सानो बिरालो, ठूलो महत्त्व
पश्चिम तराईमा खियाथोप्ले बिरालो भेटिएसँगै नेपाल पनि सबैभन्दा सानो आकारको बिरालोको वासस्थानमा दरिएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज भन्ने बित्तिकै आन्तरिक तथा बाह्य पर्यटकको दिमागमा पाटे बाघ आउँछ। एकसिंगे गैंडा र हात्ती त भए नै। पछिल्लो पटक भने सबैभन्दा सानो बिरालोमा पर्ने खियाथोप्ले बिरालो पाइने संरक्षित क्षेत्रका रूपमा परिचित बनेको छ।
बर्दियामा खियाथोप्ले बिरालोको अभिलेख भएसँगै नेपालमा फेलिड अर्थात् बिरालो प्रजातिको संख्या १२ पुगेको छ। २०६९ सालमा पहिलो पटक बर्दियामा खियाथोप्ले बिरालो देखिएको हो।
सदा झैं स्थानीय नेचर गाइड रामजन चौधरी एक विदेशी पर्यटकलाई निकुञ्ज घुमाउँदै थिए। त्यही क्रममा पर्यटक ए. किलफर्डले बिरालोको तस्वीर खिचे। हेर्दै जाँदा त त्यो खियाथोप्ले बिरालो भएको पत्ता लाग्यो। त्यो नै नेपालमा खियाथोप्ले बिरालोको पहिलो तस्वीर थियो।
त्यसपछि केही समय खियाथोप्ले बिरालो देखिएन। चार वर्षपछि २०७३ सालमा बाघ गणना गर्न राखिएको क्यामेरामा खियाथोप्ले बिरालो देखिएको थियो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोष नेपालको सहकार्यमा बाघको गणना भएको थियो। यसरी खियाथोप्ले बिरालो नेपालमा रहेको पुष्टि भयो।
खियाथोप्ले बिरालोको अंग्रेजी नाम ‘रस्टी इस्पोर्टेड क्याट’ हो। यसको वैज्ञानिक नाम भने ‘रियोनेलुरस रुबिजिनोसस’ हो। यो बिरालो प्रजातिलाई आईयूसीएनले संकटापन्न प्रजातिका रूपमा सूचीकृत गरेको छ। विश्वभर सबैभन्दा सानो बिरालो प्रजाति हो यो।
अझै सरल रूपमा भन्दा हाम्रो घरमा पालिने बिरालोभन्दा आधा सानो हुन्छ। यसको तौल ८०० ग्रामदेखि १.६ किलोग्रामसम्म हुन्छ। यो बिरालोको शरीरमा खिया लागेको जस्ता भुत्ला र थोप्लाथोप्ला पनि हुन्छन्। त्यसैले यसलाई खियाथोप्ले बिरालो भनिएको हो।
खियाथोप्ले बिरालोको आँखा निकै तेजिलो हुन्छ। यसले मानिसभन्दा ६ गुणा राम्रोसँग देख्न सक्छ।
यो बिरालो प्रजाति नेपालमा संरक्षित क्षेत्रमा मात्रै भेटिएको छ। नेपालको पश्चिमी तराई भेगको बर्दियासँगै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि रहेको अभिलेख छ। २०७६ सालमा छापिएको एक अनुसन्धानपत्र अनुसार यो बिरालो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँट नजीकै बाटोमा मृत अवस्थामा भेटिएको थियो।
यो बिरालो नेपाल बाहेक भारत र श्रीलंकामा भेटिन्छ। नेपालसँग सिमाना जोडिएको भारतको पिलिभित टाइगर रिजर्भ र कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीमा खियाथोप्ले बिरालो भेटिएको छ।
यो बिरालो सरल र सहज तरीकाले रूख चढ्न सक्छ। साथै आफ्नो आश्रयस्थलका लागि रूखका टोड्का र ठूलो ढुंगाको ओढारमा बस्छ। बाघले जस्तै यसले पनि आफ्नो इलाका निर्धारण गर्छ।
यो बिरालो प्रजाति निशाचर हुन्छ। यसको आनीबानी, आहाराबारे निकै कम अध्ययन भएको छ। तथापि यो बिरालो प्रजातिले मुसा, छेपारो र भ्यागुता खाने गर्छ।
नेपालमा पनि खियाथोप्ले बिरालो प्रजातिबारे निकै कम अध्ययन तथा अनुसन्धान भएको छ। नेपाल कन्जर्भेशन एन्ड रिसर्च सेन्टरले संरक्षणविद् दीपेन्द्र अधिकारीको नेतृत्वमा ‘रस्टी इस्पोर्टेड क्याट कन्जर्भेशन इनिसिएटिभ इन वेस्टर्न तराई ल्यान्डस्केप इन नेपाल’ शीर्षकमा अनुसन्धान गरेको थियो। जसमा बिरालालाई हुने खतरा, विभिन्न स्थानीय, सरोकारवाला, फिल्ड सर्भे साथै स्थानीय तवरमा जनचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
अहिले त खियाथोप्ले बिरालो प्रजातिलाई बचाउन अभियान नै चलाइएको छ। यो बिरालो प्रजाति केन्द्रित समूह पनि सञ्चालनमा छ, जसलाई ‘रस्टी स्पोर्टेड क्याटवर्किङ ग्रूप’ नाम दिइएको छ। यस समूहमा विज्ञ, वैज्ञानिक र अनुसन्धाता छन्। तर सरोकारवाला सरकारी निकायले संरक्षण र अध्ययनमा चासो देखाएको छैन।
खियाथोप्ले बिरालो प्रजाति अहिले पनि देख्न मुश्किल हुन्छ। संसारमै दुर्लभ यो प्रजाति आउँदो पुस्ताका लागि पनि जोगाउन आवश्यक छ। त्यसैले खियाथोप्ले बिरालोबारे अध्ययन तथा अनुसन्धानको खाँचो छ। साथै, वनजंगल संरक्षण, वन डढेलो नियन्त्रण, चुरे र खोलानाला संरक्षण तथा जनचेतना फैलाउन सकियो भने यस्ता सुन्दर प्रजातिको संरक्षणमा टेवा पुग्नेछ।
(न्यौपाने नेपाल कन्जर्भेशन एन्ड रिसर्च सेन्टरका रिसर्च फेलो हुन्।)