हिमालमा चलिरहेको हलचल
जलवायु परिवर्तन र तापमान वृद्धिले हिमालमा तीव्र परिवर्तन आइरहेको छ। यसले निम्त्याउने विपत्तिबाट जोगिन हामी मात्रै होइन, संसारलाई पनि सचेत गराउन जरूरी छ।
पुसको चिसोमा दुई वटा विषयले पर्यावरणीय सचेतनालाई लिएर बहस ततायो, सबैको ध्यानाकर्षण गरायो। पहिलो थियो, प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ। नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भनेका थिए, “नेपालमा बाघ र वन दुवै धेरै भए।”
दोस्रो, माछापुच्छ्रे हिमाल। हिमालखबरमा छापिएको ‘कालो पत्थर जस्तो माछापुच्छ्रे’ रिपोर्टमा हिउँ पग्लिंदै गएर हिमाल कालो भइरहेको उल्लेख थियो। हिउँदको मध्यतिर पनि हिउँ नपर्दा पोखराबाट देखिने माछापुच्छ्रेको दक्षिण मोहडाले झस्काएको थियो।
हिमालयबारे भने सदियौंदेखि चर्चा-परिचर्चा हुँदै आएको छ। धेरै मानिसलाई लाग्छ, तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलरीको सफल सगरमाथा आरोहणपछि मात्र हिमालका चुचुरा चर्चामा आएका हुन्। तर त्यसभन्दा तीन हजार वर्षअघि नै हिमालयका सन्दर्भ सनातनी ज्ञान उपार्जनका स्रोत मानिएका थिए। सनातनको वैचारिकी तय गर्ने दार्शनिकहरूले हिमालयलाई ज्ञान, मीमांसा र सांस्कृतिक वैचारिकी उद्बोधनको विशिष्ट स्रोतका रूपमा निकै महत्त्व दिएका छन्।
तीन हजार वर्ष पूर्वको गीतामा ‘महर्षीणां भृगुरहं गिरामस्म्येकमक्षरम्, यज्ञानां जपयज्ञोऽस्मि स्थावराणां हिमालय: (महर्षिहरूमध्येमा भृगु, अक्षरहरूमध्येमा ऊँ, यज्ञहरूमा जपयज्ञ, अटल र स्थायीहरूमा हिमालय मै हुँ)’ भनिनुले हिमालयको शाश्वत स्थानको अस्तित्व प्रकट गर्छ।
कुमारसम्भवमा पनि लेखिएको ‘कालक्रमेणाथ तयोः प्रवृत्तेस्वरूपयोग्ये सुरतप्रसङ्गे, मनोरयौवनमुद्वहन्त्या गर्भौक्भवद्भूधरराजपत्न्या’ श्लोकले हिमालयलाई पनि जीवित तत्त्व मान्छ र राजपत्नीबाट सुकुमार तथा जाज्वल्यमान् हिमालयको जन्म भएको भन्छ। महादेवकी पत्नी पार्वतीलाई पर्वतराजकी छोरी भनिएको छ। यसको तात्पर्य के हो भने, प्राचीनकालमा हिमालयको पनि व्यक्ति सरहको अस्तित्व स्वीकार गरिएको थियो, हिमालयलाई जीव मानिएको थियो। तत्कालीन समाज र व्यवस्थाले हिमालयको जीवतत्त्व स्वीकार गरेकाले शास्त्रहरूमा माथिका श्लोकले स्थान पाएका हुन्।
हाल पनि संसारका धेरै देशले आफ्ना प्रमुख प्राकृतिक अवयवलाई प्राकृतिक व्यक्तिको अधिकार प्रत्यायोजन गरेका छन्। कोलम्बियाले अमेजन नदी र जंगल तथा न्यूजिल्यान्डले तारानाकी पहाड र वाड्गुनाई नदीलाई प्राकृतिक व्यक्ति सरहको अधिकारले सज्जित गरेका छन्। अहरणीय अधिकारको कानूनी प्रबन्ध गरिएको छ।
त्यस्तै, बोलिभियाले ‘मदर अर्थ’ कानून ल्याएको छ। पानामा, क्यानडा, उत्तरी आयरल्यान्ड, भारत लगायत दर्जनौं देशले प्रकृतिमाथि मानव हस्तक्षेप नियन्त्रण गर्न कानूनी प्रबन्ध गर्न थालेका छन्। यी सबै प्रयत्नको कानूनी दार्शनिकीमा प्रकृतिको अधिकार अघि सारिएको छ। सनातनी सभ्यताका सारभूत प्रकृतिकेन्द्रित मन्त्रहरू आधुनिक कानूनी सिद्धान्तको ज्ञानको स्रोत मानिन थालेका छन्। इक्वेडरको संविधानले प्रकृतिको संवैधानिक अधिकार प्रतिपादन गरेको छ।
नेपालमै पनि कतिपय जंगली जनावर र वनस्पतिको प्राकृतिक व्यक्ति सरहको अधिकारबारे कानूनी प्रावधान छन्। बाघ, गैंडा, हात्ती, हाब्रे, सालक लगायत दर्जनौं प्राणीको प्राकृतिक उद्विकासको सिद्धान्त अवलम्बन गर्दै उनीहरूको अहरणीय अधिकारलाई कानूनी मान्यता दिइएको छ। यसले प्राकृतिक तत्त्वको जीवन सुरक्षा सुनिश्चय गरेको छ।
नेपालले ‘कन्भेन्शन अन बायोलोजिकल डाइभर्सिटी’ मा हस्ताक्षर गरेको छ। यस सन्धिले भिन्नाभिन्नै स्रोतबाट उपलब्ध जीव वा प्राकृतिक अवयवका साथसाथै लौकिक, सामुद्रिक र अन्य पारिस्थितिक प्रणाली तथा जटिलता जस्तो प्रजातिको विविधता, विविध जैविक स्रोतका साथै आनुवंशिक, प्राकृतिक तत्त्वसँगै संख्या र पारिस्थितिक पद्धति लगायत अन्य कुनै पनि जैविक अवयव संरक्षणको अन्तर्राष्ट्रिय कानूनी प्रबन्ध गर्छ।
माथि उल्लेख गरिएका संस्कृतका दुई ग्रन्थका प्रसंगले हाम्रो रैथाने प्रज्ञान सम्प्रदायको प्रबोधन र मनोभावनात्मक संवेगहरूको संरचनात्मक आधार तयार पारेका छन्। हाम्रो दार्शनिकीको प्रस्थानबिन्दु धर्तीको यसै कुनामा प्रकृति अनुकूल संगठित ज्ञान बोध हो। दीपक लुंगेलीले ऐतिहासिक इमानसिंह चेम्जोङलाई उद्धृत गर्दै लेखेका छन्, ‘मुन्धुम जीव र निर्जीव दुवैको प्राकृत अन्तरसम्बन्ध व्याख्या गर्दछ। प्रत्येकको अस्तित्व प्रत्येकसँग सन्निहित छ र ती सबै प्राकृत तत्त्वहरू एकअर्काका पूरकका रूपमा काम गर्दछन्।’
मुन्धुम ज्ञान सम्प्रदायमा प्रकृतिमाथि दिइएको महत्त्व उजागर गर्दै लुंगेली लेख्छन्, ‘नदीले पहाडको, बाँसले खोलानालाको, हिउँले हिमालयको, कीराफट्यांग्राले चराको, जनावरले जंगलको, माछाले खोलाको र ज्ञानले मान्छेको सुन्दरता बढाएका छन् (दीपक लुंगेली, द आउटलूक : जर्नल अफ इङ्लिश स्टडीज, भोल्युम : ११ जुलाई २०२०, पृष्ठ : १४-२३)।’
आधुनिक पर्यावरणीय, जीव, वनस्पति, पानी वा वायुमण्डलीय विज्ञानले यी दार्शनिक अवधारणालाई विशिष्टीकृत रूपमा प्रमाणित गर्दै आएका छन्। माछा विनाको पानी, हिउँ विनाको हिमालय, जंगल विनाको पहाड वा फाँट कल्पना गर्नु मृत संसारको भोग गर्नु सरह हुनेछ।
मुन्धुमी खासगरी याक्थुङ्बा समुदायले आफ्नो मुन्धुमी ज्ञान सम्प्रदायलाई पाँच हजार वर्षको मानवीय सभ्यता र ज्ञान-मीमांसाको संग्रह मान्छ। मुन्धुमी विश्वासका यी आधारस्तम्भ आज अनेकन् राज्य र ती राज्यभित्र बसोबास गर्ने अनेकन् समुदायले आफ्नै भाषा र संस्कृति अनूकल व्याख्या गरिरहेका छन्। अमेरिका बन्नुअघिका अमेरिकीको प्रकृति संरक्षण र प्रयोगका समकालीन सूत्रहरू नेपालको रैथाने ज्ञान निकट छन्। दक्षिण अमेरिकाका आदिवासीले सिमीलाई भगवान्को भाइ मानेका थिए।
नेपालमा लिम्बू मात्र नभएर तामाङ, मगर, गुरुङ, राई लगायत आदिवासी जनजातिको आधारभूत विश्वास र परम्परा प्राकृत छन्। प्रकृतिपूजक छन् र प्रकृतिको सान्निध्यमा आफ्नो र परिवारको आकांक्षापूर्तिका लागि प्रयासरत छन्। प्रख्यात हिमाल आरोही शेर्पाहरूले हिमालयलाई सबैभन्दा ठूला देवता मान्छन्।
यी समुदाय ज्ञान पाठशाला हुनुपर्ने हो, तर सरकारी पदाधिकारीले रैथाने ज्ञानबाट प्रशिक्षित-दीक्षित हुन चाहेनन्। यसको बदला कुनै छेउटुप्पो फेला पार्न नसकेको मार्क्सवाद र तथाकथित समाजवादको दिग्भ्रमित विचार सम्प्रेषणमा समय फाल्दै आएका छन्। प्रधानमन्त्री ओलीको बाघ र वन सम्बन्धी भनाइलाई पनि यसै कोटिमा राख्न सकिन्छ।
साँच्चै राजकीय जिम्मेवारी वहन गरिरहेका व्यक्तिहरू हिमालप्रति संवेदनशील छन् भने हिमाली समुदायको ज्ञान, भावना, विद्वत्ता र आवश्यकतालाई उजागर गर्नतिर लाग्नुपर्छ। त्यसलाई राज्यको पर्यावरणीय नीतिमा स्थान दिनुपर्छ। अन्यथा केही नेता, सरकारी कर्मचारी र आसेपासेलाई राखेर गरिने सगरमाथा संवादको उद्घाटनले कुनै सारभूत परिवर्तन ल्याउने देखिंदैन।
हिमाल के हो, के होइन?
भौतिक रूपमा हिमाल पहाडहरूको एक समूह हो। लगभग पाँचदेखि ६ करोड वर्ष पहिले उत्पत्ति भएको मानिएको हिमालय त दक्षिणएशियाको जीवनप्रदायी हो। दिनचर्याको अभिन्न हिस्सा हो। जैविक, सांस्कृतिक र पर्यावरणीय विविधताको जननी हो। पिउने र सिंचाइका लागि पर्याप्त पानीको स्रोत हो। मौसम, तापमान र पर्यावरणीय चक्रको निर्धारक हो, हिमालय।
दक्षिणएशियाको डेढ अर्ब जनसंख्या हिमालयमै आश्रित छ। सिन्धु, मेकङ, गंगा, ब्रह्मपुत्र, कोशी, गण्डकी, कर्णाली, महाकाली जस्ता नदी हिमालय र हिमनदीका देन हुन्। अझ विशिष्टीकृत गरेर भन्दा हिमालय नेपालको सार्वभौमसत्ता संरक्षक र विश्व पहिचानको पहिलो आधार हो।
हिन्दूकुश हिमालय क्षेत्रको एक लाख १४ हजार ८०० वर्गकिलोमिटर क्षेत्र हिउँले ढाकिएको छ। हिमालका टाकुरा मात्र नभएर भन्ज्याङ, गल्छी, पठारमा हिउँ जमेको हुन्छ। तैपनि पछिल्ला १०० वर्षमा हिमालय र उत्तरी पठारमा तापक्रम अचाक्ली बढेको छ। सन् १९०१ देखि १९५० को बीचमा ०.१ डिग्री सेल्सियस बढेको तापमान सन् १९५१ देखि २०१४ सम्ममा ०.२ डिग्री सेल्सियसले बढेको पाइएको छ।
यसमा पनि चार हजार मिटरभन्दा माथि प्रतिवर्ष ०.५ डिग्री सेल्सियसका दरमा बढेको विज्ञहरूले बताउँदै आएका छन्। सन् २१०० को शुरूमै हिमालयको तापमान २.६ देखि ४.६ डिग्री सेल्सियस बढ्न सक्ने अनुमान छ। यदि त्यस्तो भयो भने हिमालयमा हिउँ देखिन पुस नै पर्खिनुपर्नेछ।
त्यस्तै, चुचुराको दक्षिणतिर बाह्रै महीना जमिरहने पहाड, खोंच, गल्छी र पठारहरू पनि हिमालयकै अंश हुन्। तुषारो जस्तै जमिरहने यी क्षेत्रले हिमालयलाई चिसो पार्नमा मद्दत गरिरहेका हुन्छन्। यससँगै जमीन चिस्याइराख्न र तल्लो भेगमा भूमिगत पानी पुनर्भरणको काम गर्छन्।
तर हिमालयको फेदसम्म डोजरले बाटो खन्ने, यसरी खनिएका कच्ची बाटोमा थोत्रा गाडी चलाउने र तातेको धूलो हिमालका चुचुरासम्म पुर्याउने, हिमाल नजीकका पहाडमा केबलकारको अनुमति दिने र अझ चार हजार मिटरभन्दा माथि पनि केबलकार सञ्चालन गर्ने विध्वंसक नीतिहरू बनाइएका छन्। हिमालयको ठीक मुनितिर पाँच हजार मिटरसम्मको भूभागको जंगल मासेर उजाड बनाइएको छ।
यस्तो वेला पनि नेतृत्वमा संवेदनशीलता देखिंदैन। चीनसँगको छलफलमा हिमालयमाथि पर्यावरणीय दुश्चक्र सामनाको विषय पर्दैन। भारतसँगको द्विपक्षीय वार्तामा पर्यावरण, हिमालय र प्रदूषणका मुद्दालाई स्थान दिइँदैन। हिमालमाथि परेको पर्यावरणीय प्रभावको साक्षी शेर्पा समुदायलाई नीतिनिर्माणमा सहभागी गराइँदैन। समुद्री किनारका देशका अनुभव र उनीहरूले जलवायु परिवर्तनलाई लिएर अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको ‘नेगोसिएशन’ को क्षमतावृद्धिबाट सिक्न खोजिंदैन।
आन्तरिक रूपमा र छिमेकीसँग सहकार्यको पहल विना अन्तर्राष्ट्रिय मञ्चमा हिमालय पग्लियो भन्दै रुन्चे स्वरमा गरिने बिलौनाले खास नतीजा निकाल्न सक्दैन। त्यसैले नेपालले हिमालयको कानूनी अधिकार संरक्षित गर्नु पहिलो शर्त हुनुपर्छ। त्यसपछि हिमालको हिउँ पगाल्न भूमिका खेल्ने छिमेक र विकसित देशसँग प्रबुद्ध ‘नेगोसिएशन’ थाल्नुपर्छ।
शुरूआत सगरमाथा संवाद
प्रधानमन्त्री ओलीले सगरमाथा संवादको घोषणा गरेका छन्। तर यसको ब्यानर नै एकपक्षीय देखिएको छ। सगरमाथा त हिमालहरूको समूहको एउटा हिमाल हो। संसारमै आठ हजार मिटरभन्दा अग्ला हिमाललाई आश्चर्यका अतिरिक्त प्रकृतिको अनुपम देन मानिएको छ। आठ हजार मिटरमाथिका २० मध्ये १४ हिमाल नेपालमै छन्। त्यसमध्ये एक सगरमाथा महालंगुर शृंखलाको अग्लो हिमालय हो। हिन्दूकुश हिमालयको नेतृत्व गर्न हिमालय संवाद उपयुक्त हुन्थ्यो।
हिमालयको चर्चा गर्दा पनि पूर्वी नेपाल, अझ सगरमाथा र गण्डकी क्षेत्रका हिमालको मात्र नाम आउने गरेको पाइन्छ। पश्चिम नेपालमा रहेका अपी र साइपाल लगायत हिमाल, तिनका भन्ज्याङ, गल्छी र पठारबारे पर्याप्त सूचना सार्वजनिक गरिएको छैन। जसले गर्दा संसारभरका आरोही पनि महालंगुर हिमशृंखलातिर मात्र केन्द्रित छन्। राजनीतिक सक्रियता पनि पश्चिमको भन्दा पूर्वकै प्रभावकारी छ।
केही दशकअघिसम्म पूर्वको पनि अवस्था उस्तै थियो। हिमालयबारे शेर्पा समुदाय मात्र थोरबहुत जानकार थियो। आरोहणमा आएको उभारले पर्यावरणको मात्र नभएर राजनीतिक मुद्दा हुन पुगेको छ र बाँकी विश्वसँगको नेपालको सम्बन्धमा कतै न कतै हिमालय जोडिएको छ।
हिमालय जोगाउनु भनेको आइसको ढिक्का लगेर चुचुरोमा राखिदिनु होइन। समग्र हिमाली क्षेत्र र त्यसको तापमान नियन्त्रणमा योगदान गरिरहेको तराई, चुरे, तल्लो र माथिल्लो पहाडको पर्यावरणीय चक्र सन्तुलनमा राख्नु हिमालय जोगाउने प्राथमिक आधार हुन्। तराई र चुरेका वनले दक्षिणतिरबाट आउने तातो हावा चिस्याउने काम गर्छन्। पहाड र त्यहाँ भएको जंगलले तातो हावा उत्तरतिर जानबाट रोक्छन्। अनि न हिमाली क्षेत्र चिसो रहन्छ, हिउँ पर्छ।
लेखक मुर्रे बुकचिनले ‘सोसल इकोलोजी’ बारे भने झैं सामाजिक समस्याहरू कुनै न कुनै रूपमा पारिस्थितिक प्रणालीसँग सम्बन्धित हुन्छन्। नेपालका सामाजिक समस्या पनि पारिस्थितिक जटिलतासँग गाँसिएका छन्। जुन जटिलता राजनीतिका पेचिला सवाल भइसकेका छन्। भलै, सरकारमा रहनेहरूले यी जटिलताका आयाम र आयतन बुझून् वा नबुझून्!
हिमालमाथिको नकारात्मक वातावरणीय प्रभाव न्यून गर्न पर्यटन व्यवस्थापनको रणनीतिक कौशल अवलम्बन गर्नुपर्छ। हिमालय वा सगरमाथालाई रोयल्टी नामको सानो रकमसँग सौदा गरिरहेको नेपालले हिमालयले दिएको पानीले पालिरहेको करोडौं जनसंख्या, मौसम सन्तुलन, मनसुन निर्धारण र संसारको तापमान नियन्त्रणमा गरिरहेको योगदानको हिसाब निकाल्नुपर्छ।
जलवायु परिवर्तन र पर्यावरणीय व्यवस्थापनका राष्ट्रिय रणनीतिहरू समुदाय लक्षित बनाउनुपर्छ। नेतृत्वकर्ताले किताब पढेकाहरूभन्दा पनि रैथाने सीप र सम्बन्धित क्षेत्रको जलवायु र वातावरणप्रति जानकार समुदायलाई सञ्चारको मूलधारमा ल्याउनुपर्छ। हिमाली विविधता संरक्षण, हिमाली क्षेत्रको प्राकृतिक अवयवको पुन:स्थापनाका लागि रैथाने प्रज्ञानको प्रयोगका लागि रणनीतिक कार्ययोजना बनाउनुपर्छ।
नेपालले आफ्ना आवश्यकता र चुनौतीबोध गरेर पेरिस सम्झौता र क्योटो प्रोटोकल मानेको हो। हुन पनि जलवायु परिवर्तनले सबैभन्दा बढी असर हाम्रा हिमालमा परेको छ र पर्नेछ। अझ अहिले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पेरिस सम्झौताबाट बाहिर निस्कने घोषणाले संसार नै तरंगित बनेको वेला हिमाल र जलवायु परिवर्तनको असरबारे संसारलाई सुनाउने थलो सगरमाथा संवादलाई बनाउन सक्नुपर्छ।