थुनछेक बहस सकिएन, लामिछानेलाई परिवारकै जिम्मा
सहकारी ठगी मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारकै जिम्मा लगाइएको छ।
जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको एकल इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएको स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। “आज थुनछेक बहस सकिएन। भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी रवि लामिछानेलाई परिवार र वकीलको जिम्मा लगाउने आदेश भएको छ,” ज्ञवालीले भने।
इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएपछि हिरासतमा बस्नु परेन। कास्की र काठमाडौंमा भने थुनछेक बहस नसकिंदासम्म उनी प्रहरी हिरासतमा बस्नुपरेको थियो।
जिल्ला अदालतको इजलास नं. ५ मा बिहीबार सरकारी पक्षबाट बहस भएको थियो। जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल लगायतले बहस गरेका थिए।
त्यसपछि सहकारीपीडितका तर्फबाट कानून व्यवसायीले बहस गरेका थिए। जाहेरीवालाका तर्फबाट अझै दुई वकीलले बहस गर्न बाँकी रहेको स्रेस्तेदार ज्ञवालीले बताए।
आजको बहसमा वादी र जाहेरीवालाका तर्फबाट बहस गरेका कानून व्यवसायीले यो मुद्दा न्यायाधीश योगीले हेर्न नमिल्ने जिकिर गरेका थिए। बुधबार बयानपछि परिवारको जिम्मा लगाउने आदेश भइसकेकाले थुनछेक बहसमा न्यायाधीशको पक्षधरता देखिने उनीहरूको तर्क थियो। तर न्यायाधीश योगीले थुनछेक बहसबाट अलग हुन इन्कार गरेका थिए।
त्यसपछि भएको बहसमा सरकारी पक्षका कानून व्यवसायीले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्नुपर्ने माग गरेका थिए।
अब शुक्रबार बिहान जाहेरीवालाका तर्फबाट कानून व्यवसायीले बहस गर्नेछन्। त्यसपछि लामिछानेका तर्फबाट कानून व्यवसायीको बहस हुनेछ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा लामिछाने सहित २२ जना विरुद्ध पुस ६ गते जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो। त्यसका लागि लामिछाने पुस ९ गते बिहान जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश योगीको एकल इजलासमा लामिछानेको बयान लिइएको थियो। त्यसपछि लामिछानेलाई परिवार र वकीलको जिम्मा लगाउने आदेश गरेको थियो।
लामिछाने सहित २२ जना विरुद्ध एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ। यसमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईलाई पनि विपक्षी बनाइएको छ।
जिल्ला अदालतमा दर्ता गरिएको अभियोगपत्रमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको उल्लेख छ। त्यसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण लगिएको अभियोगपत्रमा दाबी गरिएको छ।
लामिछाने विरुद्ध पोखरा र काठमाडौंमा पनि मुद्दा दर्ता छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा उनी ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा ५० लाख धरौटी बुझाएका थिए।
जिल्ला अदालत, कास्कीको निर्णय विरुद्ध उच्च अदालत, पोखरामा निवेदन परेको छ। जिल्ला सरकारी वकीलको कार्यालयले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै निवेदन दिएको हो। त्यसमा उच्च अदालतले जिल्ला अदालतको निर्णय सहितको प्रतिवेदन मगाएको छ।