राज्यले जन्माएको ‘आशिका प्रवृत्ति’
बेथिति नियन्त्रण र सेवा प्रवाहमा राज्यका निकाय कमजोर हुँदा अभियन्ता र समाज सुधारकको नाममा विभिन्न व्यक्तिले खेल्ने ठाउँ पाइरहेका छन्। यसले अन्ततोगत्वा अराजकतालाई बढावा दिंदै विधि र समाजलाई पिर्नेछ।
पिसाब फेर्ने ठाउँ हो यो? त्यहाँ माथि छैन पिसाब फेर्ने ठाउँ? यहाँ मुत्ने हो? लाजशरम नभाको!
काठमाडौं उपत्यकाको एक पुलमुनि सडकछेउमा बाइक रोकेर एक व्यक्ति शौच गरिरहेका हुन्छन्। पिठ्युँमा पहेंलो झोला भिरेकी एक महिला सरासर ती व्यक्तिको छेउमै जान्छिन् र सार्वजनिक स्थलमा पिसाब फेरेकामा कराउँछिन्। केहीबेरको हप्कीदप्कीपछि शौच गरिरहेका व्यक्ति अवाक् हुन्छन् र छेउ लाग्छन्। उक्त भिडिओ केही समयअघि इन्टरनेटमा आधारित सामाजिक सञ्जालमा ‘भाइरल’ भयो।
भिडिओमा देखिने महिला हुन्, आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ। अभिनेत्री समेत रहेकी उनी पछिल्लो समय अभियन्ताका रूपमा चिनिएकी छन्। केही समययता बाटोघाटो, पसल, होटल, विमानस्थल आदिमा बेथिति विरुद्ध कुर्लिरहेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेर चर्चामा छिन् उनी।
केही महीनाअघि भक्तपुर र काभ्रेको सिमानामा रहेको कैलाशनाथ महादेव मन्दिर क्षेत्र जोड्ने झोलुंगे पुल तरेको पैसा लिएको भन्दै उनले प्रवेश शुल्क लेखिएको बोर्ड निकालेर च्यातिन्। गेटछेउमा टिकट काट्न बसेकी महिला कर्मचारीबाट टिकट खोस्न झम्टिइन्, कठालो समातिन्। कर्मचारीको हातबाट पैसा झरेर भुइँभरि छरियो। टिकट काउन्टर बारिएको काँडेतार काट्दै भनिन्, “जनताले तिरेको करबाट बनेको पुल तर्न किन तिर्ने २० रुपैयाँ? तिर्न हुँदैन। लूटतन्त्र!”
वरिपरिका मान्छेले ‘पैसा नतिरी भित्र छिर्नै दिंदैन’ भनेपछि उनी झन् कड्किइन्, “त्यसको बाजेले बनाएको रे? त्यसको बाउको बिर्ता हो र यो?”
उनले पुलपारि गएर कर्मचारीको हातबाट टिकटको बन्डल नै खोसेर जलाइदिइन्।
गत दशैंको मुखमा एअरलाइन्स कम्पनीहरूले सस्तो टिकट बन्द गरेर मध्यम र उच्च दरका टिकट मात्रै बिक्री गरे। काठमाडौं-भैरहवाको हवाई भाडा १७ हजार लिएको भन्दै आशिका सीधै श्री एअरलाइन्सको काठमाडौंस्थित कार्यालय पुगिन्। टेबल ठटाउँदै कर्मचारीलाई कराइन्, “किन भाडा बढाएको? किन लुटेको? किन ठगेको? जहाँ पनि लुटेर खाने?”
कर्मचारीले भने आफूलाई यसबारे केही थाहा नभएको बताए। तर उनले जनतालाई लुटेको भन्दै प्रश्न गरिरहेपछि एअरलाइन्स कम्पनीका हाकिमहरू आउँछन्, सरकारले तोकेको हवाई भाडाको रेट देखाउँदै कम्पनीले १७ हजार भाडा नलिएको र यसको प्रमाण देखाए पेशा नै छाडिदिने बताउँछन्। तर आशिकाले प्रमाण देखाउन सक्दिनन् र भन्छिन्, “फेसबूकभरि कम्प्लेन छ। अब चाहिं भनिदिनुस्, धेरै भाडा लिंदैनौं भनेर।”
एअरलायन्सका कर्मचारी भन्छन्, “१७ हजारको टिकट काटेको फोटो मात्र भएर हुन्छ? त्यो कति जनाको टिकट हो, हेर्नु पर्दैन? आफैं गलत कुराको प्रचार गर्ने।”
आशिका कहिले सडकमा गुट्खाका खोल र पानीका बोतल फाल्नेको सातो लिन्छिन्, कहिले विमानस्थलमा पार्किङ शुल्क बढी भयो भन्दै कर्मचारीसँग कड्किन्छिन्, कहिले पसल र होटलमा अधिकतम खुद्रा मूल्य (एमआरपी)भन्दा बढी पैसा किन लिएको भन्दै प्रश्न गर्छिन् त कहिले राजमार्ग क्षेत्रका होटलमा खानाको मूल्य चर्को भएकामा होटलवालालाई थर्काउँछिन्। आफूलाई सामाजिक अभियन्ता भन्दै दोस्रो व्यक्तिको अनुमति बेगर फोटो, भिडिओ खिच्छिन् र व्यक्तिको गोपनीयताको ख्यालै नगरी सामाजिक सञ्जालमा सार्वजनिक गरिदिन्छिन्। थर्कमान पार्नु, गालीगलौज गर्नु र कतिपय अवस्थामा हातपात गर्नु उनको परिचय बन्न पुगेको छ।
सर्वसाधारणसँग जोडिएका सरोकारका विषयमा खरा प्रश्न गर्ने उनको लोकरिझ्याइँ शैलीले भीडको धाप पाइरहेको देखिन्छ। उनको यस्तो कार्यलाई सञ्जाल प्रयोगकर्ताले ‘उदाहरणीय काम’, ‘सबक सिकाएको’, ‘सुधारको कदम’, ‘नेपालमा आशिका तामाङ जस्तै नेता चाहिन्छ’ भन्दै साथ दिएका छन्। यस्तै प्रतिक्रिया र उक्साहटको आड पाएर उनी यस्तै शैली र व्यवहारमा बढ्दै गइन्।
झट्ट हेर्दा उनले गरेको काम बेथिति र अव्यवस्था सुधारको प्रयत्न देखिए पनि उनले अराजक शैली र गलत तरीका अपनाएकी छिन्। राम्रो परिणामका लागि अपनाइएको गलत तरिकाले विधि र कानूनमाथि नै धावा बोलेको छ। फलस्वरूप, अभद्र व्यवहार गरेको आरोपमा आशिकालाई माघ २ गते जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। अकारण महिला कर्मचारीलाई निकालेको भन्दै पुस २४ गते उनको समूहले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा गएर विरोध गर्दा अभद्र व्यवहार सम्बन्धी जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो।
पछिल्लो समय भीडलाई रिझाउने गरी गतिविधि गर्ने, चर्को बोल्ने र अपशब्द प्रयोग गर्ने आशिका एक्ली हैनन्। यूट्यूबरहरू जम्मा गरेर देशको अवस्था र नेताबारे दुष्प्रचार गर्ने, अफवाह फैलाउने अर्का पात्र हुन्, मेडिकल व्यवसायी दुर्गा प्रसाईं। विभिन्न कसूरमा पटक पटक पक्राउ परेका छन् उनी। साइबर अपराधको आरोपमा असोज ६ गते पक्राउ परेका उनी असोज १५ गते काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटी बुझाएर रिहा भएका थिए।
यसपछि प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली लगायत विरुद्ध भ्रामक प्रचार गरेको आरोपमा उनलाई गत मंसीर ४ गते नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको थियो। कीर्ते कागजात देखाउँदै कम्बोडियाको दूरसञ्चारमा ओलीको लगानी रहेको आरोप लगाएका प्रसाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान गरिएको थियो। साइबर अपराधको कसूरमा जिल्ला अदालतको आदेशमा मंसीर २७ गते रिहा भए पनि उनलाई संगठित अपराध र आपराधिक लाभ सम्बन्धी कसूर गरेको अभियोगमा त्यसै दिन अदालत परिसरबाटै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो। बन्दी प्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतको आदेशबाट उनी पुस ५ गते रिहा भएका थिए।
प्रसाईंले भड्किलो र उत्तेजक शैलीमा यूट्यूबरलाई अन्तर्वार्ता दिंदै आएका छन्। सरकार र नेता विरुद्ध विष वमन गर्दै निराशाको प्रसारमा लाग्न उनले कुनै कसर छाडेका छैनन्। कतिसम्म भने, उनले देशमा समस्या नै समस्या भएकाले ‘नेताहरूलाई मार्नुपर्छ’ सम्म भनेका थिए। ५५ जना व्यापारी र १० जना नेता मिलेर देश लुटेको, व्यापारीहरू सबैभन्दा भ्रष्ट र हुन्डीको कारोबारी रहेको रटान उनले लगाउँदै आएका छन्। मेडिकल व्यवसायका लागि विभिन्न ब्यांकबाट लिएको ऋण नतिर्ने अभियान नै सञ्चालन गरेका उनले नामै किटेर विभिन्न ब्यांक डुब्ने भन्दै भ्रम फैलाउने गरेका छन्।
सार्वजनिक कार्यक्रममा उनले कुनै धक नमानी गालीगलौजको भाषा बोल्ने गरेका छन्। २०७९ फागुन १ गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा प्रसाईंले ‘यहाँ मुख नछाडी नहुने मान्छे छन्’ भनेर आफ्नो अभद्रता स्विकारेका थिए। भड्किलो र विवादास्पद अभिव्यक्ति दिए पनि भीडले उनको कुरामा ताली बजाउने गर्छ। सामाजिक सञ्जालमा ‘क्याबात’ लेख्नेहरू उत्तिकै हुन्छन्।
पूर्व डीआईजी हेमन्त मल्ल कानूनी राज्यमा कानूनको धज्जी उडाउँदै अराजकता फैलाउनु गलत भएको र यस्तो प्रवृत्तिलाई कारबाही गरेर नियन्त्रण गरिनुपर्ने बताउँछन्। “अराजक बनेर कानूनको धज्जी उडाउने विरुद्ध कानूनी कारबाही गरिनुपर्छ, अन्यथा आशिका तामाङ, दुर्गा प्रसाईं जस्ता प्रवृत्ति मौलाएर हरेक कुराका लागि सबै जना माइक र क्यामेरा लिएर सडकमा आउने अवस्था देखिन्छ।”
कसरी जन्मिन्छ यस्तो प्रवृत्ति?
गालीगलौज, हप्कीदप्की र अराजक शैलीमा उत्रिंदा पनि आशिका तामाङ, दुर्गा प्रसाईंहरूले सर्वसाधारणको एउटा जमातको साथसमर्थन किन पाइरहेछन्? यस्तो प्रवृत्ति जन्माउने कारक तत्त्व के हो त?
विश्लेषक इन्द्र अधिकारी हरेकजसो क्षेत्रमा समस्या रहेको देशको अव्यवस्थाले निराश नागरिकलाई चर्को आवाज बोल्ने, आफूलाई अभियन्ता दाबी गर्ने व्यक्तिमा भरोसा गर्ने अवस्थामा पुर्याएको देख्छिन्। उनका अनुसार अहिले देशमा सरकार र नेता विरुद्ध जोकसैले आवाज उठाउँदा पनि समर्थन पाउने स्थिति छ। “देशमा राम्रो केही पनि भएन, अन्याय र अव्यवस्था मात्रै झांगियो भनेर निराश नागरिकले चिच्याएर, थर्काएर, होच्याएर बोल्दा मात्र न्याय पाइन्छ भन्ने लागेर त्यस्ता पात्रको समर्थन गरेका हुन्,” उनी भन्छिन्, “दुर्गा प्रसाईं आफ्नो स्वार्थकेन्द्रित अफवाह फैलाउँछन्। आशिका तामाङ सामाजिक समस्या उठान गर्ने नाममा अभद्र व्यवहार देखाउँदै उद्दण्डता प्रदर्शन गर्छिन्। यी शैली र प्रक्रिया गलत हुन्।”
अध्येता भास्कर गौतमको भनाइमा देशका लोकतान्त्रिक संस्था, सामुदायिक संघसंस्था, स्थानीय सरकार, गाउँका स्थानीय समिति, क्लब आदि निष्क्रिय र कमजोर हुँदा आशिका तामाङ प्रवृत्ति जन्मिएको हो। यी संस्था र निकायले प्रभावकारी काम नगर्दा नागरिकमा निराशा बढेको, निराशाले आक्रोश जन्माउने र आक्रोश धेरै भएपछि व्यक्ति सही-गलत नै भुलेर अराजकतातिर जाने उनको भनाइ छ।
“निराशाले जन्माएको आक्रोशले सही प्रक्रिया नसमाते त्यसले उल्टै घाटा पार्छ, आज मानिसहरूमा देखिएको आक्रोश र अराजक शैली त्यसकै उपज हो,” गौतम भन्छन्।
सामुदायिक संस्था निष्क्रिय हुँदा निराशा र आक्रोश कसरी बढिरहेछ? गौतम यसबारे व्याख्या गर्छन्।
कुनै समय समाजमा कुनै बेथिति वा समस्या आइपरे सामाजिक संघसंस्था, टोल सुधार समितिहरू तत्काल अघि सरिहाल्थे। फोहोर भए बिदाको दिन सरसफाइको कार्यक्रम हुन्थ्यो। शौचालय नभएको स्थानमा कसैको सहयोगको मुख नताकी श्रमदान गरेर भए पनि शौचालय बन्थ्यो। गाउँघरमा समस्या आए रचनात्मक रूपमा समाधान खोजिन्थ्यो, न कि अहिले जस्तो क्यामेरा लिएर शौच गरिरहेको व्यक्तिको भिडिओ खिच्दै थर्काउने प्रवृत्ति थियो।
“आज नयाँ पुस्ताका लागि शिक्षा, सभ्यता अनि सिर्जनात्मकतामा लगानी छैन। लोकतान्त्रिक अभ्यास गराइँदैन। बरु केही समस्या परे पार्टीका कार्यकर्ता भेला गरेर हुलहुज्जत गराइन्छ। त्यसैको उपज आशिका प्रवृत्ति मौलाएको हो,” गौतम भन्छन्।
पूर्व डीआईजी मल्लका अनुसार अहिले देशमा सबैभन्दा ठूलो समस्या सार्वजनिक सेवा प्रवाह राम्रो छैन। अर्थात्, सरकारी सेवा लिन जाँदा सहजै काम बन्दैन, अनेक झन्झटको सामना गर्नुपर्छ। राहदानी, नागरिकता, सवारीचालक अनुमतिपत्र बनाउन जाँदा लामो लाइन लाग्नुपर्ने, सर्भरमा समस्या आउने, कर्मचारीको रूखो व्यवहार भोग्नुपर्ने अवस्था छ। “यस्तो अवस्थामा सरकार, नेता, कर्मचारी विरुद्ध जसले जे बोले पनि जनताले आफ्नो असन्तुष्टि र पीडा बोलिदिएको पाउँछन्,” मल्ल भन्छन्, “तर कानूनी राज्यमा कानूनको धज्जी उडाउँदै अराजकता फैलाउनु गलत नै हो। यसलाई कानूनी कारबाहीबाट नियन्त्रण गरिनुपर्छ।”
नेपाल इकोनोमिक फोरमका अनुसार विदेश गएका नेपालीको संख्या २१ लाख ७५ हजारभन्दा बढी छ। विदेशमा विकास, प्रविधि र सुविधाको उपभोग गरेकाहरू देशमा त्यस्तै अपेक्षा गर्छन् र यहाँ त्यस विपरीत सर्वत्र भद्रगोल देख्दा निराश र आक्रोशित बन्छन्। यही निराशा र आक्रोशको आड पाएर अराजक पात्रले हौसिने मौका पाउँछन्। तर सरकारसँग नागरिकका असन्तुष्टि र गुनासोलाई सम्बोधन गर्ने तथा अराजकता र उच्छृंखलता आउनै नदिने भन्ने योजना नै नरहेको जानकारहरू बताउँछन्।
विश्लेषक अधिकारी पनि राज्यका नियामक तथा सेवा प्रवाह गर्ने निकायले राम्ररी काम नगरेकै कारण अराजक प्रवृत्तिले प्रश्रय पाएको विचार राख्छिन्। “सबैतिर अहिले मान्छेहरूले थर्काउने, डर देखाउने, तर्साउने ठाउँ पाएका छन्, नियामक निकायहरूले वेलैमा नागरिकको गुनासो सम्बोधन नगरेका कारण पनि यो स्थिति आएको हो,” उनी भन्छिन्।
उनका अनुसार कसैले बोलिदिए आफ्नो निराशा पोखिन्थ्यो भन्नेहरूको समर्थन पाएर विधि र प्रक्रियाको परवाह नगरी चर्को कुरा गर्ने प्रवृत्ति हावी भएको र यसको छाया राजनीतिसम्ममा परेको छ। उदाहरण दिंदै उनी भन्छिन्, “अहिले सांसद रहेका ज्ञानेन्द्र शाही हिजो यसैगरी चिच्याएर उफ्रिने अभियन्ता थिए। पछि उनी राजनीतिमा आए। यस्तो प्रवृत्तिले समर्थन पाउने अवस्थाले भोलि छलफल, बहस र कानूनी बाटो नै टालिदिन्छ।”
पूर्व डीआईजी मल्ल भने आशिका जस्तो प्रवृत्ति कतिपय अवस्थामा चर्चा र प्रशंसामोहको भोकले व्यक्तिकै नियतले जन्मिने बताउँछन्। सिर्जनशील भएर काम गर्न परिश्रम पर्ने, मान्छेले पनि ढिलो चिन्ने, तर अराजक हुँदा आजको भोलि सबैतिर छाइने लोभले पनि यस्ता पात्र जन्मिने उनको भनाइ छ। “निःस्वार्थ भावले काम गर्नेहरूलाई नामको चर्चा चाहिंदैन। विना होहल्ला परिवर्तनका लागि काम गरिरहेका हुन्छन्। यस विपरीत चर्चाको पछाडि दौडिनेहरू काम गरेको प्रचार गर्छन्, तिनले असामाजिक गतिविधि मात्र बढाएका छन्,” उनी भन्छन्।
सामाजिक सञ्जालको मलजल
नेपाली समाजमा बेथिति, अव्यवस्था, असुविधा, बजारमा मनपरी नभएका हैनन्। जताततै समस्याका चाङ नै छन्। ती समस्याबारे सञ्चारमाध्यम तथा सरोकारवालाले निरन्तर आवाज उठाउँदै पनि आएका छन्। तर आशिकाहरूले यी विषय उठाएको बढी चर्चामा आयो। किनभने उनीहरूले विषयलाई सनसनीपूर्ण रूपमा सामाजिक सञ्जालमा प्रचार गरे।
खुला शौच, सार्वजनिक शौचालयको अभाव, महँगी, राजमार्गका होटलमा गुणस्तरहीन खाना र चर्को शुल्क जस्ता समस्याबारे सञ्चारमाध्यममा प्रशस्त समाचार आएका छन्। बजारमा अभाव सिर्जना गरी कालोबजारी गरेको पाइए तथा होटल/रेस्टुरेन्टमा मेनुमा लेखिएभन्दा बढी शुल्क असुले कुनै शुल्क नलाग्ने फोन नम्बर ११३७ मा उजुरी गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वेलावेला सूचना जारी गर्दै आएको छ। तर सञ्चारमाध्यमले उठाइसकेको विषय भए पनि आशिका मार्फत सामाजिक सञ्जालमा आएका भिडिओले चर्चा पाए। उनको अराजक शैलीको वाहवाही गर्ने जमात ठूलै देखियो। यस्तो किन भयो होला?
यसको जवाफ सन् २००७ मा लन्डनको कम्युनिकेशन मोनोग्राफ्स जर्नलमा प्रकाशित अनुसन्धान लेख ‘अन द नेचर अफ रियाक्टेन्स एन्ड इट्स रोल इन पर्सुएसिभ हेल्थ कम्युनिकेशन’ ले दिएको छ। जसले भन्छ- कुनै पनि कुरा सनसनीपूर्ण भएपछि त्यसले सामान्य रूपमा भनिएकोले भन्दा धेरैको ध्यान खिच्छ। अझ, जब त्यहाँ आक्रोश, आवेग, डर जस्ता भावनात्मक अपील समावेश हुन्छन्, त्यस्ता सामग्री तथ्यपूर्ण भए/नभएको वास्तै नगरी मानिसहरूको संलग्नता बढी हुन्छ।
यस अध्ययनले भने जस्तै सभ्य र शालीन ढंगले प्रश्न उठाइएका सामग्रीले भन्दा आशिका प्रवृत्तिले चिच्याउँदै उठाएको प्रश्नले सबैको ध्यान खिचेको देखिन्छ। त्यस्तै, अमेरिकी संस्था न्याशनल एकेडेमी अफ साइन्सेज्को जर्नल प्रोसीडिङ्स अफ द न्याशनल एकेडेमी अफ साइन्सेज् (पीएनएएस) मा सन् २०२१ मा प्रकाशित एक अध्ययनको निष्कर्षले त समाजमा नरुचाइएको व्यक्ति र विचारको विरुद्ध सामाजिक सञ्जालमा बोल्दा उक्त सामग्री शेयर हुने प्रवृत्ति सामान्यभन्दा ६७ प्रतिशत बढी हुने देखाएको छ।
त्यसैले पनि हुन सक्छ, आशिका तामाङ, दुर्गा प्रसाईं लगायतले नेता, देशको अवस्थाबारे चर्को शैलीमा दिएका अभिव्यक्ति सञ्जाल प्रयोगकर्ताले अधिक शेयर गरेर छ्यापछ्याप्ती बनाएका छन्। यही वर्गका सञ्जाल प्रयोगकर्ता जानीबुझी वा अन्जानमा मिथ्या, भ्रामक र नकारात्मक सामग्रीका दुष्प्रचारक बनिरहेका छन्। जसका कारण वेलावेला धार्मिक र सामाजिक सद्भावमा खलल पर्ने गरेको छ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख कुन्दन अर्याल २०औं शताब्दीदेखि सिकाइएको ‘ब्याड न्यूज इज गुड न्यूज’ को सिद्धान्त अहिले सामाजिक सञ्जालमा हावी देख्छन्। राम्रा कुरामा चासो नदिएर नेपाली समाज नकारात्मक कुरातिर बढी झुम्मिएको र त्यसकै परिणाम चिच्याउने, थर्काउने शैलीले प्रोत्साहन पाएको उनको भनाइ छ। “तर यसरी चिच्याएर, कराएर बनाइएका सामग्रीको आयु निकै कम हुन्छ। यसले समस्याको समाधानभन्दा पनि व्यक्तिहरूलाई थप आक्रोशित र उत्तेजित बनाउँछ,” अर्याल भन्छन्।
अर्यालको विश्लेषणलाई आधार मान्दा आक्रोश र उत्तेजना पैदा गर्ने यस्ता सामग्री कति नेपालीहरूसम्म पुगेको होला त? राष्ट्रिय जनगणना, २०७८ का अनुसार मोबाइल फोनमा ७३.२ प्रतिशत नेपाली अर्थात् ४० लाखभन्दा बढीको पहुँच छ। तर मोबाइल र इन्टरनेटमा पहुँच भए पनि मिडिया साक्षरता अर्थात् मिडियामा आएका सामग्री कुन सही, कुन गलत वा भ्रामक भन्ने छुट्याउन सक्ने क्षमता निकै कम छ।
नेपालमा मिडिया साक्षरताको अवस्था सन्तोषजनक नरहेकोबारे विज्ञहरूले चिन्ता गर्दै आएका छन्। जनगणना २०७८ अनुसार, नेपालको साक्षरता दर ७६.३ प्रतिशत छ। यो साक्षरता दर भूगोल, जात, धर्म र जातीय समूहहरूमा फरक फरक छ। यद्यपि मिडिया साक्षरताको विषय साक्षरता दरसँग आधारित नभई मिडियाका सन्देश र समाचार सामग्रीलाई परख गर्न सक्ने क्षमता र दृष्टिकोणको कुरा हो। यसका लागि आमपाठक वा सञ्जाल प्रयोगकर्तालाई शिक्षित बनाउनुपर्ने हुन्छ।
गत जेठ ५ मा अंग्रेजी दैनिक द काठमान्डु पोस्टमा प्रकाशित एक लेखका अनुसार २०७९ सालको संसदीय निर्वाचनको अभियानका क्रममा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नेताहरूका तस्वीर र भिडिओ क्लिपहरू सन्दर्भ बाहिर प्रयोग गरी मतदातालाई भ्रमित पार्ने प्रयास गरे। तिनै सामग्री शेयर पनि बढी भए।
सन् २०२१ मा मिडिया एक्शन नेपालले गरेको अध्ययन अनुसार ४९ हजार ५१ समाचार तथा लेखहरूको सर्वेक्षण गर्दा एक हजार ८१७ समाचार झूटा वा भ्रामक सूचना समावेश गरिएको पाइएको थियो। यो तथ्यांकले मिथ्या सूचना र समाचारको बाढी कुन तहमा छ भन्ने देखाउँछ, जसलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले बेपरवाह भएर शेयर गरिदिंदा समाजमा भ्रम फैलिइरहेको छ। संवेदनशील विषयमा भ्रामक सूचना र सामग्री फैलिंदा समाज र व्यक्तिले चुकाउनुपर्ने मूल्य महँगो पर्न जान्छ।
डिजिटल जमानामा मानिसहरू पोखिने ठाउँ सामाजिक सञ्जाल भएको छ। आफ्नो सुखदुःख अभिव्यक्त गर्ने, देश-दुनियाँ बुझ्ने माध्यमका रूपमा सञ्जाल चलाउँदै आएका छन्। संसार हेर्ने हाम्रो दृष्टिकोणलाई नै प्रभाव पार्ने गरी सामाजिक सञ्जाल वा डिजिटल माध्यमलाई आज मानिसहरूले स्थान दिइरहेका छन्। हामीले सूचना र सञ्चारका लागि हरबखत प्रयोग गर्ने माध्यम नै शक्तिशाली सन्देश बनिरहँदा यसले लोकरिझ्याइँ गर्नेहरूलाई पनि स्थान दिइरहेको छ।
यसको प्रयोगलाई मानिसहरूले व्यक्तिगत स्वतन्त्रताको हक भनिरहँदा त्यसको सीमा कसैलाई थाहा नभएको पूर्व डीआईजी मल्ल बताउँछन्। “कस्ता शब्द बोल्ने, लेख्ने र कस्तो बोल्न नहुने भन्ने कुराको लगाम नै छैन,” उनी भन्छन्, “स्वतन्त्रता हुँदैमा जे पायो त्यही गर्न मिल्दैन भनेर यहाँ कसले सिकाउने? गलत प्रवृत्तिलाई कडाइका साथ नियन्त्रण नगरिंदा यस्तै उद्दण्डता नयाँ पुस्तामा सर्दै छ।”
तर मल्लले भने झैं सामाजिक सञ्जाल र माध्यमलाई व्यवस्थित बनाउने नाममा नियमन गरिंदा प्रयोगकर्ताको अभिव्यक्तिमा अंकुश लाग्ने र वाक् तथा अभिव्यक्ति स्वतन्त्रता निमोठिने जोखिम हुन्छ। नियमनका नाममा नियन्त्रण लोकतन्त्रमा स्वीकार्य नहुने, मिडियालाई व्यवस्थित गर्न मिडिया साक्षरता बढाउन केन्द्रित हुनुपर्ने डिजिटल साक्षरतामा केन्द्रित संस्था मिडिया कुराकानीका सम्पादक रविराज बराल बताउँछन्। मिडिया साक्षरता बढाउन औपचारिक तहमा विद्यालय तहका विद्यार्थी र अनौपचारिक तहमा गाउँघरमा वृद्धवृद्धालाई पनि लक्षित गरी कार्यक्रम ल्याउनुपर्ने उनको सुझाव छ।
“धेरैलाई सामाजिक सञ्जालमा जथाभावी लेखेको, बोलेको सामग्री हाल्दा कानूनी कारबाही हुन्छ भन्ने पनि थाहा छैन। त्यसैले विद्यालयमा शिक्षक र गाउँघरका महिला, आमा समूह, अभिभावक संघमा पनि सामाजिक सञ्जालको नैतिक प्रयोगबारे सिकाउनुपर्छ,” बराल भन्छन्, “जहाँ दूषित कुरा र भ्रामक सामग्री हालेर फोहोर गरिंदै छ, त्यही सामाजिक सञ्जालमै साक्षरताका सामग्री हाल्नुपर्छ।”
समाधान के?
कुनै विषय, क्षेत्र र कार्यालयको सेवामा समस्या भए वा कुनै कुरामा चित्त नबुझे चर्को स्वर कराउँदै क्यामेरा तेर्स्याउने र सामाजिक सञ्जालमा भिडिओ हाल्ने प्रवृत्ति पछिल्लो समय बढेको छ। त्यसले समस्या समाधान हुनेभन्दा पनि बल्झिने र मूल विषय नै ओझेल पर्ने डीआईजी मल्लको बुझाइ छ। यसको साटो चित्त नबुझेका कुरामा सम्बन्धित निकायमा गुनासो गर्ने तथा प्रहरी-प्रशासन र अदालत जस्ता निकायमा पुग्नुपर्ने उनी सुझाव दिन्छन्।
अर्कातिर, सरकारले पनि राज्यका सेवासुविधा चुस्त बनाउन, सार्वजनिक क्षेत्रका बेथिति नियन्त्रणका लागि नियमनमा प्राथमिकता दिनुपर्ने मल्लको सुझाव छ।
विश्लेषक अधिकारी पनि समाजका अनेक समस्याले नागरिकलाई निराशा बढाइरहँदा सरकार र यसका नियामक निकायले देखेको नदेख्यै नगर्ने छूट नरहेको बताउँछिन्। सरकारका निकायले काम हुन्छ, समस्या सम्बोधन गरिन्छ र त्यो पनि छिटै गरिन्छ भनेर गरेरै देखाउनुपर्ने समय आएको उनको भनाइ छ। “समाजका मुद्दा जति ढिलो समाधान हुन्छन्, त्यति मनपरी काम गर्ने पात्र र प्रवृत्ति जन्मिरहन्छन्,” उनी भन्छिन्।
अधिकारीका अनुसार विधि र प्रक्रियाको बाटोबाट जाँदा न्याय पाइँदैन भन्ने अनुभव नागरिकले गरेका छन्। प्रहरीमा उजुरी वा समस्या लिएर जाँदा हत्तपत्त निवेदन नलिने, कालोबजारीबारे उजुरी दिए पनि उतिखेरै कारबाही नहुने जस्ता भोगाइ भएकाले सरकारी निकायले विश्वसनीयता बढाउनुपर्नेमा उनी जोड दिन्छिन्। यससँगै सामाजिक मुद्दा उठाउने नाममा कानून विपरीत काम गर्नेलाई सजायको भागीदार बनाउनुपर्ने उनको भनाइ छ। “सबैलाई आफ्नो हात फैलाउन स्वतन्त्रता छ, तर आफ्नो हात फैलाउँदा अरूलाई चोट नलागोस् भन्ने ख्याल त गर्नैपर्छ,” उनी भन्छिन्।
अध्येता गौतम भने यस्तो प्रवृत्तिको समाधान फरक दृष्टिकोणले खोज्छन्। चित्त नबुझेका विषयमा चिच्याएर, उफ्रिएर, कठालो समाएर समाधान खोज्ने पात्रलाई समुदाय स्तरमा लोकतान्त्रिक अभ्यास गरेर काम गर्न सिकाउनुपर्ने उनी बताउँछन्। उनका अनुसार एक दशकअघि नेपाली समाजमा मिडियादेखि राजनीतिक दलसम्मले रचनात्मक काम गर्थे, जसमा सामुदायिक संस्थाहरू पनि सहभागी हुन्थे।
तर पछिल्लो समय यस्ता कामभन्दा पार्टीगत गुन्डागर्दी बढी भएकाले अब नेपाली समाजले शिक्षा र सभ्यतामा लगानी गर्नुपर्ने उनको मत छ। “समाजमा सामुदायिक र संस्थागत रूपमा काम हुन छाडेपछि राज्यले आफ्नो काम समयमै नगरेपछि र शिक्षा र नयाँ पुस्तामा लगानी नगरेपछि अराजक प्रवृत्ति जन्मिने हुन्,” उनी भन्छन्, “पहिला त सरकारले नै बिक्नेभन्दा टिक्ने काम गरोस्, ताकि यस्ता अराजक प्रवृत्ति जन्मने मौका नमिलोस्। जन्मिहाले पनि उसलाई सही र गलतको पाठ सिकाउनुपर्छ।”
यो पनि पढ्नुहोस् :