पत्रकार महासंघलाई हर्क साम्पाङले दिए धम्की प्रमाणित गर्ने चुनौती
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल पत्रकार महासंघलाई पत्रकारलाई धम्की दिएको विषय प्रमाणित गर्न चुनौती दिएका छन्।
साम्पाङले मंगलबार विज्ञप्ति जारी गर्दै पत्रकारलाई धम्की दिएको भन्ने कुरा महासंघले अनर्गल प्रचार गरेको आरोप लगाउँदै कहाँ, कति बजे, कुन मिडियामा के–कसरी धम्की दिएको हो सो प्रमाणित गर्न चुनौती दिएका हुन्।
महासंघले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने, धम्की दिने र थप समाचार लेख्नै नदिने हर्कत भएको भन्दै यस्तो गतिविधि गर्नेमाथि कारबाही गर्न माग गरेको थियो। महासंघले मेयर साम्पाङ सहित प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नहरूलाई कानूनी कारबाही गर्न गृहमन्त्रीसँग माग गरेपछि साम्पाङले मंगलबार यस्तो चुनौती दिएका हुन्।
उनले आफूलाई निरंकुश बनेको आरोप लगाउनुअघि लोकतन्त्रको अर्थ र परिभाषा बुझ्न पनि सुझाव दिएका छन्।
गत मंसीर १४ मा हिमालखबरमा हर्क साम्पाङको मनमौजी शासन, बेथितिको दलदलमा धरान शीर्षकमा खोजमूलक समाचार प्रकाशन भएको थियो। समाचारको विषयलाई लिएर मेयर साम्पाङले समाचार लेख्ने पत्रकार दाहाल र सामाजिक सञ्जालमा शेयर गर्ने नेपाल पत्रकार महासंघ, सुनसरीका तत्कालीन अध्यक्ष जनकऋषि राईलाई मंसीर १९ मा आफ्नो फेसबूक पेजमा ‘चोर-फटाहा’ भनेर गालीगलौज गर्दै खोज पत्रकारिता सिध्याइदिने र नेपालमा शिर ठाडो पारेर हिंड्न नसक्ने बनाइदिने धम्की दिएका थिए।
उनले लेखेका थिए, ‘भोलिको १० बजेको पत्रकार भेटमा मलाई आरोप लाउने त्यो खोज पत्रकारिता गर्ने पत्रकार पनि आउनुहोला! नत्र तँ मूलाको यस्तो बेइज्जत गर्छु कि शिर ठाडो पारेर हिँड्न सक्दैनस् नेपालमा! जनकऋषि भन्ने पनि आउनू! निक्कै फुरफुर गरिस् तिमेरूले, ऐना हेर्दा थुक्ने बनाइनछु भने मेरो नाम हर्क साम्पाङ होइन!’
सोही दिन उनले अर्को पनि धम्कीपूर्ण स्टेटस लेखेका थिए, ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान–१८ को ग्रिन टीमा हाजिर हुनू। अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन! बुझिस् चोर–फटाहा!’
सामाजिक सञ्जाल मार्फत गालीगलौज र धम्की दिएका मेयर साम्पाङले मंसीर २० मा आफू समर्थक यूट्यूबरहरू भेला गरेर पत्रकार दाहाल र राईलाई त्यसरी नै गालीगलौज गरेका थिए। आफूले गाली गरेको भिडिओ खिच्न लगाएर फेसबूक, यूट्यूब र टिकटक जस्ता सञ्जालमा उनी आफैंले शेयर गरेका थिए।
मेयर साम्पाङले नामै तोकेर गालीगलौज र धम्की दिएपछि उनका समर्थकले फेसबूक, मेसेन्जर, ह्वाट्सएप जस्ता माध्यम मार्फत ज्यान मार्नेसम्मका धम्की दिएका थिए। निरन्तरको गालीगलौज र धम्कीपछि नेपाल पत्रकार महासंघको केन्द्रीय समितिले पुस ९ मा केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा अर्का केन्द्रीय सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार हर्ष सुब्बा, महासंघ कोशी प्रदेश समिति अध्यक्ष भरत खड्का र महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले सदस्य रहेको मिडिया मिशन खटाएको थियो।
मिशनको टोलीले मेयर साम्पाङले गालीगलौज र धम्की दिएका पत्रकारहरू, कर्मचारी, स्थानीय प्रहरी, प्रशासन, राजनीतिक दल लगायत विभिन्न पक्षलाई भेटेर प्रतिवेदन तयार पारेको थियो। प्रतिवेदनले मेयर साम्पाङ र उनका समर्थकले पत्रकारलाई गालीगलौज र धम्की दिएको उल्लेख गर्दै प्रतिवेदनको निष्कर्ष सार्वजनिक गरेको थियो।
धम्कीका विषयमा प्रहरी प्रशासनमा उजुरी गर्दा समेत कारबाही नभएपछि महासंघको टोलीले सोमबार गृहमन्त्री रमेश लेखकलाई भेटेर ध्यानाकर्षण गराएको थियो।