सम्झनाको विस्फोटक ब्याटिङमा आर्मी विजयी
सम्झना खड्काले विस्फोटक ब्याटिङ गरेपछि त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो खेलमा आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४ रनले पराजित गरेको हो। आर्मीले दिएको १११ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले ६ विकेटको क्षतिमा ९६ रन मात्रै बनाउन सक्यो।
सुदूरपश्चिमका लागि मनीषा बोहराले १८, कविता कुँवरले १६ र बिन्दु रावलले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। आर्मीका लागि सुस्मिता भुसालले तीन, सीता शाही र लक्ष्मी साउदले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको आर्मीले ६ विकेटको क्षतिमा ११० रन बनाएको थियो। आर्मीका लागि सम्झना खड्काले ७४ रन बनाइन्। उनले ५७ बलमा आठ चौका प्रहार गरिन्।
आर्मीका अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्। सुदूरपश्चिमका लागि जानकी थापाले दुई, आशिका महरा र रेवती धामीले एक-एक विकेट लिए।
यसअघि भएको सुपर-४ को पहिलो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई १० विकेटले पराजित गरेको थियो। बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा पूरा गरेको थियो। एपीएफका लागि ममता चौधरीले २३ र राजमती ऐरीले १४ रन बनाए।
यसअघि ब्याटिङ गरेको बागमतीले आठ विकेटको क्षतिमा ४२ रन बनाएको थियो। बागमतीका कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। एपीएफका सुमन विष्टले तीन, रेखा रावल र बिनु बुढाले दुई-दुई विकेट लिएका थिए।
यो जितसँगै एपीएफ र आर्मीले दुई-दुई अंक जोडेका छन्। सुपर-४ मा शुक्रबार पहिलो खेलमा आर्मी र एपीएफ तथा दोस्रो खेलमा बागमती र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्।
माघ १ देखि शुरू भएको प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको उपाधि जित्ने टोलीले पाँच लाख रुपैयाँ पुस्कार पाउनेछ। त्यस्तै, उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ।