बगरमा महिलाले हुर्काएको वन
कैलालीको सीमाक्षेत्रको बगरमा महिलाले हुर्काएको सामुदायिक वनले एकातिर सीमा अतिक्रमण रोकेको छढ भने अर्कातिर स्थानीय बासिन्दालाई वनपैदावरका लागि सहज भएको छ।
भारतसँग सीमा जोडिएका कैलाली र कञ्चनपुरको दक्षिण भूभागका धेरैजसो स्थानमा सीमा अतिक्रमणको विषयले विवाद भइरहन्छ। कतै सरकारी तवरबाट त कतै स्थानीय स्तरमा सीमाक्षेत्रमा जमीनको विवाद आइरहन्छ।
दुई दशकअघि कैलालीको कैलारी गाउँपालिका-३, भर्री गाउँको दक्षिण भूभागमा पनि यस्तै समस्या आइराख्थ्यो। सीमा अतिक्रमणको विषय स्थानीय बासिन्दाका लागि टाउको दुखाइ हुने गरेको थियो। “सिमानामा जंगल बनाएका छौं, अहिले त आनन्द भएको छ,” स्थानीय भगवती चौधरी भन्छिन्।
भर्री गाउँको एकातिर भारतसँग सीमा जोडिएको छ भने अर्कातिर मोहना नदीले कटान गरिरहन्छ। नदी कटानले खेतबारी नै बगर बन्ने गरेको छ। बगरमा खेतीपाती सम्भव नभएपछि स्थानीय महिला बोटबिरुवा रोप्न थाले। “पूरै बगर थियो। मोहना नदी पार गरेर सिसमका बिरुवा रोप्यौं,” भगवती सुनाउँछिन्।
अहिले भने मोहना नदीको बगरमा वन बनेको छ। त्यसैलाई उनीहरूले सामुदायिक वन बनाएका छन्। नाम दिएका छन्, भाग्यशाली सामुदायिक वन। “बगरका बिरुवा जोगाउन निकै कठिन थियो। बच्चा हुर्काए जस्तै बोट हुर्कायौं,” उनी खुशी हुँदै भन्छिन्, “अहिले वन भएको छ। घाँसदाउराका लागि सजिलो छ।”
शुरूआतमा उनीहरूले नर्सरी जस्तै हुर्काए। बिरुवा बढ्दै गएपछि सामुदायिक वनमा दर्ता गरे। २०५२ सालमा दर्ता भएको भाग्यशाली सामुदायिक वन अहिले स्थानीय बासिन्दाका लागि वनपैदावारको स्रोत बनेको छ।
यो वन २० हेक्टर क्षेत्रफलमा फैलिएको छ। सामुदायिक वनमा ५३ परिवार उपभोक्ता छन्। यो वनलाई महिलाले नै हुर्काएका हुन्। उपभोक्ता समितिको नेतृत्वमा पनि महिला नै रहँदै आएका छन्।
गाउँका सबै महिला मिलेर वन हुर्काएको भगवती सुनाउँछिन्। पुरुषहरूले खासै साथ नदिएको उनको भनाइ छ। “गाउँभरिका महिला पालैपालो वन कुर्न जान्थ्यौं। बिरुवा रोप्ने, तारबार गर्ने, नदी छेउछाउमा जैविक तटबन्ध बनाउने काम गर्थ्यौं,” उनी भन्छिन्।
शुरूआती चरणमा गाउँका महिलाले बिहानको खाना र दिउँसोको खाजा बोकेरै दिनभरि वनमा पहरा दिए। साउन-भदौमा त मोहना नदी भरिभराउ हुन्थ्यो। तैपनि पौडी खेलेर जंगल जोगाउन जाने गरेको सामुदायिक वनकी अध्यक्ष विपिन चौधरी सम्झिन्छिन्। “कति पटक त नदी पार गर्दा डुबेका छौं, बाढीले बगाएको छ,” उनी सुनाउँछिन्।
चोरी निकासी चुनौती
भर्री गाउँका महिलाले आफ्नो कामकाज छोडेर पनि वन जोगाए। अहिले वनबाट लाभ लिने समय भएको छ। तर चोरी निकासीले समस्या भइरहेको छ। चोरी निकासीमा संलग्न व्यक्तिलाई समात्न नसकिएको अध्यक्ष विपिन बताउँछिन्।
भारतसँग जोडिएको वन भएकाले चोरी निकासी रोक्न कठिन भएको उनीहरू बताउँछन्। दुवैतिर जंगल भएकाले पनि चोरी निकासी गर्नेहरूलाई सजिलो हुने गरेको छ। “हाम्रो वनमा सिसमका रूख मात्रै छन्। जुन एकदमै महँगोमा बिक्री हुन्छ,” उनी भन्छिन्, “भारतीय सीमासँग जोडिएकाले रूख कसले चोरी गर्यो भन्ने पत्ता लगाउन गाह्रो हुन्छ।”
तैपनि उनीहरूले हार मानेका छैनन्। समय समयमा समूह बनाएर गस्ती पनि गर्ने गरेका छन्। मिहिनेत गरेर हुर्काएको वनबाट काठ चोरी भएको थाहा पाउँदा निकै दुःख लाग्ने गरेको विपिन सुनाउँछिन्।
यो मात्रै होइन, सीमाक्षेत्रका अन्य वनमा पनि चोरी निकासी चुनौती बनेको छ। कैलारी गाउँपालिकामा मात्रै ४६ सामुदायिक वन छन्, तीमध्ये सात वटा वन भारतीय सीमासँग जोडिएको गाउँपालिका उपाध्यक्ष भगवती चौधरी बताउँछिन्। जसमा लौटहुवा, सुनहराताल, शिव, मोहना, धनबेलिया र भाग्यशाली सामुदायिक वन हुन्।
लौटहुवा सामुदायिक वनकी अध्यक्ष मुसम्फीदेवी चौधरी पनि नेपाल र भारतको सिमानामा रहेका वनको नेतृत्व गर्दा अप्ठ्यारो हुने गरेको बताउँछिन्। सीमाक्षेत्रमा भएकाले सुरक्षाकर्मी नहुने र दुवैतिरका चोरी निकासी गर्नेहरूले वनपैदावार लग्ने गरेको उनको भनाइ छ।
यो वन ८५.५५ हेक्टर क्षेत्रमा फैलिएको छ। कुकाठ अर्थात् दाउराका लागि हुने काठ मात्रै लगाएको भए पनि विवाद हुने गरेको उनी बताउँछिन्। सामुदायिक वनबाट दाउरा ल्याउँदा पनि भारतीय नागरिक र सुरक्षाकर्मीले दुःख दिने गरेको उनी सुनाउँछिन्।
सीमाक्षेत्रमा वन हुर्किएपछि विवाद पनि कम भएको स्थानीय बासिन्दाको अनुभव छ। कैलारी गाउँपालिकाकी उपाध्यक्ष भगवती चौधरी महिलाले नै हुर्काएको वनले गर्दा धेरै ठाउँमा सीमा अतिक्रमण जोगिएको बताउँछिन्। वन भएको क्षेत्रमा विवाद नभएको उनी सुनाउँछिन्।