ब्यांक खाता भाडामा दिंदा चार युवक पक्राउ
दुई हजार रुपैयाँ पाउने लोभमा भारतीय नागरिकलाई ब्यांक खाता चलाउन दिंदा चार युवक पक्राउ परेका छन्।
अनलाइनमा आएको विज्ञापनका आधारमा छोरालाई अमेरिका पठाउन तयार भएका विराटनगरका एक व्यक्तिले ६६ लाख ६७ हजार रुपैयाँ तिरेपछि बल्ल आफू ठगिएको थाहा पाएका छन्।
यूरोप, अमेरिका लगायत देश पठाउने विज्ञापन देखेर विराटनगर महानगरपालिका-११ का महेशकुमार चौधरीले पटक पटक ६६ लाख ६७ हजार रुपैयाँ बुझाएका थिए। भारतीय नागरिकले गरेको प्रचारमा विश्वास गरे पनि उनले नेपालीको ब्यांंक खातामा रकम जम्मा गरेकाले यसमा संलग्न व्यक्ति पक्राउ परेका छन्। ठगी गरेको आरोपमा चार नेपाली र एक भारतीय युवक पक्राउ परेका छन्।
बिहारको अररिया जिल्लास्थित जोगबनी-३ का २३ वर्षीय केशव यादव र खाता खोलेर भारतीयलाई सञ्चालन गर्न दिने चार नेपाली युवक पक्राउ परेका हुन्। भारतीय नागरिक यादव पनि संगठित गिरोहको सदस्य हुन सक्ने प्रहरीको अनुमान छ।
यादवले सामान्य रकम दिएर खाता खोल्न लगाएका मोरङको कटहरी-३ का २२ वर्षीय रोहितकुमार पासवान र ३० वर्षीय बुद्धनारायण मलाहा, विराटनगर-८ का २३ वर्षीय करण भन्ने अमित राय तथा पथरी शनिश्चरे-५ का २५ वर्षीय बोधराज राजवंशी पक्राउ परेका छन्।
चौधरीले छोरा युपेश चौधरीलाई वैदेशिक रोजगारीमा पठाउन अनलाइन विज्ञापनको विश्वास गरेका थिए। “उनीहरूले यस्तो कुरा गर्छन् कि सबै सम्पत्ति उनैलाई दिऊँ जस्तो लाग्छ,” चौधरीले प्रहरीसँग भनेका छन्।
पटक पटक गरेर ठूलो रकम तिरेपछि पनि विदेश नपठाएपछि बल्ल उनी झस्किएका थिए। त्यसपछि आफू ठगिएको शंका लागेर जिल्ला प्रहरी कार्यालय, मोरङमा निवेदन दिएका थिए।
सानो रकमको प्रलोभनमा भारतीय नागरिकलाई ब्यांंक खाता सञ्चालन गर्न दिनेहरू पनि अनलाइन ठगीको गिरोह चलाउने जत्तिकै कारबाहीमा पर्न सक्ने प्रहरीले बताएको छ। गिरोहले सर्वसाधारण नेपालीलाई ब्यांंक खाता खोल्न लगाई ठगीको रकम ती खाता मार्फत प्रयोग गर्ने गरेको पाइएको छ। ब्यांक खाता खोलिदिए बापत नेपालीले सामान्य रकम पनि पाउने गरेको देखिएको छ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सामाजिक सञ्जालको दुरुपयोग गरेर सोझा नागरिकलाई झुक्याउने क्रम बढेको बताए। दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्ने सर्वसाधारणलाई ब्यांक खाता खोल्न लगाएर प्रतिखाता दुई हजार रुपैयाँसम्म दिएको पाइएको छ।
पक्राउ परेकाहरू सर्वसाधारण भए पनि केही रकमका लागि विदेशीलाई ब्यांक खाता प्रयोग गर्न दिएकाले चारै जना नेपालीलाई कारबाहीको दायरामा ल्याइएको डीएसपी जोशीको भनाइ छ।
यस किसिमको अनलाइन ठगीबाट गएको ६ महीनामा मोरङमा २०० जनाभन्दा बढी पीडित छन्। उनीहरूबाट सात करोड रुपैयाँभन्दा बढी रकम ठगी भइसकेको छ।
विराटनगरस्थित नेपाल टेलिकममा कार्यरत कर्मचारी मदनलाल दासको नबिल ब्यांंकको खाता ह्याक गरी एक लाख रुपैयाँ लुटिएको थियो। दासको खाताबाट अर्कै ई-सेवा मार्फत एक साताअघि तीन जनालाई रकम पठाएको पाइएको थियो।
यसखाले समस्या लिएर पीडितहरू दैनिक जिल्ला प्रहरी कार्यालयमा आउने गरेको डीएसपी जोशीले बताए। अनलाइन ठगीको अनुसन्धान गर्ने नेपाल प्रहरीको साइबर ब्यूरो काठमाडौंमा मात्रै रहेकाले जिल्ला तहमा अनुसन्धान प्रभावकारी हुन सकेको छैन।