रवि लामिछानेलाई श्रीमतीको जिम्मा लगाउन आदेश
सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बिहीबार उपस्थित गराउने गरी श्रीमतीको जिम्मा लगाउन जिल्ला अदालत, रुपन्देहीले आदेश दिएको छ।
जिल्ला अदालतका न्यायाधीश प्रह्लादकुमार योगीको एकल इजलासले बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी लामिछानेलाई पत्नी र कानून व्यवसायीको जिम्मा लगाउन आदेश दिएको सूचना अधिकारी अनन्तराज मरासिनीले बताए। “इजलासले लामिछानेकी श्रीमती निकिता पौडेल र उनका कानून व्यवसायीको जिम्मा लगाउने आदेश गरेको छ,” मरासिनीले हिमालखबरसँग भने, “पुस १० गते बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिम्मा लगाउने आदेश गरेको हो।”
यो आदेशसँगै लामिछाने प्रहरी हिरासतमा बस्नुपर्नेछैन। कास्की र काठमाडौंमा भने थुनछेक बहस नसकिंदासम्म प्रहरी हिरासतमा बसेका थिए।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा लामिछाने सहित २२ जना विरुद्ध पुस ६ गते जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो। त्यसका लागि लामिछाने बुधबार बिहान जिल्ला अदालतमा उपस्थित भएका थिए।
न्यायाधीश योगीको एकल इजलासमा लामिछानेको बयान लिइएको थियो। बुधबार बयान लिइएको र बिहीबार थुनछेक बहस हुने सूचना अधिकारी मरासिनीले बताए।
लामिछाने सहित २२ जना विरुद्ध एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोग छ। यसमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीबी राईलाई पनि विपक्षी बनाइएको छ।
जिल्ला अदालतमा दर्ता गरिएको अभियोगपत्रमा सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा लगिएको उल्लेख छ। त्यसमध्ये दुई करोड रुपैयाँ प्रक्रिया पूरा नगरी लामिछानेको नाममा ऋण लगिएको अभियोगपत्रमा दाबी गरिएको छ।
लामिछाने विरुद्ध पोखरा र काठमाडौंमा पनि मुद्दा दर्ता छ। पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा उनी ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा ५० लाख धरौटी बुझाएका थिए।
जिल्ला अदालत, कास्कीको निर्णय विरुद्ध उच्च अदालत, पोखरामा निवेदन परेको छ। जिल्ला सरकारी वकीलको कार्यालयले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दै निवेदन दिएको हो। त्यसमा उच्च अदालतले जिल्ला अदालतको निर्णय सहितको प्रतिवेदन मगाएको छ।