हिमालकर्मी दाहाललाई धम्की, दोषीलाई कारबाही गर्न पत्रकार महासंघको माग
समाचारको विषयलाई लिएर हिमालखबरका विशेष संवाददाता एवं नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् गोपाल दाहाललाई धम्की दिनेलाई कारबाही गर्न महासंघले माग गरेको छ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले बिहीबार प्रेस विज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाएका छन्। महासंघले भनेको छ, ‘समाचारप्रति चित्त नबुझे कानूनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने विकल्पलाई बेवास्ता गर्दै पत्रकारलाई आक्रमणको ठाडो चुनौती दिनु अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराध हो।’
त्यस्तै, नेपाल पत्रकार महासंघ, हिमालमिडिया प्रतिष्ठान शाखाका अध्यक्ष रमेश कुमारले पनि बिहीबार प्रेस विज्ञप्ति जारी गरी पत्रकारलाई दाहाललाई धम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। एएमएस म्युजिक एन्ड इन्टरटेन्मेन्ट प्रालिका अध्यक्ष सत्यकला तामाङ लामाले पत्रकार दाहाललाई बुधबार धम्की दिएकी हुन्।
हिमालखबरमा पर्यटन बोर्डको खर्चमा निजी कम्पनी एएमएस म्युजिक एन्ड इन्टरटेन्मेन्ट प्रालिको एभरेस्ट टुरिज्म अवार्ड समारोह आयोजना गरिएको विषयमा रिपोर्ट प्रकाशित भएको थियो। त्यसैलाई लिएर अध्यक्ष लामाले पत्रकार दाहाललाई ‘जहाँ भेट्छु, त्यहीं कुट्छु’ भन्दै धम्की दिएकी हुन्।
समाचारको विषयलाई लिएर धाकधम्की दिने घटना प्रेस स्वतन्त्रता विरुद्ध रहेको भन्दै पत्रकार महासंघले विरोध जनाएको छ। यस घटनाको निन्दा गर्दै महासंघले यस घटनामा संलग्न व्यक्तिलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन आग्रह गरेको छ।