सामाजिक सञ्जाल विधेयक : फेक आईडी चलाउनेलाई कैद सजाय हुने
सामाजिक सञ्जालमा बेनामे वा छद्मभेषी आईडी, पेज वा समूह चलाउनेलाई तीन महीनासम्म कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ।
सरकारले माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा बनेको विधेयकमा कैद वा जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संसद्मा विधेयक दर्ता गरेका हुन्।
नक्कली आईडी बनाउन र त्यसबाट पोस्ट, शेयर, कमेन्ट वा कल गर्न नपाइने गरी कानून बन्न लागेको हो। फेक आईडी, समूह वा पेजबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल गलत र भ्रामक सूचना सम्प्रेषण गर्नेलाई पाँच वर्ष कैद सजाय र १५ लाख रुपैयाँ जरिवाना हुने भएको छ।
वेबसाइट, एप, सामाजिक सञ्जाल, ब्लग, एआई टूल्स सञ्चालन गर्न चाहनेले अनुमति लिनुपर्नेछ। त्यस्तै, देश बाहिरबाट सञ्चालित सामाजिक सञ्जालले नेपालमा सम्पर्क बिन्दु राख्नुपर्नेछ।
साइबर बुलिङ गर्नेलाई दुई वर्ष कैद र तीन लाख जरिवाना तथा साइबर स्टकिङ गर्नेलाई तीन वर्ष कैद र पाँच लाख जरिवाना हुने भएको छ। विधेयकमा अरूको आइडी ह्याक गर्नेलाई तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना हुने उल्लेख छ।