असोजको बाढीपहिरोबाट बागमतीमा १० अर्बको क्षति
गत असोजमा तीनदिने झरीपछि आएको बाढीपहिरोबाट बागमती प्रदेशमा १० अर्ब २३ करोड रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको देखिएको छ।
गत असोजमा आएको बाढीपहिरोले घर बगाएपछि बिचल्लीमा परेका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ का दीपक दोङ अझै के गर्ने भन्ने टुंगोमा पुगेका छैनन्। सरकारले सहयोग नगरेका कारण उनले नयाँ घर बनाउन सकेका छैनन्। “चार महीना बितिसक्यो, उस्तै छ। दैनिकी सहज छैन,” उनी भन्छन्।
मकवानपुरमा उनी जस्तै १६३ जना अझै बेघर छन्। उनीहरूको नयाँ घर कहिले बन्ने हो भन्ने टुंगो छैन। पुनर्निर्माणका लागि तीनै तहका सरकारलाई गुहारे पनि कुनै उपलब्धि नभएको उनीहरूको गुनासो छ।
गत असोजमा आएको बाढीपहिरोबाट प्रभावित बागमती प्रदेशभरि नै पुनर्निर्माण कार्य हुन सकेको छैन। विपद्मा बागमती प्रदेशमा २१६ जनाको ज्यान गएको थियो। काभ्रेपलान्चोकमा ७९, धादिङमा ३९, ललितपुरमा ४६, काठमाडौंमा २०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा १०, दोलखामा सात, भक्तपुरमा पाँच, सिन्धुलीमा दुई र रामेछापमा एक जनाको मृत्यु भएको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बाढीपहिरोको क्षतिबारे अध्ययन गरेको थियो। अध्ययन प्रतिवेदन अनुसार १४ जना बेपत्ता भएका थिए भने १६८ जना घाइते भएका थिए। प्रदेशभर १५ हजार ७७९ जनाको उद्धार गरिएको थियो।
विपद् व्यवस्थापनमा बागमती प्रदेश सरकारले १३ करोड १२ लाख खर्च गरेको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रदेशका १३ वटै जिल्ला विपद् कोष र स्थानीय तहको विपद् कोष मार्फत मनसुनजन्य विपद् पूर्व तयारी, खोज, उद्धार तथा राहत र पुनःस्थापनाका लागि उक्त रकम खर्च भएको जनाएको छ।
४२ वटा पुलमा क्षति
असोजको प्रकोपबाट प्रदेशभर ४२ वटा पुल पूर्ण रूपमा नष्ट भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै, ४८ वटा पुलमा आंशिक क्षति पुगेको छ।
त्यसैगरी, दुई हजार ५३५ घर, ९३० गोठ, ६६ वटा विद्यालय भवन, ३७० टहरा पूर्ण रूपमा क्षतिग्रस्त छन्। त्यस्तै, पाँच हजार ७९७ घर र १८९ विद्यालयमा आंशिक क्षति भएको छ। विपद्बाट चार हजार ६६५ पशु चौपायाको क्षति भएको उल्लेख छ।
विपद्ले प्रदेशका ११ वटा जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्याएको छ भने सात वटामा आंशिक क्षति भएको छ। प्रतिवेदन अनुसार विपद्मा परेर ३५६ वटा सवारीसाधनमा क्षति पुगेको छ।
विपद्का कारण तीन प्रहरी चौकीमा पूर्ण रूपमा क्षति पुगेको छ भने १७ वटा प्रहरी कार्यालयमा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ। तीन वटा सरकारी कार्यालयमा पूर्ण क्षति भएको र २१ वटामा आंशिक क्षति भएको जनाइएको छ।
कुन जिल्लाका कति क्षति?
बागमती प्रदेशमा १० अर्ब २३ करोड ५६ लाख ५४ हजार रुपैयाँको भौतिक क्षति भएको छ। विपद्बाट भक्तपुरमा एक करोड एक लाख २० हजार रुपैयाँको भौतिक क्षति भएको छ भने ललितपुरमा एक अर्ब ४३ करोड ६९ लाख १२ हजार रुपैयाँको क्षति भएको छ।
त्यस्तै, काठमाडौंमा चार अर्ब १४ करोड ६६ लाख पाँच हजार, सिन्धुलीमा एक अर्ब ५९ करोड ३८ लाख ८८ हजार, रामेछापमा दुई करोड एक लाख ३८ हजार, दोलखामा ११ करोड ५० लाख, सिन्धुपाल्चोकमा एक अर्ब ९४ करोड र काभ्रेमा ७३ करोड २४ लाख ३२ हजार रुपैयाँ बराबरको भौतिक क्षति भएको छ।
यसैगरी, रसुवामा ३९ लाख ८५ हजार, नुवाकोटमा ९९ लाख ५५ हजार, चितवनमा दुई करोड ५६ लाख ३५ हजार र मकवानपुरमा २० करोड २९ लाख ६३ हजार रुपैयाँको भौतिक क्षति भएको मन्त्रालयले जनाएको छ। धादिङमा भएको क्षतिको विवरण भने प्राप्त हुन सकेको छैन।
मनसुन पूर्व तयारीमा तीन करोड खर्च
बागमती प्रदेशमा मनसुन पूर्व तयारीका लागि २६ स्थानीय तहलाई तीन करोड ४५ लाख रुपैयाँ प्रदेश सरकारको विपद् राहत कोष मार्फत उपलब्ध गराइएको छ। क्षतिको अवस्था अनुसार स्थानीय तहलाई १० देखि १५ लाख रुपैयाँसम्म पूर्व तयारीका लागि उपलब्ध गराएको जनाइएको छ। मनसुन पूर्व तयारीका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको विपद् कोषबाट सोझै स्थानीय तहमा पठाइएको हो।
प्रदेश सरकारले खोज तथा उद्धार कार्यका लागि जिल्ला विपद् व्यवस्थापन कोष मार्फत १३ जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई पहिलो चरणमा एक करोड ८० लाख रकम प्रदान गरेको छ। दोस्रो चरणमा प्रदेश सरकारले खोज तथा उद्धार कार्यका लागि जिल्ला विपद् कोष मार्फत थप ६५ लाख रुपैयाँ उपलब्ध गराएको छ। विपद् प्रतिकार्य तथा खोज र उद्धारका लागि प्रदेश सरकारले १३ जिल्लालाई विपद् व्यवस्थापन कोषमा पाँच लाखका दरले थप ६५ लाख रुपैयाँ प्रदान गरेको हो।
विपद्बाट भएको क्षतिको तथ्यांक संकलन, खोज, उद्धार तथा राहत वितरण लगायत विषयमा सम्बोधन गर्न प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति र प्रदेश विपद् व्यवस्थापन परिषद्को निर्णय अनुसार उक्त रकम जिल्ला विपद् कोषमा उपलब्ध गराएको हो।
दोस्रो चरणमा प्रदेश सरकारले खोज तथा उद्धार कार्यका लागि जिल्ला विपद् कोष मार्फत थप ६५ लाख रुपैयाँ उपलब्ध गराएको छ। विपद् प्रतिकार्य तथा खोज र उद्धारका लागि प्रदेश सरकारले १३ जिल्लालाई विपद् व्यवस्थापन कोषमा पाँच लाखका दरले थप ६५ लाख रुपैयाँ प्रदान गरिएको जनाएको छ।
यस्तै, क्षतिका आधारमा प्रदेश सरकारले ४५ वटा स्थानीय तहलाई पाँच करोड ८० लाख सहयोग प्रदान गरेको छ। काभ्रेपलान्चोक, सिन्धुली, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक लगायत संकटग्रस्त स्थानीय तहलाई उक्त रकम प्रदान गरिएको हो।