सुम्निमाको पप-रक अवतार
विश्वविख्यात विश्वविद्यालयको डिग्री, आरामको जागीर, पारिवारिक बौद्धिक विरासतलाई छेउतिर लगाएर संगीत-सागरमा हेलिएकी सुम्निमा ‘रकस्टार’ का रूपमा उदाएकी छन्।
सञ्जालबाट केही क्षण,
विश्राम लिन सक्छौ भने,
अँगालोमा बाँध्न चाहन्छु।
पुग्यो हेर्न तिम्रा सिंगारिएका फोटाहरू,
अनि को-को सँगका रमाइला पलहरू।
लामो अन्तरालपछि नेपाली संगीतको पप-रक अवतारमा उदाएकी गायिका हुन्, सुम्निमा। एक महीनाअघि यूट्यूब च्यानलमा आएको उनको पाँचौं म्युजिक भिडिओ ‘सञ्जाल’ लाई होहल्ला, प्रायोजन र मिडिया रापताप विनै पनि संगीतप्रेमीले रुचाएका छन्। वर्षौंदेखि रकस्टारको स्वागतका लागि आतुर नेपाली दर्शकले भिडिओ हेरेपछि हौसला दिएका छन्, समसामयिक अनि मौलिक।
सामाजिक सञ्जालका कारण व्यक्तिगत सम्बन्धमा दूरी बढेपछि निम्तिएको हृदयको हाहाकारलाई सुम्निमाले पप-रक शैलीमा सजाएकी छन्। यो गीतबाट थाहा हुन्छ, सुम्निमा गायिका मात्र होइनन्, कुशल संगीतकार र ‘सुपरमोडल’ पनि। क. तमोटका जवान हृदय धड्किने शब्दलाई सुम्निमाले सोह्रैआना न्याय गरेकी छन्।
पप-रक नयाँ पुस्ताले रुचाएको गायनको एउटा आधुनिक शैली हो। तर, त्यसको आधार भने पप र रकको फ्युजन हो। “मेरो जानरा पप हो। पप फ्युजन मलाई औधि मन पर्छ। गाउन पनि सहज लाग्छ,” सुम्निमा सुनाउँछिन्, “पप र बलिउड मसाला हालेर पनि काम गरेकी छु। पप फ्युजनको क्षेत्र एकदम फराकिलो छ।”
सुम्निमाका हरेक म्युजिक भिडिओमा बेग्लाबेग्लै अवतार छन्, ‘क्युट’, ‘एजी’, ‘ग्ल्यामरस’, ‘सिम्पल’ आदि। उनका प्रत्येक प्रस्तुतिमा नवीनता र विविधता दिने सत्प्रयास छ। पहिलो म्युजिक भिडिओ ‘मन्नत’ पप जनरामा थियो भने दोस्रो ‘तारा’मा पप र आरएनबी (रिदम एन्ड ब्लूज)। तेस्रो, ‘झरी’मा आएर पप-रक पछ्याइन् भने चौथो, ‘काठमान्डू’मा पप-फोक जनरा छ।
सुम्निमा फगत गायिका मात्र होइनन्, विदेशी डिग्री लिएकी पढालिखा व्यक्ति पनि हुन्। बेलायतको एसओएएस युनिर्भसिटी अफ लन्डनबाट ‘डेभलपमेन्ट स्टडीज’ मा स्नातकोत्तर उनले अमेरिकाको हार्वर्ड र कोर्नेल विश्वविद्यालयबाट समेत ‘एक्जुकेटिभ एजुकेशन’ गरेकी छन्। त्यस्तै, ‘नेगोसिएशन’ र ‘बिजनेश डेभलपमेन्ट’ मा उनको विशेषज्ञता छ।
लेखपढका दौरान ‘बेलायतमै बसोबास गर्छु’ भन्ने सुम्निमाको मनमा पटक्कै आएन। फर्केर ‘नेपालमै केही गर्छु’ भन्ने लागिरह्यो। त्यसो त उनले न्याशनल कलेजबाट स्नातक गरेपछि केही समय गैरसरकारी संस्थामा काम गरेकी थिइन्। पत्रपत्रिकामा फुटकर लेख लेखेकी थिइन्। २०७१ सालमा लन्डनबाट फर्केर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँग जोडिइन्।
त्यति वेला साताको ६ दिन बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म काम गर्थिन्। हरेक दिन ‘यो काम त मेरो होइन, मेरा लागि होइन’ जस्तो आत्मानुभूति हुने गरेको सुम्निमा सुनाउँछिन्। म के गरिरहेको छु? म खुशी छु कि छैन? मलाई जिन्दगीभरि यो काम गर्नु छ कि छैन? यस्ता आस्तित्विक प्रश्नले घरीघरी सताइरह्यो।
त्यसपछि उनी चौधरी ग्रूप (सीजी) मा काम गर्न थालिन्। त्यो छोडेर डच कम्पनीतिर लागिन्। दुवै ठाउँमा राम्रै जिम्मेवारीमा थिइन्। तर मन लागेन।
बेखुशी र बेचैनीबीच सुम्निमाले धेरै व्यक्तिहरूसँग भेटघाट गरिन्। कसैलाई पनि आफ्नो काममा खुशी पाइनन्। “मेरो एउटा जीवन छ। यो जुनीभरि रिपोर्ट लेखनकै काम गरिरहने हो त?” उनले निश्चय गरिन्, “अब यसरी चल्दैन। मैले आफ्नो जिन्दगी आफैं सम्हाल्नुपर्छ। खुशी हुनु आफैंप्रतिको जिम्मेदारी हो। मेरो आत्मालाई जेले सन्तुष्टि दिन्छ, त्यही काम गर्नुपर्छ।”
स्कूले जीवनमा सुम्निमा नाटक गर्थिन्, संगीत, नृत्य र अभिनयमा जोडिंदा गुरुहरूको स्याबासी पाउँथिन्। ससाना खुशीका झोक्का बटुल्थिन्। बाल्यकालीन स्मृतिको त्यही मिठासले मृदु-स्पर्श गरिरह्यो।
तथापि सांगीतिक क्षेत्रमा रहेर जीवन चलाउन सकिन्छ कि सकिंदैन भनेर एक-दुई वर्ष लगाएर बजार अध्ययन पनि गरिन्। त्यसपछि आफूले चाहेको सपना ‘यसै जिन्दगीमा पूरा गर्छु’ भन्ने अठोट गरेर व्यक्तिगत खुशी र सन्तुष्टिका लागि संगीत-सागरमा हाम फाल्ने निधो गरिन्।
त्यसो त उनलाई प्राज्ञिक परिवार मनाउनु सजिलो थिएन। तैपनि सुम्निमाले फकाएरै छाडिन्। अमृत क्षेत्रीसँग सुरशालामा शास्त्रीय संगीतको प्रशिक्षण लिइन्। तर नेपाली उच्चारण खासै राम्रो थिएन। किनभने उनले पढेको त्रियोग हाई स्कूलमा अंग्रेजी बोल्नै प्रोत्साहन गरिन्थ्यो। तसर्थ उनले अंग्रेजी किताबलाई छेउ लगाएर थुप्रै नेपाली किताब पढ्ने र सुन्ने गरिन्। थुप्रै लेखकका अन्तर्वार्ता सुनिन्।
त्यति गर्दा पनि नेपालीमा गाउन हिम्मत जुटेन। “शुरूमा मैले कभर सङको भिडिओ टिकटकमा हालेर बेबी स्टेप चालें। गुरुले तिम्रो नेपाली राम्रो भयो, अब गाउन सुहाउँछ भनेपछि पहिलो म्युजिक भिडिओको तयारी गरें,” सुम्निमा उत्साही सुनिन्छिन्, “बजार अनुसन्धान, शास्त्रीय संगीत प्रशिक्षण, कोभिड-१९ आदिका कारण ५-६ वर्ष विलम्ब भइहाल्यो।”
अन्ततः सुम्निमाको पहिलो म्युजिक भिडिओ जन्मियो, मन्नत। त्यसको संगीत-रचना सुम्निमा र उनका गिटारिस्ट एवं पाइलट भाइ विशेषले गरेका थिए। त्यसो त संगीत उनको परिवारको रगतमै छ। भाइ सानै उमेरदेखि संगीतगिरी गर्थे। पारिवारिक जमघटमा पाइलट बुबा र प्राध्यापक आमा वाद्ययन्त्र बजाउने र गाउने गर्थे।
पहिलो गीतको शब्द-सर्जाम सुम्निमाकै थियो। “कता कताबाट ‘मन्नत’ भन्ने शब्द दिमागमा घुस्यो। कुनै शब्द मन परेपछि म त्यसलाई बाहिर निकाल्न सक्दिनँ। कतिपय आफूले ‘फिल’ गरेर लेख्छन्, त्यो आधिकारिक पनि हुन्छ,” थप्छिन्, “तर म किताब पढ्छु, सिनेमा हेर्छु। वेबटुनमा कमिक्स, मांगा र मान्ह्वा हेर्छु। तिनका नायक वा नायिकाको चरित्र परिकल्पना गरेर गीत लेख्छु।”
पहिलो संगीत-सिर्जनामा नै सुम्निमाले परिवार र साथीहरूको सुखद प्रतिक्रिया पाइन्। उनको ‘युनिक’, ‘बोल्ड’ र ‘हस्की’ आवाज मात्र होइन, ‘रोमान्टिक’ अवतारको पनि प्रशंसा भइरह्यो।
संगीतमा ‘जरा-हटके’ गर्ने तीव्र हुटहुटी छ सुम्निमामा। त्यसका निम्ति केही समय ठमेलको प्रसिद्ध रक बार पर्पल हेजमा समेत गाइन्। संगीतप्रेमीको माहोलमा उनलाई धेरैले मन पराए। “मलाई कहिले पनि स्टुडियो आर्टिस्टमा सीमित हुन मन थिएन। गीत रेकर्ड गर्यो, यूट्यूबमा हाल्यो, सकियो,” उनी भन्छिन्, “मलाई स्टुडियो र दर्शकसामु समानान्तर रूपमा लाग्ने चाहनाले आफ्ना गीतमा आफैं अभिनय गरेकी हुँ।”
आफ्नै संगीत र गायनमा अभिनय गर्न उनलाई औधी रमाइलो लाग्छ। “गीत गाउनुअघि यत्ति रियाज गर्छु, स्टुडियोमा यसरी मनोभावना व्यक्त गरेर गाउँछु भन्ने हुन्छ। त्यसको भिडिओमा कस्तो भावाभिव्यञ्जना दिने भन्ने थाहा हुन्छ,” उनी अनुभव बाँड्छिन्, “निर्देशकले सिकाइरहनु पर्दैन, मोडलहरूलाई मन परेन वा छोएन भने त्यो ‘एक्सप्रेशन’ आँखामा आउँदैन। आँखाबाट बोल्नु भनेको कठिन काम हो। यो बजेटभन्दा पनि साँचो अभिनयका लागि हो।”
निर्देशकहरू शुरूमा ‘यसो लिपसिङ गरेर लुक्स दिने होला’ भन्ने सोच्छन्। तर ‘एक्सन’ भन्नासाथ सुम्निमा अभिनेत्रीको अवतारमा आउँदा तीन-छक्क पर्छन्। उनको अब्बल अभिनय क्षमता देखेर निर्देशकहरू सिनेमामै देख्न चाहिरहेका छन्। उसो त उनी अभिनेत्री वा कलाकार बन्ने भनेर लागेकी पनि होइनन्। भविष्यमा राम्रो पटकथा र सुहाउँदो भूमिका पाए अभिनयको जादू देखाउन उनी खुला छिन्।
सुम्निमाको खास चिनारी ‘आउट अफ बक्स’ हो। कहिले पनि एउटै टोलीसँग काम गर्दिनन्, नयाँ टोलीमा काम गर्दा सिर्जनशीलता बढ्ने उनको धारणा छ। म्युजिक भिडिओ राम्रो बनाउन जस्तोसुकै जोखिम लिन तम्तयार हुन्छिन्। आफ्नो ‘कोल्ड एलर्जी’ बिर्सेर मुसलधारे वर्षामा ५-६ घन्टा रुझेर ‘झरी’ को छायांकन गरिन्। “घरको झ्यालबाहिर यसो हात निकालेर झरीको मर्म बुझाउन सकिंदैन,” उनी भन्छिन्, “त्यसैले भैंसेपाटी, धुलिखेल लगायत विभिन्न रमणीय स्थलमा ५-६ घण्टा सर्वांग भिजेर, मेकअप र कपाल बिर्सेर कलात्मक प्रस्तुति दिएँ।”
शुरूआती बाहेक उनका प्रायः गीत क. तमोटले लेखेका छन्। गीतका शब्द सुकिला, उज्याला र गहकिला छन्। अझ गीतभन्दा पनि कविता जस्ता छन्। जहिल्यै भाव ‘यो हो कि होइन कि’ जस्तो लागिरहन्छ, सुम्निमालाई। “उहाँका शब्दहरूमा म निकै ‘इन्जोय’ गर्छु। शब्द चलाउन आनाकानी गर्नुहुन्न। पप शैलीमा चाहिने स्वतन्त्रता दिनुभएको छ,” उनी गीतकारको प्रशंसामा शब्द खर्चिन्छिन्, “साँच्चै भन्दा मैले उहाँका कवितालाई ‘हाइज्याक’ गरेकी हुँ। अरू कसैलाई गीत दिन पाउनुहुन्न भनेकी छु।”
सुम्निमाको आउने म्युजिक भिडिओ पप बलिउड मेलोडीमा छ, ‘के त...।’ संगीत उनकै छ भने शब्द क. तमोटका। त्यसमा उनले ‘रुकस्याक’ मा लुगा बोकेर एक ‘क्यामेराम्यान’ का साथ दुखजिलो गरी फ्रान्समा खिचेका दृश्य समेटेकी छन्। पेरिसका दृश्य भने अर्को भिडिओमा आउनेछन्। यसै वर्ष संगीत-यात्रामा यूरोप निस्कने पनि उनको योजना छ।
संगीतमा सुम्निमाको कोही ‘रोलमोडल’ छैन। “म हरेक जनराका गीत सुन्छु। हरेक जनरामा कोही न कोही छन्। म नारायण गोपाल सुन्छु। लता मंगेशकर र किशोर कुमार सुन्छु। बलिउडका पप नम्बर सुन्छु। बिथोविन र बाख सुन्छु। चाइनिज, रसियन र जापानिज गीत सुन्छु। हिपहप, आरएनबी र सुनिता दुलालका दोहोरी सुन्छु। साठी र सत्तरीको दशककादेखि आफूभन्दा कान्छा अहिलेका गायक-गायिकालाई पनि सुन्छु,” उनी बिस्तारै सास फेर्दै थप्छिन्, “प्रभावित हुनु भनेको एक प्रकारले ‘आइडियालाइज’ गर्नु हो। मलाई कसै जस्तो हुनु छैन। मलाई कसैसित प्रभावित हुनु पनि छैन।”
अन्तर्मुखी स्वभावकी सुम्निमा आफ्नो जात वा थर मार्फत चिनिन चाहँदिनन्। हुन पनि संगीत र कलामा थरको मान्यता हुँदैन, मान्यता हुन्छ त सिर्फ प्रतिभाको। गन्तव्यमा पुग्नु कठिन छ। त्यसमा कायम रहनु पनि कठिन छ। अर्को पुस्तालाई बाटो बनाएर झर्नु अझै कठिन। आफूभित्रको भावनालाई नियन्त्रण गरेर वाहवाही र कठोर प्रतिक्रियाबाट नडगमगाईकन चट्टान झैं स्थिर र नदी झैं शान्त भएर अघि बढ्न चुनौतीपूर्ण छ।
आखिरमा सुम्निमाको संगीतको मुकाम कहाँ हो? हिमालखबरको सोधनीमा उनी भन्छिन्, “यो केटी स्टार पनि भएकी छैन, ठूल्ठूला कुरा गरी भन्लान्। तर म चाँडै इंग्लिश गीत निकाल्दै छु। नेपालीका साथसाथै इंग्लिश गीत गाएर ग्लोबल्ली चिनिन चाहन्छु। नेपालमा पनि प्रतिभा छन्, नेपालीले पनि इंग्लिश गाउने क्षमता राख्छन् भन्ने देखाउन चाहन्छु,” सुम्निमा आत्मविश्वासी छन्, “अहिलेलाई दक्षिणएशिया, दक्षिण-पूर्वी एशियामा मेरो मुकाम हो, त्यसपछि मुकाम बदलिएला। त्यही भएर पनि मैले थर नराखेको। सिर्फ मेरो नामले चिन्नुस्, कामले चिन्नुस्।”
विश्व-संगीतमा लामो नाम त्यति प्रचलनमा छैन। बियोन्से, साकिरा, रिहान्ना त्यसका दृष्टान्त हुन्।
यसै पनि नेपालमा संगीतको साक्षरता कम छ। भाषाका कारण श्रोता वा दर्शक समेत कम छन्। यस्तो वेला सुम्निमाले आरामको ‘करिअर’ छाडेर संगीत-साधना र संघर्ष रोज्नु आफैंमा दुस्साहस हो। उनी सुनाउँछिन्, “मेरो आत्माले विगतमा झेलेको भावनात्मक र मानसिक उदासी अनि एक्लोपनलाई संगीतले न्यानो कम्बलले जसरी छोपिदिएको छ। मभित्रको अँध्यारोपनलाई मुसारिदिएको छ। असल मानिस बन्न प्रेरित गरिरहेको छ।”
उनलाई थाहा छ- संगीत कुनै ‘बिजनेश प्रोजेक्ट’ होइन। यो पछि त्यो, त्यो पछि यो भन्ने निश्चित हुँदैन। नसोचेका कुरा भइरहन्छन्, सोचेका कुरा हुँदैनन्। दर्शकले मन पराएपछि पराए, पराए। भविष्यमा मन पराउने आशाको गुरुमन्त्र लिएर काम गर्ने हो।
सुम्निमाको दिल र दिमागमा अरू केही छैन, संगीत सिवाय। उनी सम्पूर्णतः सांगीतिक शिल्पका निम्ति समर्पित छिन्। “मेरो मिहिनेत श्रोता-दर्शकले बुझिदिएको दिन सफलताले मेरो ढोका ढक्ढक्याउनै पर्छ,” आउँदो एक दशकभित्र मखमली-सपना विपनामा बदलिनेमा सुम्निमा विश्वस्त सुनिन्छिन्।