उपाधिका लागि एपीएपसँग सुदूरपश्चिमको प्रतिस्पर्धा
प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लबसँग सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएको छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको सुपर-४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश गरेको हो। सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याउने क्रममा बागमती १९.४ ओभरमा ८२ रनमै समेटियो।
बागमतीका लागि यशोदा विष्टले ३० र हेलिसा गुरुङले २३ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
सुदूरपश्चिमका लागि कविता कुँवर र करिष्मा थापाले दुई-दुई तथा अलिशा महरा र ऋतु कनौजियाले एक-एक विकेट लिए। अन्य बलरले पनि कसिलो बलिङ गरे।
यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा ११२ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ऋतु कनौजियाले ३४, मनिषा बोहराले १६ र कविता कुँवरले १३ रन बनाइन्। बागमतीका लागि सोनु खड्का र मनिषा उपाध्यायले तीन-तीन तथा विपिसा शाहीले एक विकेट लिइन्।
यसअघि भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लब फाइनलमा पुगेको थियो। अब फाइनल खेल शनिबार बिहान हुनेछ।