धनपालगढीमा धरोहर मास्ने विकास
धनपालगढी क्षेत्रमा परम्परागत सामग्री र शैली छाडेर जथाभावी रूपमा कंक्रिटको संरचना निर्माण गरिंदा ऐतिहासिक-सांस्कृतिक थलो वनभोज स्थलमा सीमित बन्ने जोखिम देखिएको छ।
नेपाली बृहत् शब्दकोशमा ‘गढी’ शब्द ‘गढ’ बाट बनेको उल्लेख छ। गढको अर्थ लेखिएको छ, ‘प्राचीन राज्य–व्यवस्थामा सुरक्षाको बन्दोबस्त मिलाउने ठाउँ वा गौंडो, सेना वा हातहतियार तैनाथ गरिएको ठाउँ, गढी, किल्ला, दुर्ग।’
यस अर्थमा मोरङको बेलबारी नगरपालिका-५, कसेनीमा रहेको धनपालगढी प्राचीनकालको सैनिक अड्डा हो। यो गढी आदिवासी थारू राजा धनपालको दरबार क्षेत्रका रूपमा रहेको बुझाइ छ। गढीमा धनपाल मन्दिर छ। मन्दिरमा थारू समुदायले हरेक वर्ष वैशाखमा विशेष पूजा गर्छ। पूजामा अन्य समुदाय पनि सहभागी हुन्छन्।
धनपालगढी अहिले धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थलका रूपमा स्थापित छ। देशको पर्यटन प्रवर्द्धनका लागि नयाँ गन्तव्य पहिचान तथा विकास गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७५ सालमा सार्वजनिक गरेको १०० गन्तव्यको सूचीमा धनपालगढी पनि परेपछि यसको चर्चा फराकिलो भयो। घुम्न रुचाउनेहरूको रोजाइमा पर्न थाल्यो। विगतमा वैशाखमा लाग्ने मेलामा मात्र सीमित गढी क्षेत्र घुम्ने गन्तव्य र वनभोज स्थलका रूपमा स्थापित हुँदै गएको छ। धनपालगढी व्यवस्थापन समितिकी उपाध्यक्ष मन्दिरा थापाका अनुसार गढीमा पर्यटकको संख्या बढिरहे पनि आवश्यक पर्यटन पूर्वाधार निर्माण हुन सकेको छैन। बजेटको अभावले पिरोलिरहेको छ।
को थिए धनपाल?
धनपाललाई थारू राजा मानिन्छ। कसै कसैले धर्मपाल पनि भन्ने गरेका छन्। इतिहासको कुनै कालखण्डमा वर्तमान मोरङ जिल्ला लगायत कोशी पूर्वका समथर भूभागमा थारू राज्य थियो भन्ने जस्ता भनाइ पाइन्छन्। कसैले यही क्षेत्रलाई कोच राज्य पनि भनेका छन्। गोरखा राज्य विस्तार हुनुभन्दा पहिला यी क्षेत्र सेन राज्य अन्तर्गत पर्थे। सेन राज्य मातहत साना-ठूला धेरै वटा गढी थिए। ती सिन्धुलीगढी, विजयपुरगढी, चौदण्डीगढी, उदयपुरगढी, हतुवागढी लगायत थिए। त्यस्ता गढीमा स्थानीय प्रशासकका रूपमा केन्द्र राज्य सेनप्रति वफादार मुखियाहरू थिए। तिनीहरूले आफूलाई राजा नै मान्थे, तर ती वास्तविक राजा नभएर थपना राजा वा छोटे राजा थिए। उनीहरूको शासन क्षेत्र स्वायत्त थियो, तर स्वतन्त्र हैन।
तर धनपालगढी सेनवंशको शासनभन्दा धेरै पुरानो मानिन्छ। प्रा.डा. गोपाल शिवाकोटीले थारू जाति किताबमा मोरङ जिल्लामा थारूहरूको राज्य भएको उल्लेख गर्दै लेखेका छन्, “विराटनगरबाट २१ किलोमिटर उत्तर-पूर्व कसेनीमा थारू राजा धनपाल वा धर्मपालको राजधानी, गढीको भग्नावशेष रहेको छ। त्यस वेला ठूला गढीहरूलाई नै राजधानीका रूपमा प्रयोग गरिन्थ्यो। यो गढीमा धनपाल मन्दिर समेत छ। प्राचीन कालमा दरबार वा गढीभित्र मन्दिरहरू बनाउने गरिन्थ्यो। यो धनपालगढीको क्षेत्र ३५ बिघा क्षेत्रफलमा फैलिएको छ। धनपाल थान विराटनगरको १२ किलोमिटर पूर्व कदमाहाको राजवाडामा रहेको छ। ... ... यो स्थानमा पाइएका इँटाहरूको आकारप्रकार एवं बनोटले गर्दा धनपाल आफ्नो समयमा शक्तिशाली राजा थिए भन्ने स्पष्ट हुन्छ।”
तर उनको राज्य कहाँदेखि कहाँसम्म कत्रो थियो, कहिले थियो, उनी अघि र पछिको अवस्था के-कस्तो थियो, यी विषयमा खोज-अनुसन्धान हुन नसक्दा प्रामाणिक तथ्य सार्वजनिक भएको छैन। गढीका भग्नावशेषहरू भौतिक रूपमा भए पनि धनपालको व्यक्तित्वबारे प्रस्ट भइनसकेको हुनाले मिथकका पात्र हुन् कि जस्तो अवस्था छ। स्थानीय थारू जाति धनपाललाई आफ्नो पूर्वज राजाका रूपमा मान्छन्।
लोप हुने अवस्थाबाट संरक्षण
उहिले उहिले गढी क्षेत्र वरिपरि इँटाको पर्खाल, बीचमा दरबार र दरबार वरिपरि सात वटा पोखरी रहेको आफ्ना पूर्वजले देखेको स्थानीयहरू बताउँछन्। तीन वटा पोखरी अहिले पनि देख्न सकिन्छ। यी पोखरीमध्ये दुई वटाका संकेत मात्रै देखिन्छन् भने पोखरीकै रूपमा रहेको एउटामा हिउँद याममा पानी हुँदैन।
गढीक्षेत्रका इँटा स्थानीयले खोतल्दै घर लगेका कारण अहिले नदेखिने बताइन्छ। गढीको पुरातात्त्विक अध्ययन गर्न भनेर पुरातत्त्व विभाग काठमाडौंबाट टोली आएको तर उनीहरूले के अध्ययन गरे, के निष्कर्ष निकाले, प्रतिवेदनमा के लेखे, कसैलाई पनि थाहा नभएको स्थानीय धर्मलाल विश्वास बताउँछन्। गढीमा पाइएका इँटाहरू लुम्बिनीमा पाइएका बुद्धकालीन इँटासँग मिल्दाजुल्दा रहेको पुरातत्त्वको टोलीले आफूहरूसँग कुराकानीमा बताएको उनी सम्झन्छन्।
धनपालगढी क्षेत्रको बीचमा पूजा थान र सबैतिर जंगल थियो। वरिपरिका बासिन्दाको अतिक्रमणमा परेर गढीको अस्तित्व नै समाप्त भइसकेको थियो। स्थानीयहरूले जंगल मासेर बस्ती बसाई बाली लगाउन थालिसकेका थिए। २०३६ सालमा तत्कालीन मोरङ जिल्ला पञ्चायतका उपसभापति केशवबहादुर बस्नेतको अगुवाइमा जिल्ला प्रशासनले हात्ती र प्रहरी लगाएर बस्ती खाली गरिएको थियो, र सार्वजनिक ऐतिहासिक तथा सांस्कृतिक स्थलका रूपमा गढी क्षेत्र संरक्षणको थालनी गरिएको थियो। २०४१ सालमा त्यहाँ वृक्षरोपण गरियो।
२०४४ सालमा लोहन्द्राको बाढी गढी नजीकैको खोल्सातिर पसेर गढी उत्तरको धेरै जमीन कटान गर्यो। त्यसबाट जोगिएको जमीनलाई बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्ष पन्नालाल विश्वासको नेतृत्वमा धनपालगढी संरक्षण र विकासको संस्थागत पहल थालियो।
कंक्रिट संरचना र फोहोरको चुनौती
प्राकृतिक सम्पदा एवम् धार्मिक क्षेत्रमा संरक्षण र सौन्दर्यको नाममा अत्यधिक कंक्रिट संरचना निर्माण गरिनु र मौलिक परम्परागत शैली र सामग्रीलाई बेवास्ता गरिनु हामीकहाँ आमप्रवृत्ति देखिंदै गएको छ। धनपालगढीको विकासमा पनि त्यो कुरा लागू भएको छ। यो क्रम २०५४ सालबाट शुरू भएको मान्न सकिन्छ। त्यस वर्ष परम्परागत सामग्री रहेको थानको ठाउँमा सिमेन्टको प्रयोग गरेर धनपाल मन्दिर बनाइएको थियो।
१०० पर्यटकीय गन्तव्यमा सूचीकृत भएपछि गढी क्षेत्रमा आठ करोड रुपैयाँको लागतमा विभिन्न संरचना बनाइएका छन्। यस्तै, केन्द्र, प्रदेश र स्थानीय सरकारका बजेटबाट पनि फुटकर निर्माणका काम भएका छन्। जसमा ३२ बिघा क्षेत्रफल घेराबार, तीन प्रवेशद्वार, भवनहरू, टेनिस कोर्ट, शौचालय, फलैचा र वनभोजको सहजताका लागि छाप्राहरू निर्माण गरिएका छन्।
बोल्दा सबैले धनपालगढीलाई थारू इतिहास र संस्कृतिसँग जोड्छन्, तर यहाँ निर्माण भइसकेका र हुने क्रममा रहेका कुनै पनि भौतिक संरचनामा स्थानीय संस्कृति र परम्परागत सीप, शैली र सामग्रीको प्रयोग देखिंदैन। भौतिक संरचनाहरूमा थारू बान्की तथा परम्परागत सीप र शैलीको कुनै संकेत छैन। धनपालगढी रहेको बेलबारी नगरपालिका वडा नं. ५ का अध्यक्ष डिल्लीबहादुर कटुवाल धनपालगढीभित्र गरिने निर्माण कार्य थारू जातिको पहिचान झल्किने गरी गरिने बताउँछन्।
अर्कातिर, धनपालगढीको विकास र प्रवर्द्धनको लय बरालिएको जस्तो देखिन्छ। यसको पुरातात्त्विक खोज-अनुसन्धान गरी ऐतिहासिक पक्ष पत्ता लगाउने, अस्तित्वमा रहेका भग्नावशेषलाई पुनर्जीवन दिने र यसलाई पुरातात्त्विक थलोका रूपमा विकसित गर्ने विषयलाई वास्ता नगरी धमाधम कंक्रिट र रडबाट संरचनाहरू ठड्याइँदै छन्। बचेखुचेको जंगल मासिंदै छ। अस्तित्वमा रहेको एक मात्र पोखरीको झाडी फाँड्ने काम समेत नहुँदा त्यो पनि नाशिने अवस्था देखिन्छ। गढीको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वलाई ओझेल पार्ने गरी भवनैभवन निर्माण गरी विशुद्ध वनभोज स्थलका रूपमा विकास गर्नेतिर व्यवस्थापन समितिको नेतृत्व लागेको आभास हुन्छ।
केही वर्षदेखि वनभोजको मौसममा यहाँ ठूलो भीडभाड हुने गरेको छ। टाढा टाढाबाट दैनिक दर्जनौं समूह आउँछन्। सार्वजनिक बिदाको दिन त थेगिनसक्नु ओइरो लाग्छ। वनभोज खान आउने हरेक समूहबाट व्यवस्थापन समितिले ५०० रुपैयाँ लिने गरेको छ। तर सरसफाइमा पटक्कै ध्यान दिएको छैन। वनभोज खान आउने पर्यटकले जताततै फोहोर गर्न बहादुरी देखाए झैं लाग्छ, त्यसमाथि सरसफाइमा व्यवस्थापन समितिको बेवास्ताका कारण गढी क्षेत्रमा फोहोरको डंगुर हुन्छ।
गत पुस २७ गते गढी क्षेत्रमा पुग्दा वनभोजका लागि ५० भन्दा धेरै समूह थिए। दुई हजार जति मान्छे थिए। अधिकांश समूहका सदस्यमा प्लास्टिक, कागज, उब्रिएका खानेकुरा जताततै फाल्नु राम्रो हैन भन्ने चेतना देखिएन। कुनै पनि समूहले आफूले उत्पादन गरेको फोहोर एक ठाउँमा बटुलेको देखिएन। त्यसो हुनुमा व्यवस्थापन समितिको अव्यवस्थापन नै कारक थियो। फोहोर राख्ने भाँडा कतै राखिएको थिएन। फोहोर गर्न नहुने व्यहोराका सन्देशहरू पनि देखिएनन्। ऐतिहासिक र सांस्कृतिक महत्त्वको यस गढी क्षेत्रको गरिमा र संरक्षणका लागि यी कार्य प्रतिकूल छन्। वेलैमा सुधार गरियोस्।