पाथीभरा झडपमा गोली लागेका घाइतेको अवस्था गम्भीर, काठमाडौं पठाइँदै
पाथीभरा केबलकारको विषयमा झडप हुँदा गोली लागेका दुई जनाको अवस्था गम्भीर छ भने थप उपचारका लागि काठमाडौं पठाउन लागिएको छ।
पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विरोध गरिरहेका स्थानीय बासिन्दा र प्रहरीबीच शनिबार झडप भएको हो। झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरी गोली चलाएको थियो।
झडपका क्रममा दुई जनालाई गोली लागेको थियो भने चार जना घाइते भएका थिए। घाइते चारमध्ये एक जना सामान्य उपचारपछि घर फर्किएका छन् भने तीन जनाको उपचार चलिरहेको छ।
उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी निरीक्षक विवेक बस्नेतले बताए। “ताप्लेजुङ अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं पठाउन लागेका छौं, तर मौसम खराबीले हेलिकोप्टर आउन सकेको छैन,” प्रहरी निरीक्षक बस्नेतले हिमालखबरसँग भने।
झडपमा यमबहादुर लिम्बूको तिघ्रामा गोली लागेको छ। त्यस्तै, सगुन लावतीको पछाडिको पातामा गोली लागेको छ। दुवै जना बोलचाल गरिरहेको भए पनि अवस्था गम्भीर रहेको बस्नेतले बताए।
त्यस्तै, धर्मन पालुङ्वा लिम्बूको दाहिने कुम भाँचिएको छ। उनीको अवस्था भने जटिल नरहेको प्रहरीले जनाएको छ। तीनै जनालाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको बस्नेतले बताए।
झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २० जना घाइते छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणको काम शुरू भएको छ। स्थानीय बासिन्दा त्यसको विरोधमा उत्रिएका थिए।
पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा एक किलोमिटरमाथि बलुडाँडामा स्थानीय बासिन्दा हातहतियार सहित आएको सूचना पाएपछि प्रहरी टोली ‘सर्च’ मा खटिएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ।
प्रहरी टोली केही हातहतियार नियन्त्रणमा लिएको थियो। त्यसपछि फर्किंदै गरेको प्रहरीमाथि आक्रमण भएको जनाइएको छ। प्रहरीले पनि अश्रुग्यास प्रहार गरेको थियो। त्यति वेला भने स्थिति साम्य बनेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार फेरि प्रहरी टोली गस्तीमा गएको थियो। गस्तीबाट फर्किंदै गरेको प्रहरी टोलीमाथि आक्रमण भएको बस्नेतको भनाइ थियो।
प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो। त्यही क्रममा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। हातहतियार बोकेका दुई जनालाई नियन्त्रणमा लिएपछि झडप भएको हो। स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक बस्नेतले बताए। त्यही क्रममा प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरी घाइते भएका हुन्।
पाथीभरा क्षेत्रमा केबलकार निर्माण भइरहेको छ। हिमालयन कन्सट्रक्सनले १५ महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको छ। स्थानीय बासिन्दाले भने धार्मिक क्षेत्रमा केबलकार बनाउन नहुने जनाउँदै विरोध गर्दै आएका छन्।