सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडान रोक्ने स्थानीय सरकारको निर्णयमा मध्यवर्ती क्षेत्रको समर्थन
सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडान सम्बन्धी खुम्बु पासाङल्हामु गाउँपालिकाको निर्णयमा सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले ऐक्यवद्धता जनाएको छ।
गत पुस २५ गते विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकोप्टरको व्यावसायिक उडान गर्न नदिने अडान लिएको थियो। पालिकाको त्यही निर्णय प्रति आफूहरूको समर्थन रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्णय छ।
“अनियन्त्रित हेलिकोप्टर उडान व्यवस्थापन गर्नको लागि नागरिकको सबैभन्दा नजिकको सरकारको हैसियतले खुम्बु पासाङल्हामु गाउँपालिकाले लिएको पहलकदमीमा सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका सम्पूर्ण उपभोक्ताहरूको प्रतिनिधित्व गर्दै मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको पूर्ण समर्थन र ऐक्यबद्धता रहेको व्यहोरा सम्बन्धित सबैमा यसै विज्ञप्तीमार्फत जानकारी गराउँदछौं,” समितिद्वारा माघ ११ गते जारी विज्ञप्तीमा भनिएको छ।
हेलिकोप्टर कम्पनीहरूलाई निर्वाध रुपमा मुनाफा आर्जन गर्न दिनुपर्छ भन्ने आशयको .सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्य सरकारी निर्णयप्रति समितिले आपत्ती प्रकट गरेको छ। दिगो र प्रभावकारी संरक्षण भएन भने स्थानीय समुदायको अस्तित्व नै संकटमा पर्ने समितिको ठहर छ।
२०३३ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज २०३६ सालमा विश्व सम्पदा सूचीमा सूचिकृत भएको थियो। यस्तो संवेदनशील क्षेत्रमा जथाभावी हेलिकोप्टर उडान र अवतरण गर्दा ध्वनी प्रदुषण तथा समग्र संरक्षण र स्थानीय समुदायको जीविकोपार्जनमा समेत असर परेको समितिले जनाएको छ।
निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै सगरमाथा राष्ट्रिय निकुञ्ज, खुम्बु पासाङल्हामु गाउँपालिका लगायत अन्य स्थानीय युवा समूह तथा संघसंस्थाले १७ पुसदेखि हेलिकोप्टर उडानमा रोक लगाएका थिए। यो निर्णयबाट निकुञ्जपछि हटेको छ।
स्थानीय सरकार, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र स्थानीयको अवरोधका कारण हेलिकोप्टर उडान र अवतरणमा असुरक्षा भएको भन्दै वायुसेवा सञ्चालक संघ नेपालले उडान रोक्ने निर्णय गरेको छ।
यो पनि पढ्नुहोस्
सगरमाथा क्षेत्रमा हेलिकोप्टर उडानमा रोक लगाउने सर्वोच्च अदालतको त्यो आदेश
सगरमाथा क्षेत्रमा नियन्त्रित गर्नै पर्ने हेलि-उडान
खुम्बु क्षेत्रमा हेलिकोप्टरको व्यावसायिक उडान गर्न नदिने गाउँपालिका र स्थानीयको अडान