महाभारतको डढेलो निभाउन सुरक्षाकर्मी परिचालन
काभ्रेपलान्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वत शृंखलाको सामुदायिक वनमा लागेको डढेलो निभाउन सुरक्षाकर्मी परिचालन गरिएको छ।
तीन दिनदेखि वनमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग छलफल गरी सबै निकायका जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो।
बेथानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका-१, थाम लेकडाँडामा डढेलो फैलिएको छ। डढेलोका कारण जोखिम बढेकाले पर्यटकीय क्षेत्र नारायणस्थान जान रोक लगाइएको छ।
आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिर लगायत वडा नं. १, २, ३ र ५ का केही क्षेत्र समेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले सार्वजनिक सूचना मार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो।
आगलागी नियन्त्रण नभएसम्म वन क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए। स्थानीय सरकार, प्रहरी, नेपाली सेना लगायत सबै डढेलो नियन्त्रण गर्न खटिएका छन्।
खानीखोला गाउँपालिका-१, थाम लेकडाँडास्थित सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। डढेलो नियन्त्रणका लागि नेपाली सेना तथा प्रहरी सहितको टोली खटिएको उनले जानकारी दिए।
सुरक्षाकर्मीलाई डढेलो क्षेत्र तथा मानव बस्तीको अनुगमन गरी बस्तीतर्फ आगो आउन नदिने गरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ। डिभिजन वन कार्यालय, धुलिखेलका अनुसार पुस ८ गते दिउँसो २ बजेदेखि वनको भिर क्षेत्रबाट डढेलो शुरू भएको हो।
डढेलो नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानव बस्तीको यकीन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए। उनका अनुसार वनमा डढेलो फैलिइरहेकाले नियन्त्रणका लागि जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने निर्णय गरेको छ।
यससँगै वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासंघसँग समन्वयमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानूनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।