फर्निचर उद्योगमा आगलागी हुँदा वृद्धाको मृत्यु
गए राति काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-९, काभ्रेभन्ज्याङस्थित फर्निचर उद्योगमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ।
काभ्रेभन्ज्याङस्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा आगलागी भएको हो। उद्योगबाट सल्केको आगोले अन्य दुई घर पनि जलेका छन्।
आगलागीमा परेर उद्योगमै रहेकी काठमाडौंको शंखरापुर नगरपालिका-१, नाङ्लेभारेकी ७० वर्षीया टीकादेवी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताइन्।
आगलागीमा परेर तोयनाथ दंगाल घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टीकादेवी र तोयनाथ दम्पती हुन्।
उद्योगमा विद्युत् शर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ। उद्योगबाट सल्केको आगोले कृष्ण विकको कच्ची घर र ध्रुवबहादुर विकको जस्तापाताको टहरा पनि जलेको छ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले राति पौने २ बजे आगो नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक खड्काले बताइन्।
आगलागीबाट उद्योगको ८० लाख, अन्य दुई घरको १० लाख बराबरको क्षति भएको प्रारम्भिक मूल्यांकन छ।