह गरेको भनाइ पाइन्छ। पछि जंगबहादुरले यिनै गुरुप्रसाद शाहकी बहिनी हिरण्यगर्भकुमारीसँग विवाह गरेर विरोधीहरूलाई आफ्नो पक्षमा मिलाएका थिए।
२०८० भाद्र १९ को हिमालखबरमा उमेश राना गोर्खालीको विस्मृतिमा कतै हराई नजाउन्, शहीद सुकदेव गुरुङ लेख प्रकाशित भएको छ। यस लेखमा सुकदेव गुरुङका बलिदानका इतिहास लेखिएका छन्। यिनी बौद्ध धर्मका अनुयायी र समाज सुधारक थिए। १९३३ चैत्र ५ (दिनेशराज पन्तका अनुसार १९३३ फागुन २३) मा सुकदेव गुरुङको गोरखा जेलमा मृत्यु भएको थियो।
श्रीपति गुरुङ नेपाली सेनाका कालीबहादुर पल्टनका वफादार थिए। यिनले जंगबहादुरको अत्याचार विरुद्धमा संगठित हुन आफ्ना साथीहरूलाई अनुरोध गरेका थिए। यो कुरा थाहा पाएर जंगबहादुरले सारा गुरुङ सेनालाई तोपले उडाउने विचार गरेर टुँडिखेलमा जम्मा गरेका थिए। आफू समेत सबै अनाहकमा मारिने भएको हुनाले एक जना गुरुङ सिपाही अगाडि बढी श्रीपति गुरुङलाई टुक्राटुक्रा पारेर काटिदिएका थिए। यसरी यिनले एक जना गुरुङको हत्या गरेर हजारौं गुरुङलाई बचाएका थिए। यो घटना वि.सं. १९१४ मा भएको थियो।
बेलायती रेजिडेन्ट (राजदूत) जर्ज रामसेका सर्जन ओल्डफिल्डले आफ्नो पुस्तक स्केचेज फ्रम नेपालमा यस सम्बन्धमा विस्तृत वर्णन गरेका छन्। १ जून १८५७ (१९१४ जेठ २०) आइतबारका दिन नेपाल दरबारमा ठूलो खलबली मच्चियो। गुरुङ पल्टनको एक जना जमदारले आफ्ना साथीहरूलाई मिलाई जंगबहादुरलाई मार्ने योजना बनाएको रहेछ। तर त्यसको पर्दाफास भयो। त्यस षड्यन्त्रमा धेरै सिपाही मिलेका छन् कि भनी शंका गरियो। यसका निम्ति सबै पल्टन टुँडिखेलमा जम्मा गराइए। तोप पनि ल्याइए।
गुरुङ पल्टनको अपराध सावित भयो भने त्यस पल्टनका जम्मै सिपाहीलाई एकैपल्ट समाप्त पार्ने विचार पहिले नै गरिएको थियो। तर त्यसो गर्नु परेन। पल्टनको अगाडि बन्दी ल्याइयो। उसको अपराधको प्रमाण देखाइयो, दोष सावित भयो। प्रत्येक पल्टनको समर्थन लिइयो। गुरुङ पल्टनका जवानहरूले बन्दीको पक्षमा सहानुभूति देखाउलान् कि भन्ने शंका थियो। गुरुङ पल्टनका जवानहरूले एकछिन परस्पर कुरा गरे। त्यसपछि तिनीहरू एक्कासि त्यस व्यक्ति उपर जाइ लागे र टुक्राटुक्रा हुने गरी काटिदिए।
लखन थापाको नेतृत्वमा पहिलो जनविद्रोह
माथि उल्लिखित घटनापछि राणाशासन विरुद्धको विद्रोहलाई कप्तान लखन थापा मगरले सशस्त्र विद्रोहका रूपमा अगाडि बढाएका थिए। प्रथम शहीद लखन थापाको सैनिक संगठनको विषयमा जंगबहादुरका कान्छा छोरा पद्मजंगले यसरी लेखेका छन्, ‘लखन थापा आफ्नै असल आचार र नम्रताले गर्दा छोटो समयमा नै १५ सय सेना जम्मा पार्न सफल भएका थिए। यिनले नेपाली सेनाको नेतृत्व गर्ने, राजधानी प्रवेश गर्ने, जंगबहादुरको हत्या गरेर सरकार आफ्नो अधीनमा लिने र त्यसै दिनदेखि नेपालको इतिहासमा भएको स्वर्णिम युग प्रारम्भ गर्ने घोषणा गरेका थिए।’
जीवन आले मगरबाट लेखिएको नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर पुस्तकमा लखन थापा मगरद्वारा गठित जनसरकारको उल्लेख छ। यस अनुसार लखन थापा मगर जनसरकारको प्रमुख (प्रधानमन्त्री), जयसिंह चुमी राना मगर जनसेनाको जनरल, विराज थापा मगर जनसेनाको कर्णेल, जुठया थापा मगर जनसेना कर्णेल, जीतमान गुरुङ जनसेनाको कर्णेल, अजपसिंह थापा मगर जनसरकार सदस्य र अछामी मगर जनसरकार सदस्य, सन्तज्ञान दिलदास, जनसरकार सदस्य, सुकदेव गुरुङ जनसरकार सदस्य, सुपति गुरुङ जनसरकार सदस्य, कालु (कानु) लम्साल, जनसरकार सदस्य र कुराल राना मगर जनसरकार कर्णेल थिए। यस जनसरकारलाई समावेशी बनाइएको थियो। यसमा जोसमनी सन्त परम्पराका सन्तज्ञान दिलदास पनि सामेल थिए। यस जनसरकारमा ब्राह्मणका साथै आदिवासी जनजाति सामेल थिए।
सन् १८५७ मा जंगबहादुर राणाले भारतको सिपाही विद्रोह दमन गर्न सहयोग गरेका थिए। भारतीय स्वतन्त्रताका लागि भएको यो विद्रोह दबाउन नेपालले सैन्य सहयोग गर्न हुँदैन भन्ने लखन थापा मगरलाई लागेको थियो। तर त्यति वेला सेनाको जागीरमा बहाल रहेका लखन थापा मगर बाध्य भएर भारत जानुपरेको थियो। त्यहाँ यिनले भारतीय युवाले देशका निम्ति बलिदान गरेको देखेका थिए। त्यो देखेर लखन थापा मगर पनि सैनिक सेवा परित्याग गरी नेपालमा प्रजातन्त्र स्थापना गराउने उद्देश्य लिई राणाशासन विरुद्धको विद्रोहमा लागेका थिए।
जंगबहादुर पुरातन सोचका थिए भने लखन थापा आधुनिकतातर्फ उन्मुख प्रजातान्त्रिक विचारका थिए। भिन्न उमेर, सोच र चिन्तनको बीचमा द्वन्द्व हुनु स्वाभाविक थियो। जंगबहादुरले निरंकुश शासन सञ्चालन गरिरहेका थिए। त्यसको विपरीत लखन थापा स्वर्णिम राज्यको स्थापना गर्न चाहन्थे।
इसं १८५४ (विसं १९१०)मा बेलायतबाट नेपाल फर्केपछि जंगबहादुरले राष्ट्रका निम्ति पहिलो पल्ट मुलुकी ऐन जारी गरेका थिए। तर यो ऐन अत्यन्तै विभेदकारी थियो। यसमा जातका आधारमा दण्ड दिने व्यवस्था गरिएको थियो। लखन थापा मगर यस्तो कानूनको घोर विरोधी थिए। यिनी समतामूलक आदर्श समाजको निर्माण गर्न चाहन्थे। त्यसैले यिनले जोसमनी सन्त परम्पराका ज्ञानी सन्त ज्ञानदिल दासलाई आफ्ना सहयोगी बनाएका थिए, जो लामिछाने थरका ब्राह्मण थिए। उनीहरू नेपाली समाजमा रूपान्तरण ल्याउन चाहन्थे। यिनीहरूले सामाजिक र राजनीतिक रूपान्तरणका निम्ति वास्तविकतामा गएर चेतना फैलाउने काम गरेका थिए। लखन थापा मगरले समतामूलक समावेशी समाजको परिकल्पना गरेका थिए।
प्रथम शहीद लखन थापा मगर स्वयम् नेपाली सेनाको कप्तान भएको हुनाले यिनलाई सैनिक अनुशासन र संगठनको राम्रो ज्ञान थियो। यिनको सेना समावेशी थियो। यिनको सेनामा सवै वर्ग र समूहका मानिस समाविष्ट थिए। त्यस जनसेनाभित्र कुनै भेदभाव थिएन।
लखन थापाले घर घरबाट हातहतियार ल्याई जनसेनामा सामेल हुन आह्वान गरेका थिए। यिनले गोरखाको बुङ्कोट काहुले भंगारमा आधारशिविर बनाएर राणाशासक जंगबहादुरलाई पदच्युत गर्न काठमाडौं दखल गर्ने योजना बनाएका थिए। उक्त योजना सफल बनाउन सैनिक तालीम तथा प्रशिक्षण दिने गर्दथे। यिनका सेना इमानदार र राष्ट्रभक्त थिए।
बनबासाको शिकारको कार्यक्रम सकिएपछि काठमाडौं फर्कंदै गरेका जंगबहादुरलाई चन्द्रागिरिमा मार्ने प्रयास गरिएको थियो। त्यस षड्यन्त्रबाट जंगबहादुर बचे। त्यस घटनापछि यिनले लखन थापा मगरको विद्रोह दमन गर्न देवीदत्त दल खटाए।
प्रथम शहीद लखन थापा मगर समेत जयसिंह चुमी, विराज थापा, जुठ्या थापा, अजपसिंह थापा, जितमान गुरुङ र पलसिंह अछामी मगरलाई पिंजडामा हालेर ल्याई थापाथली दरबारमा मुद्दा चलाइयो। जंगबहादुरको आदेशमा लखन थापालाई गोरखाको बुङ्कोट काहुले भंगारमा लगेर झुन्ड्याइएको थियो। विद्रोहमा लागेका जनतालाई त्रसित गराउने उद्देश्यले लखन र उनका सहयोद्धालाई जन्मभूमिमा नै झुन्ड्याएर मारिएको थियो।
विसं १९३३ फागुन २ मा प्रथम शहीद लखन थापा मगर र सहयोगी अमर शहीदहरूलाई मृत्युदण्ड दिइएको थियो। इतिहासकार प्रमोदशमशेर राणाले आफ्नो पुस्तकमा लखन थापा मगरलाई प्रथम शहीद मान्नुपर्ने कारण खुलाएका छन्। यिनका अनुसार लखन थापाले जस्तै सैनिक संगठन र जनसरकार गठन गरी नयाँ शासन व्यवस्था ल्याउने सपना त्यसअघि अरू कसैले देखेका थिएनन्।
लखन थापाको विद्रोह र शहादतको मूल्यांकन
लखन थापा मगरको नेतृत्वमा भएको विद्रोह र अन्य विद्रोहमा केही मूलभूत भिन्नता थिए। लखन थापा मगरको विद्रोह नेपालको इतिहासमा पहिलो राजनीतिक विद्रोह थियो। निरंकुश शासन व्यवस्था विरुद्ध जनजागरण गर्ने, संगठन गर्ने, जनसेना र जनसरकार बनाउने उनी नै पहिलो व्यक्ति थिए। पहिलो पटक यस विद्रोहमा हजारौं नेपाली जनताले साथ दिएका थिए। त्यसैले यसलाई नेपालमा निरंकुश शासन विरुद्धको पहिलो जनविद्रोह मानिन्छ। उनको विद्रोहको प्रस्ट उद्देश्य निरंकुश राणाशासनको अन्त्य गर्ने र नेपालमा सुनौलो व्यवस्था (प्रजातन्त्र) ल्याउने भन्ने थियो। यस्तो स्पष्ट राजनीतिक उद्देश्यले विद्रोह गर्ने र उक्त विद्रोह गरेकै कारणले मारिने पनि उनी नै पहिलो व्यक्ति थिए। उक्त विद्रोह मार्फत नै लखन थापाले नेपालमा राजनीतिक आन्दोलन र जनआन्दोलनको प्रारम्भ गरेका थिए। त्यसैले उनलाई नेपालको पहिलो शहीदको सम्मान प्रदान गरिएको हो।
लखन थापा मगरलाई प्रथम शहीद घोषित गर्न सबै दलका सांसद र धेरै इतिहास तथा विद्वान्ले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई तथ्य प्रमाण पेश गरी अनुरोध गरेको परिणामस्वरूप सरकारले उचित मूल्यांकन गरी लखन थापा मगरलाई प्रथम शहीद घोषणा गर्ने जस्तो ऐतिहासिक र राम्रो निर्णय २०७२ असोज ३ गते गरेको थियो। नेपालको राजनीतिक इतिहासका घटनाक्रमको तथ्य-प्रमाण र त्यसको मूल्यांकनका आधारमा उनी नै प्रथम शहीदका हकदार पनि थिए।
तत्कालीन श्री ५ को सरकार, हालका स्थानीय सरकार, सामाजिक संघसंस्था र जनताको सक्रियतामा देशका विभिन्न भागमा प्रथम शहीद लखन थापाका मूर्ति तथा पार्क स्थापना भएका छन्। पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री गोरेबहादुर खपांगीद्वारा शहीद लखन थापा मगरको जन्मस्थान गोरखाको बुङ्कोट काहुले भंगारमा २०६० सालमा पहिलो पटक अर्धकदको प्रतिमा अनावरण भएको छ। उक्त शालिक बनाउन २०५६ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सरकारले स्थानीय विकास मन्त्रालयबाट रु. पाँच लाख बजेट व्यवस्था गरेको थियो।
हालसम्म पोखरा, बुटवल, दाङ (घोराही), चितवन (रामनगर), नेपालगन्ज (खजुरा), रौतहट (चन्द्रनिगाहपुर), सर्लाही (नुनथर), गोरखा बजार, गोरखा प्रवेशद्वार, मनकामना (ढाँडबारी), शहीद लखन गाउँपालिका प्रवेशद्वार, धादिङ सदरमुकाम, नवलपरासी, पाल्पा (तानसेन), हेटौंडा लगायत ठाउँमा प्रथम शहीद लखन थापा मगरको सम्मानमा शालिक राखिएका छन्। यसरी देशव्यापी रूपमा जनस्तरबाट शालिक राखिनुले पनि उनीप्रति नेपाली जनताको उच्च सम्मान रहेको स्पष्ट हुन्छ। लखन थापाको विद्रोहले तत्कालीन नेपाली समाजमा जसरी व्यापक प्रभाव पारेको थियो; त्यसैगरी आज सारा नेपालीले उनको योगदानलाई स्मरण गरी श्रद्धा गरेका छन्।
त्यस्तै, प्रथम शहीद लखन थापा मगरको स्मृति र सम्मानमा नेपाल सरकारले २०७३ मंसीरमा उनको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ।
जनआन्दोलन र शहादती मार्गका लागि नेपाली जनतालाई प्रेरणा प्रदान गर्ने पहिलो प्रजातान्त्रिक योद्धा भएकाले लखन थापा मगर लोकतन्त्र (प्रजातन्त्र) र जनअधिकारका प्रतिमूर्ति हुन्। नेपाल सरकारले प्रथम शहीद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्नु उपयुक्त हुन्छ। हरेक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म ‘शहीद सप्ताह’ र माघ १६ गते ‘शहीद दिवस’ मनाउने गरिएको छ। यस अवसरमा नेपालका प्रथम शहीद लखन थापा मगर लगायत सबै शहीदलाई स्मरण गरी सम्मान गर्नुपर्दछ।
प्रथम शहीद लखन थापा मगरको नाममा संग्रहालय खोल्न पाए उनी सम्बन्धी थप अध्ययन तथा अनुसन्धान गर्न सजिलो हुने थियो। यसतर्फ सरकारले ध्यान दिनुपर्छ। आफ्नो जागीर र जीवनको वास्ता नगरी जीवनको आहुति दिने प्रथम शहीद लखन थापा मगर सहित सम्पूर्ण शहीदप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
{प्रा. उपाध्याय त्रि.वि. इतिहास शिक्षा विभागका पूर्व प्रमुख हुन्। प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तकबाट साभार।}