आर्मीलाई हराउँदै एपीएफ फाइनलमा
त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको सुपर-४ को तेस्रो खेलमा एपीएफले आर्मीलाई ६९ रनले पराजित गरेको हो। एपीएफले दिएको ११६ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी क्लब ४६ रनमै समेटियो।
आर्मीका लागि राधिका पुजाराले १७ र लक्ष्मी साउदले १० रन बनाए। अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।
एपीएफका लागि रेखा रावलले चार विकेट लिइन्। उनले चार ओभरमा एक मेडन राख्दै ११ रन खर्चिइन्। त्यस्तै, सबनम राईले दुई र इन्दु बर्माले एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको एपीएफले तीन विकेटको क्षतिमा ११५ रन बनाएको थियो। एपीएफका लागि राजमती ऐरीले ३५, कविता जोशीले ३४, इन्दु बर्माले १८ र ममता चौधरीले ११ रन बनाए।
त्यस्तै, आर्मीका लागि सुस्मिता भुसालले दुई र ईश्वरी विष्टले एक विकेट लिए। अन्य बलर महँगा सावित भए।